

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको दाबी गरेका छन्।
आज नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आफूहरू समेत सरकारमै भए पनि पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताए।
सिंहले भने, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरूलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ। अहिले हामी पनि सरकारमा छौँ तर हामीलाई केही थाहा छैन।’
कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला ? भन्दै उनले थपे, ‘अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ। अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ।’