फिल्म ‘अञ्जिला’लाई दर्शकको साथ तेस्रो दिन पनि उत्साहजनक-Sutra News

फिल्म ‘अञ्जिला’लाई दर्शकको साथ तेस्रो दिन पनि उत्साहजनक

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१
काठमाडौं । गएको बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पहिलो दिन फिल्मले दर्शकको सन्तोषजनक साथ पाएको थियो भने दोस्रो दिन त्यो कायम रह्यो।
आज दिउँसो काठमाडौंको अष्टनारायण हलमा फिल्म ‘अञ्जिला’को विशेष प्रदर्शन गरिएको थियो। हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा फिल्म युनिटले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको थियो।
हलमा प्रवेश गर्ने दर्शकहरूलाई ‘अञ्जिला’को जर्सी उपहारस्वरूप प्रदान गरिएको थियो। दर्शकहरूको उत्साहलाई थप बढाउन फिल्मका निर्देशक मिलन चाम्स, कलाकार सुमिन गुरुङ, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, गायक तथा संगीतकार थानेश्वर गौतम र गीतकार प्रभा बर्तौला हलमा पुगेका थिए।
फिल्म हेरिसकेपछि दर्शकहरूले ‘अञ्जिला’को पक्षमा नाराबाजी गर्दै चलचित्रको प्रशंसा गरेका थिए।
दर्शकहरूले यस फिल्मले नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलतालाई जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
त्यसअघि फिल्म रिलिज भएको पहिलो दिनमै हेर्न राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई पनि हलमा पुगेकी थिइन्। फिल्म हेरेपछि उनले फिल्ममा देखाइएको भन्दा धेरै संघर्ष एन्जिलाले वास्तविक जीवनमा गरेको भन्दै तारिफ गरेकी थिइन्।
यो फिल्ममा एन्जिला स्वयमको अभिनय छ। यसबाहेक सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङको पनि अभिनय छ।
निर्देशक चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटना देखाउन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट