

यो घरमा जब म नयाँ दुलही भएर भित्रिए त्यही दिन देखि देउरानी र मेरो बिच बोलचाल बन्द भो । त्यो घरमा दुई दाजुभाइ । मेरा श्रीमान् जेठा । भाइले पहिला बिहे गरे। बिहे गरेको दुई वर्ष सम्म हाम्रा देवर बाबुको सन्तान भएको थिएन। किन सन्तान भएनन् त्यो मेरो चासोको विषय बनेको थियो। यो चासो हाम्रा सासू ससुरालाई पनि थियो । खासै भन्ने हो भने हाम्रा देवरलाई बच्चा नभएकोमा कुनै ग्लानि देखेकी थिइन मैले ।
हामी दुवै देउरानी जेठानी एकै गाउँका । एकै स्कुलमा पढेका । बच्चामा सँगै बाख्रा गोठालो गाको। अलिक हुर्कँदै गएपछि मेलापात भारो पर्म सँगै हिँड्ने गरेको । उनी बच्चा देखि अलि नक्कली थिइन । तेह्र चौधको वय उमेरमै लिप्सिटिक लगाउँथिन। आठ नौ कक्षा पढ्दा नै लभ लेटरको ओइरो लाग्थ्यो ।मलाई देखाउँथिन । राम्री पनि थिइन बिछट्टकी । दस वर्षको उमेरमा नछुने भाकिन ।
अलिक चन्चले महिलाको छुइ पनि चाडाे हुन्छ कि क्या हो ।
हाम्रा देवर र मेरा श्रीमान् पनि त्यही महेन्द्र माविमा पढेका । मेरा देवर पढ्न अलिक कमजोर । देउरानी बिजुली थिइन । सेन्ट अप परीक्षा सकिनु अघि देवरले पनि प्रेम प्रस्ताव राखेछन् । एकान दुई कान मैदान भो । हेड सरले पनि थाहा पाए। देउरानी उत्ताउली सबैलाई थाहा छ । देउरानीले मेरा श्रीमानलाई मन पराउदिरछिन । फेरि मेरा श्रीमान् चैँ मलाई मन पराउने रछन। पुष्पाको प्रेमलाई उहाँले इन्कार गर्नुभएको रहेछ ।
एक दिन एकान्तमा भेटेर पुष्पालाई सम्झाउनु भएछ ।
” तिमीलाई मेरो भाइ केशवले मन पराउँछ उसैसँग बिहे गर”
” म त हजुरलाई पो मन पराउँछु कसरी भाइ सँग बिहे गरूँ ” परिस्थितिले भाइ सँग बिहे हुन पुग्यो । बिहेमा हाम्री देउरानीले मेरा श्रीमानलाई भनेकी थिइनरे-
” आखिर जुन घरमा तपाईँ हुनुहुन्छ म त्यही घरमा भित्रिँदै छु । मैले मन पराएको पुरुष म सँगै मेरै आँखा वरिपरि नै त हुन्छन् देखुँला म पनि … ।”
दाइको बिहे नगरी भाइको बिहे गर्नुहुन्न भन्ने सामाजिक प्रचलन समेतको बेवास्ता गरी हाम्रा देवर राजाले देउरानीलाई बाजा बजाए । पुष्पाले मेरा श्रीमानलाई मन पराउँछिन् भन्ने कुरो अरू कसैलाई पनि थाहा छैन । हाम्रा देवर राजाको एकोहोरो पिरती र पुष्पाको उत्ताउलो पनले ती सबै परिस्थिति निम्तिएको थियो ।
सत्य कुरो भन्नुपर्दा मैले चैँ मेरा देवर राजा लाई मन पराउँथे ।
मनको कुरा भन्न मात्रै पो नसकेको हो । मैले मेरा देवर राजालाई पाउने जुक्ति गर्दा मेरी देउरानीले भाँजो हालेकी थिइन। आखिर न मैले चाहेको पुरुष सँग मेरो बिहे भयो न उनले चाहेको पुरुष सँग उन्को बिहे भयो ।
आज बिहे गरेको पनि तीन महिना बित्यो ।
हामीले माया गरेका दुवै पुरुष एकै घरमा छन् । हामी दुई नारी संयोगवश एकै घरमा परेका छौ । म मेरी देउरानीको लोग्नेलाई मन पराउँछु । उनी मेरो लोग्नेलाई मन पराउँछिन् । म मेरा देवर देखेर मक्ख छु । देउरानी मेरा श्रीमान् देखेर मक्ख छिन । हामी सबै एकाघरमै छौ तर त्याहा आत्मीयताको वसन्त फुल्न सकेको छैन ।
प्रेम शरीर सँग हुन्छ कि आत्मा सँग ?
यो प्रश्न सूर्यास्त सँगै अस्ताउँथ्यो र सूर्योदय सँगै झुल्कन्थ्यो । सूर्य मलिन भएर अस्ताए पनि उदाउँदा उसको तेज निर्विकल्प सत्य भएर फूलका बोटहरूलाई तातो किरणले माया गर्छ ।
माया न्यानो स्वेच्छाचारको आमन्त्रण हो। काँडाले घोचेका फूलहरू मात्रै सुरक्षित बाच्नसक्छन बोटमा । शरीर भोग्नु एउटा कुरा प्रेममा रहनु अर्को कुरा । तर दुवैको सह मिलन उत्तम हो । हामीमा यो कुराको अभाव बाचिरह्यो । जिन्दगीमा चाहेका कतिपय कुराहरू पूर्ण हुँदैनन् । तर मान्छे कहिले अपुरो बाच्दैन।
देउरानीको व्यवहारमा परिवर्तन आयो । बचपन देखिको साथी थिई उ तर बोल्दिन । मैले उसको प्रेम खोसे । कसैको प्रेम खोसिदिनु पनि पाप थियो होला । यसो त उसले पनि मेरो प्रेम खोसेकी थिई । मैले त्यो बेला अभिव्यक्त गर्न सकेकी थिइन त्यो चैँ मेरो गल्ती थियो । त्यो कुरा मैले स्वीकार गर्नै पर्छ । उ मेरो लोग्ने लाई चाहन्थी । म उसको लोग्नेलाई चाहन्थे । चाहँदामा के हुदोरहेछर आखिर !
प्रेमको मुहान कहाँ थुनिएको छ र बहाव मात्रै त फरक हो नि!
रातभर हाम्रा देवर राजा र देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर सुन्थे मेरा श्रीमान् निदाएको बेला ।
के कुरा गर्छन् होला । बिहे गरेको यतिका वर्ष भयो हाम्रा देवर राजाले के साँच्चै आफूले माया गरेकी केटी पाउँदा आफ्नो प्रेमको सदुपयोग गरेका छन त? कस्तो अचम्मको छ यो दुनियाँ ? चाहेको पुग्दैन र पनि मान्छे त्यही चाहना पूर्तिको बाटोमा हिँडिरहन सक्छ । म त्यस्तै भए आज ।
मानिस सपनाको छाया वरिपरि घुमिरहन्छ । सपना आशा हो । मानिस आफै त्यागिन्छ तर आशा बाट वञ्चित हुन सक्तैन ।
एकै ओछ्यान एकै अँगालोमा जवर्जस्त बेरिएर सुतेपनी मनले बेरिन सकेन भने मायाले बेरिन सकेन भने त्याहा प्राप्तिको बाटो अन्त हुन्छ र मानिस आफू हिँड्ने बाटो मोड्न खोज्छ ।
म देवरलाई मन पराउने । देउरानी मेरा लोग्नेलाई मन पराउने । मेरा देवर मलाई होइन आफ्नै श्रीमतीलाई मन पराउने ।
एउटाले मात्रै एकोहोरो मन पराउनु अन्ततः पराजित हुनु हो ।
यहाँ अपराजिताहरू ज्यादै कम छन् । एक दिन मैले मेरा श्रीमान् लाई भने –
” हाम्रा केशव बाबु दुखी देखिनु हुन्छ किन होला ?”
” उसले मनपराको ले उस्लाइ मन पराइनन् समस्या यति हो”
” समस्या यो भन्दा अरू गम्भीर के हुन सक्छ र ?”
” जिन्दगी बिताउनु त हो बितिहाल्छ नि “?
” केवल बिताउने नाउँमा आफ्नो आत्मालाई किन बलि दिनु”?
” एउटा कुरा भनी भने म महिला भन्नू होला “?
” भनन महिला पुरुष भन्दा पनि समस्या पो ठुलो रह्यो ”
” हाम्री देउरानीले हजुरलाई मन पराउँछिन् “?
” कसरी !! यो त पाप हो । म जेठाजु हु उसको “!
” जेठाजु हुनुभन्दा पहिल्यै मन पराउँथिन उनले हजुरलाई ”
त्यो दिन मैले भेद खोलिदिए । मनमा लागेको भने । भन्नू थियो।उहाँले सुन्नु भो । मैले नभने पनि घरकाले थाहा पाउँथे कुनै दिन । मलाई पनि हलुको भो । एउटा भारी बिसाए । देउरानी नबोल्ने मसँग । तर एक दिन आफै बोले । बोलेर आयु घट्दैन । बुहारी जेठाजु भन्दा भुतुक्कै । ” तिमीले सानैमा मन पराएको मान्छेले मलाई त्यति वास्ता गर्दैनन् आजकल” कुरा सुनेर पुष्पा खुसी भइन । अरूको दुखमा मानिस आफू सुखको अनुभूति गर्छ किनकि त्यस्तै दुख उसले भोग गरिरहँदा म जस्तै दुखी अरू पनि रेछन भनेर उ खुसी हुन्छ रे ! मानिस दुखी यो मानेमा छन् कि अरू खुसी छन् र मानिस खुसी यो मानेमा छन् कि अरू दुखी छन् ।
स्त्रीले चाहिन भने घर सप्रन्छ । चाहिनन् भने घर बिग्रन्छ। कसैको आबाद घर स्त्रीकै कारणले उजाड बन्छ कसैको उजाड घर स्त्रीकै कारणले आबाद बन्छ । देउरानी अब म सँग बोल्ने भइन । हामी मिल्न थाल्यौ । म उनको जेठाजु सँग खुसी हुन नसकेको कुरा खुलेर कुरा गर्न थाले । सिङ्गो जिन्दगी बिताउनु त छ्दैछ तर यसरी यो ढङ्गले जीवन नौका कसरी अगाडि जाने होला र! दबिएको त्यो अमित वासना किनार हुन खोज्दै थ्यो ।
ढोका थुनेर घन्टाै सम्म म देवर राजाको कल्पना गरी बस्थे । देख्छु उहाँले खाएको लाएको हिँडेको बोलेको । अति मीठो लाग्थ्यो । घोप्टो परेको जुँघा चौडा छाती बलिस्ठ हात । मैले कल्पेकी एउटा पुरुष हुन मेरा देवर ।
तर देउरानी उनै देवरलाई मन पराउँदिन । पुरुष मन पग्लिन्छ छिटो । स्त्री हिमालको बरफ हुन । धेरै तातो किरण चाहिन्छ जमेको हिउँ पग्लिन ।
मन परेको पुरुष अगाडि उभिदिए मात्रै पनि कस्तो खुसीको मादकता चढ्छ स्त्री मनमा ।
एक दिन एकान्तमा मैले देवरको हात समातिदिए ।
मैतिर नजर विस्फारित गर्दै मुसुक्क हाँसेर उनी कलेज गए । पहिलो चोटि देखे देवर राजाले यति मीठो मायालु हासोले मलाई तृप्त पारेका । नत्र उनी ज्यादै कम हाँस्ने पुरुष हुन ।
म भाउजू हु । तर पुरानी प्रेमीका पनि त हु नि । उनले पो मेरी देउरानीलाई मन पराएका थिए तर मैले त उहाँलाई मन पराएकी थिए नि । भन्न पो सकिन त । भनेकी भए पनि के गर्नु र मेरा देवर एकोहोरो भाका थिए पुष्पाको प्रेममा । तर पुष्पाको मनमा अर्कै पुरुष थियो मेरा लोग्ने ।
हरेक पुरुष अहममा बाचिरहन्छ र स्त्रीलाई आफू अनुरूपको बाच्न र हाँस्न सिकाउँछ । सबै स्त्री सबै पुरुषको इछ्या र इशारामा बाच्न सक्तैनन् र चाहदैनन पनि । सम्झौता नै गरेर बाचेको जिन्दगी त्यो आधा जिन्दगी मात्रै हो । स्त्रीको आधा खुसीमा पुरुषको आधा खुसी थपिए मात्रै पो त्यो पूर्ण हुन्थ्यो होला ।
एक दिन देउरानीले मलाई प्रस्ताव गरिन –
” दिदी मलाई मेरो प्रेम फिर्ता गर्नु सक्नु हुन्छ”?
” बुझिन पुष्पा के भन्न खोजेकी ?”
” तपाईँको लोग्ने मलाई दिनुस् म तपाईँलाई मेरो लोग्ने ”
” के यो सहज होला र “?
” सहज बनाउने अरूले होइन हामीले त हो नि दिदी ”
” लोक- लाज सास ससुरा समाज नि “?
” मलाई थाहा छ तपाईँ केशवलाई कति धेरै माया गर्नुहुन्छ ।
हामी सँगै स्कुल पढ्दा तपाईँले लुकाएर केशवलाई चकलेट दिनुहुन्थ्यो । तपाईँको मात्रै एकोहोरो चकलेटि माया थियो त्यो । केशव तपाईलाई होइन मलाई मात्रै माया गर्थ्यो । म किरण हजुरको लोग्नेलाई माया गर्थे । यी दुई दाजुभाइले हामी दुवैको प्रेमलाई बुझेनन् है दिदी । अब गर्नुहोस् दिदी केशवलाई धित पुर्याएर माया गर्नुस् तर मलाई मेरो किरण दिनुस् । बिन्ती म किरण सँग मात्रै खुसी रहन सक्छु
” पुष्पा चकलेटि माया के माया जो खाउन्जेल मात्रै मीठो निलेपछि स्वादले भुलेर जान्छ तर स्वाद लिनेले चैँ भुल्दैन ”
” चिन्ता नगर्नुस् केशवलाई मैले वृत्तान्त सुनाइसकेकी छु ”
” उनी त मेरा देवर हुन अब सामाजिक बन्धन पनि त छ नि ”
” देवर त हो नि छोरा त होइन नि ”
पुष्पा उ आफ्नो प्रेम प्राप्तिका लागि जे गर्न पनि तयार छे ।
म भित्र दमित त्यो माया फेरि फक्रन खोज्यो । किरणको प्रतिबिम्बित हो केशव जसलाइ मैले मेरो आत्माले चाहेको थिए । जब म यहाँ किरण सँग बिहे गरेर आए त्यो केवल केशव प्राप्तिको एउटा महत्त्वपूर्ण बाटो थियो । प्रेममा बहस हुदैन । प्रेममा वक्तृत्व पनि हुँदैन । प्रेममा केवल मौनता हुन्छ ।
मौनता प्रेमको नदी हो । चुपचापमा नै फक्र्यौं हामी र मैले कहिले व्यक्त गर्न सकिन केशव प्रतिको मेरो आत्मिक प्रेम किनकि उ पुष्पालाई माया गर्थ्यो । मैले खोसिन उसको खुसी मुटुलाई । कहिले पनि । दैहिक प्रेम थियो भने शरीर भोग पछि तिर्खा मेटिन्थ्यो र आफै किनार लाग्थ्यो प्रेम । तर यो आत्मिक प्रेम थियो जो मुटुको छायामा टुसा उम्रेको छ ।
केशव पुष्पालाई (आफ्नै श्रीमतीलाई) एकोहोरो माया गर्छ । तर पुष्पा किरणलाई (जेठाजु) लाई एकोहोरो माया गर्छे। म केशव अर्थात् मेरो देवरलाई माया गर्छु । यो कथाका हामी तीन पात्र मनोद्वन्दमा फसेका छौ । यसको समाधान के हुन सक्ला!
खोइ के हो म बहुलाउन थाले जस्तो लाग्यो । किरण निदाएपछि म देवर देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर बसिरहन्छु आजकल ।
निन्द्रा नलागेर आँखाको भृकुटी नै कालो कालो भएको छ । उनीहरूले श्वास फेरेको सुनिरहन्छु । कल्पना गर्छु मेरो देवर (मेरो प्रेमी) ले कसरी भोग्छन् होला पुष्पालाई । मेरो दमित यौन भाव त्यो ढोकामा पुगेपछि उभारिन्छ । र त्यहाँ उभिएर कान थापेपछि तिनीहरूको मन्द श्वास सुन्छु । म एकाएक उत्तेजित हुन्छु । अनि शिथिल हुन्छु ।
एउटा अचम्मको रोग लागेको छ मलाई । महिलालाई लाग्ने हिस्टेरिया भएको छ मलाई । निन्द्रा नआएको धेरै रात भो । एक प्रकारको बिमारी भए म । निन्द्रा लाग्ने गोलीले पनि काम गर्न छोडे छ अब त। एक दिन त डबल डोज परेछ । किरणले हात जोडी बिन्ती गरे डबल डोज स्लिपिङ टयाबलेट नखाऊ भनेर । म भित्र उकुसमुकुस छ ।
बेचैनी छ । पुरुष भन्दा महिला शान्त र शीतल हुनुपर्ने हो तर म हुन सकिन । म भित्र एउटा अभाव बाचिरहेको छ अतीत देखि। मैले केशवलाई चाहे तर पाइन । नपाएको कुरा नै किन महत्त्वपूर्ण हुन्छ यो सन्सारमा ह ? हरेक रात देवर देउरानी सुतेको ढोकाको काप बाट तिनलाइ चिहाएर हेरेपछि मात्रै म मानसिक र शारीरिक तृप्ति पाउँथे । यो क्रम धेरै दिन रह्यो ।
असन्तुष्ट देउरानीले एक्दिन साँचो कुरा खोलिन-
” दिदी मरिजाम हामी सँगै सुत्दैनौ ”
” एकै ओछ्यान अनि त्यसो भन्ने बच्चा जस्तो कुरा नगरन ”
” ओछ्यान एक भएर के भो मन दुई भएपछि ?”
पुष्पाको कुरा सही लाग्यो । ओछ्यान एकै भएर के काम ? सिरानी पनि एक भएर के काम ? जब सपना फरक फरक छन् भने, उद्देश्य फरक छ भने, मन भिन्न छ भने । अनि मैले केशवलाई माया गर्नु पनि त्यहित होला नि ।
एकै ओछ्यानमा जब फरक मन निदाउँछ त्याहा अपनत्वको अभावमा न्यानोपन पनि रहँदैन । सिरक एकै ओढ्नु प्रेमको न्यानो ताप्नु पनि होइन नि । माया ओछ्याइनुपर्छ माया नै सिरानी हुनुपर्छ र माया नै सिरक हुनुपर्छ अनि सपना पनि एकै देखिन्छ । त्यो बिनाको माया माया होइन त्यो त केवल वासना हो । लोग्नेको स्वाद के सहवास मात्रै हो त? लोग्ने हुनु आइमाई सुरक्षित हुन मात्रै हो त ? स्वास्नी हुनुलाई उ पुरुषको अकोपाइड मात्रै हो त? यो त महिला कोटामा परी लोकसेवा परीक्षा पास गरेजस्तो भएन र?
म किन यति बिघ्न केशव भन्दा भुतुक्क भाको ? उ पुष्पालाई पो माया गर्छ मलाई त गर्दैन नि । अनि ? अनि किन म उ भन्दा भुतुक्क हुनु? के छ त त्यस्तो उसमा जुन चिज किरण सँग छैन।
देउरानी खुसी छैन । म पनि किरण सँग खुसी छैन । हामी दुवै जोई पोइ भित्र एउटा असन्तुष्टिले बास गरेको धेरै भो । उहाँहरू दाजुभाइ हुन । तर त्यति खुलेर पनि बोल्दैनन् । किरणको व्यापार छ उसलाई प्रेम स्रेम स्वास्नी यौवन यौन चासो छैन ।
उ केवल मेरो ओछ्यानमा साथी बनिदिन्छ बस । सुतिदिन्छ ।
निदाउँछ मस्तले । घुर्छ । मलाई घुर्ने बानी भाको मान्छे बिल्कुल मन पर्दैन । किरण चुरोट पिउँछ । पिउन त केशव अर्थात् मेरो देवर राजा पनि पिउँछन् तर खोइ श्वास गन्हाए जस्तो लाग्दैन।
मन परेको मान्छेले जे गरे पनि सुहाउने है। हिजो भात पस्किदा देवर राजाले भन्नू भो -” भाउजू कति मीठो तरकारी “। कस्तो पुलकित भए म । बोली नै मीठो मेरा देवरको । ओठ नै स्वादिलो । महिलालाई यदि जे गर्न पनि छुट भाको भए म देवर राजाको गालामा म्वाइँ खाइदिन्थे । आइमाईलाई किन बलात्कार गर्ने छुट छैन ह ? नत्र मैले जानेथे मेरा राजाबाबुलाई !
आज स्लिपिङ टयाबलेटको डोज कम भएछ । बिचरी म । किरण निदाएछ । फेरि उही देवर सुतेको ढोकाबाट कान थाप्न थाले ।
आज देवर देवरानी झगडा गरेको सुने । देवराजले एक थप्पड हाने देउरानीको गालामा । उ रुन थाली । त्यो क्षण मलाई आनन्द लाग्यो । म चाहन्छु यी दुइको झगडा होस । केशव म तिर फर्कियोस । केशव र पुस्पा बिच यौन सम्बन्ध पनि नहोस। केशव चोखो रहोस । कुनै दिन आउला उस्को सबै कुमार बैँस म भित्र पोखोस । म भिजु निथ्रुक्क । मलाई हलहली पसिना आवोस । म आनन्दले मुर्छा परु। म भित्रको दमित वासना केशवको शरीरलाई भोग चढाउ । कति आनन्द होला त्यो बेला । उस्को छायांले मलाई निलोस । खप्पै खावोस मलाई त्यो अगालोले । म हलुका हुन्थे हुला । किन केशव सोच्दैमा मलाई उत्तेजना हुन्छ । केशव आगोको अगुल्टो हो जस्लाइ म आफ्नो शरीरमा झोस्न चाहन्छु । के हिस्टेरिया यहि हो ? दमित वासना ? ममा अलिकति पागलपनको सिम्टम आइसकेको छ ।
झगडा सुनेपछि ढोकाबाट फर्किए । आनन्द आयो । किरण घुरिरहेकै थियो । म नहुँदा चुरोट पिएछ । मुखबाट एउटा नमिठो दुर्गन्ध फैलिरहेको थियो । एउटा भिन्दै सिरक लिएर त्यो रात म भैमा सुते । त्यो घर कति उदार छ म अचम्मित हुन्छु । त्याहाको स्वतन्त्रता साँच्चिकै अनमोल छ । ससुराले कहिले गाली गर्दैनन् ।
सासू यो उमेरमा पनि हास खेल रमाइलो गर्छिन् । एक दिन सासूले मलाई एक्लै बोलाएर भनिन-
” ठुल दुलै तिमी मेरो कान्छो केसुलाइ मन पराउँछ्यौ हो?”
” हो ,तर हजुरलाई कसरी ?म उहाँलाई सानैदेखि मन पराउँथे”
” मैले तिमी राती राती केसुको ढोकाबाट फर्केको देख्थे ”
” तर त्यस्तो केही होइन आमा म उनीहरू झगडा गरेकी भनेर बेलुकी चिहाउथे ”
” केसुले गल्ती गर्यो ठुल दुलै पुष्पाले किरणलाई पो मन पराउदिरैछन । हामी सोच्दै छौ के गर्नी भनेर । तिम्रा ससुरालाई यो सबै घटना थाहा छ । हाम्रो घरको समस्या हामी नै मिलाउनुपर्छ ठुल दुलै ।”
सासुबुहारीको गन्थन लामो भो । त्यो रात मलाई खोइ किन पो हो स्लिपिङ टयाबलेट नखाई निन्द्रा पर्यो । ओखतीले निन्द्रा ल्याउने होइन रहेछ । निन्द्रा ल्याउने चिज त मनको खुसी पो रहेछ । मन नै हो रेछ सबैभन्दा ठुलो शत्रु पनि सबैभन्दा ठुलो मित्र पनि । कसरी देवर सँग बिहे गर्नु के भनेकी होलिन् हाम्री सासू आमोइले । किरण मस्त निन्द्रामा थियो । पहिले जस्तो म पुन देवर राजाको ढोकाबाट चिहाउन गइन। मन सम्हालिन थाल्यो । किरण जसले मलाई बिहे गरेर ल्यायो उसलाई म किन यति विघ्न घृणा गरूँ । उसको गल्ती के छ र? मेरो पुष्पाको र केशवको गल्तीले किन किरणलाई पल पल मारु । उ पनि त पुरुष हो ।
पुष्पाको असन्तुष्टि उस्तै थियो । एक दिन ससुराले हामी चारैजनालाइ आफ्नो कोठामै बोलाउनु भो । थालमा माला अवीर थिए । कुनै मन्दिर बाट आएका होलान् प्रसाद दिन बोलाका होलान् भन्ठाने । सासू ससुरा म देवर राजा र किरण सँगै थियौ ।
ससुराले देवर राजाको मुखमा हेर्दै भने-
” केसु पुष्पालाई तिमीले मन परायौ बिहे गर्यौ तर पुष्पा तिम्रो कहिले पनि हुन सकिनन् । पुष्पा किरणलाई मन पराउँछिन् यो कुरो तलाइ पनि था थ्यो । अनि तेरी भाउजू किरणलाई होइन केशवलाई मन पराउँछे । यहाँ पुरुषले मन पराउनुको कुनै अर्थ रहन्न । नारीले मन पराइदिइन भने मात्रै पुरुषको घर पक्काको हुनेरहेछ ।
त्यसैले मैले यी बुहारीहरूको प्रेमलाई सम्मान गर्दै पुष्पलाई किरण र केशवलाई ठुल दुलही सँग बिहे गराउदैछौ । ल माला पहिराऊ बुहारी हो आफूले मन पराएको पुरुषलाई” सासू ससुराको साक्षात् मन्जुरीमा हाम्रो दोस्रो बिहे भो । मैले सोचे दमित वासना होइन रहेछ दमित प्रेम पो रहेछ जिन्दगी त !