

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले विभिन्न तीन आरोप लगाउँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।
पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाईको आरोप छ।
उजुरीमा मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा दिरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको उल्लेख गरिएको छ।
‘कांग्रेस, जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ, त्यसका एक जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको देखिन्छ,’ उनले भनेका छन्।
नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने र एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने भन्दै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको उल्लंघन भएको उनले उल्लेख गरेका छन् ।
‘पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन हो,’ उजुरीमा उल्लेख छ।
उनले अनुशासन समितिलाई मन्त्री पाण्डेको अभिव्यक्ति ध्यानमा राख्दै छानबिन गरी कारबाही गर्न माग गरेका छन्।