ट्रम्पले किन गर्दैछन् ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्धको तयारी ?-Sutra News

ट्रम्पले किन गर्दैछन् ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्धको तयारी ?

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४३ देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने योजना बनाएको छ। ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट प्रभावित हुनेछन्।



न्युयोर्क टाइम्सका अनुसार यो प्रतिबन्ध ट्रम्पको पहिलो कार्यकालको भन्दा व्यापक हुने अनुमान गरिएको छ।

न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक समाचारअनुसार भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ। यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन्।

यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन्।

यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन्।

यसैगरी यस सूचीमा डोमिनिका, एक्वेडोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी, माली, मोरिटानिया, सेन्ट किटस एन्ड नेबिस, सेन्ट लुसिया, साओ तोमे एन्ड प्रिन्सिपे, भानुताउ र जिम्बावेलाई पनि ६० दिनभित्र चासो सम्बोधन नगरे यात्रा प्रतिबन्ध लगाइने सूचीमा राखिएको छ।

पहिलाको प्रतिबन्धभन्दा फरक सूची

ट्रम्पको पहिलो कार्यकालमा यात्रा प्रतिबन्ध लगाइएका केही देशहरू यो सूचीमा पनि समावेश छन्, तर धेरै नयाँ देशहरू पनि थपिएका छन्। यीहरूमध्ये अधिकांश मुस्लिम-बहुल, गरीब वा कमजोर देश छन्।

नयाँ प्रस्ताव कार्यान्वयन सुरु भएपछि अमेरिका प्रवेश गर्न चाहने लाखौं आप्रवासी प्रभावित हुन सक्छन्।

भुटान जस्ता देशहरू पनि सूचीमा, कारण छैन प्रष्ट

ट्रम्प प्रशासनले यात्रा प्रतिबन्ध सूचीमा समावेश गरेको केही देशहरूको चयनको कारण स्पष्ट छैन। उदाहरणका लागि, भूटानलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाउने प्रस्ताव गरिएको छ। तर भुटानलाई किन यो सूचीमा समावेश गरियो भन्ने कारण खुलाइएको छैन।

रुसबाट आगन्तुकहरूलाई कडा प्रतिबन्ध लगाउने प्रस्तावले अर्को फरक मुद्दा उठाएको छ। रुस सरकार भ्रष्टाचारका कारण बदनाम भए पनि ट्रम्पले आफ्नो विदेश नीतिलाई रुसमैत्री बनाउन प्रयास गरिरहेका छन्।

त्यसैगरी, भेनेजुएलालाई सूचीमा समावेश गर्नुले पनि ट्रम्प प्रशासनको पछिल्लो आप्रवासन नीति प्रभावित गर्न सक्नेछ। हालै मात्र ट्रम्पले भेनेजुएलासँग सम्बन्ध सुधार्ने संकेत गरेका थिए, जसले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउन मद्दत गर्ने अनुमान गरिएको थियो।

ट्रम्पको अघिल्लो कार्यकालमा के भएको थियो ?

ट्रम्पको पहिलो कार्यकालमा जारी गरिएका प्रारम्भिक यात्रा प्रतिबन्धहरू अमेरिकी अदालतहरूले अवैध ठहर गरेका थिए।

तर, अन्ततः अमेरिकी सर्वोच्च अदालतले पुनः संशोधित प्रतिबन्धलाई अनुमोदन गर्‍यो, जसमा आठ देशका नागरिकहरूमाथि प्रतिबन्ध लगाइएको थियो। तीमध्ये छ देश मुस्लिम बहुल थिए।

सन् २०२१ मा राष्ट्रपति बनेपछि जो बाइडेनले ट्रम्पको यात्रा प्रतिबन्धलाई ‘हाम्रो राष्ट्रिय चेतनामा कालो धब्बा’ भन्दै खारेज गरेका थिए। उनले अमेरिकी परम्परालाई उल्लेख गर्दै भनेका थिए, ‘सबै धर्मका वा कुनै पनि धर्म नभएका मानिसहरूलाई स्वागत गर्ने हाम्रो लामो इतिहास विपरीत ती निर्णय गरिए ।’

तर, ट्रम्पले सन् २०२५ मा पदभार सम्हालेपछि पुनः यात्रा प्रतिबन्ध लागू गर्ने बताएका छन्। उनको कार्यकारी आदेशमा भनिएको छ कि प्रतिबन्धले ‘आतंकवादी गतिविधि गर्न चाहने, राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने, घृणायुक्त विचारधारा फैलाउने वा आप्रवासन कानुनको दुरुपयोग गर्ने’ विदेशीहरूमाथि रोक लगाउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट