

ललितपुर । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।
आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए।
‘पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो। पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ। विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन्। यसलाई मनन गरेका छौँ’, उनले भने।
अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो सङ्घर्ष र बलिदानीमार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताए।
उनले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताए।
अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग–व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताए।
पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताए।
‘भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु। आमनेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ’, अध्यक्ष दाहालले भने, ‘यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरुप नै अगाडि बढिरहेका छौँ। समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ। यसको संरक्षण गर्नु हाम्रो दायित्व हो।’