राजसंस्था फर्किएकाे विश्व इतिहास, नेपालमा सम्भावना कति ?-Sutra News

राजसंस्था फर्किएकाे विश्व इतिहास, नेपालमा सम्भावना कति ?

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडाैं । राजा रणबहादुर शाहका सौतेनी भाइ शेरबहादुर शाही तथा यिनका पक्षधर भारदारहरूलाई भित्र–भित्र मार्ने षड्यन्त्र भएको खबर एक दिन अन्ततः शेरबहादुरले थाहा पाउँछन् । मैजुरानीका पुत्र यिनै शेरबहादुरले पछि राजेन्द्रलक्ष्मीका पुत्र रणबहादुर शाहको हत्या गर्दछन् । त्यतिबेला जंगबहादुरका पिता बाल नरसिंह कुवर दरबारियाहरूको प्रिय पात्र थिए । उनले तत्काल शेरबहादुरलाई पनि तरबारले काट्छन् । यसरी नेपाली दरबारमा हत्या र हिंसाको श्रृंखला त्यो बेलादेखि सुरु भएको थियो ।



शाहहरू बुद्धि विवेकमा भन्दा पनि तरबारमा नै शक्ति देख्थे । शाह वंशको इतिहासमा पृथ्वीनारायण शाह र महेन्द्र मात्रै नेपाल देशको रक्षा र समुन्नति चाहने राजा थिए । जस्तो राणाहरूमा जुद्ध शमशेर पाखण्डी, क्रूर, राष्ट्रभक्त, विकास प्रेमी, सुधारवादी सबै गुण भएका व्यक्ति थिए, त्यस्तै राजा महेन्द्र पनि धेरै हदसम्म जुद्धको प्रतिच्छाया हुन्– पाखण्डी, क्रूर अनि आफ्नै ब्रान्डको राष्ट्रभक्त, विकास प्रेमी, सुधारवादीपन ।

राणाहरू पदबाट हट्न परेपछि भारत गई बस्थे, तर शाहहरू चाहिँ मुलुक त्याग्दैनथे । जस्तो राज राजगद्दी त्यागेपछि तत्कालीन राजा प्रवास गएनन् स्वदेशमै बसे, किनभने एउटा बिराशदको अस्तु अझै बाँकी छ भन्ने सपना थियो उनीहरूमा । अनि आफ्नो अकुत सम्पत्तिको रक्षाका निमित्त पनि उनीहरू नेपाल बस्न बाध्य भए । राजदरबार हत्याकाण्डबाट बाँच्न सफल भएकी धीरेन्द्र पत्नीलाई हेलिकप्टर दुर्घटना गराएर रारामा खसालेर मारियो, त्यतिबेला ज्ञानेन्द्रको क्रुर शासनकाल कोही बोल्न सक्ने अवस्था थिएन ।

दरबार हत्याकाण्डको एउटा थप रहस्य धीरेन्द्र पत्नीलाई थाहा थियो । उनको हत्यापछि सबै षड्यन्त्र रहस्यको गर्तमा सेलाइयो । इतिहास जहिले पनि हार्ने व्यक्तिको होइन जित्ने, व्यक्तिको लेखिन्छ । तर, वीरेन्द्रप्रति नेपाली जनताको ठुलो सम्मान र माया थियो ।

नेपालमा राजा स्थापित हुन नेपाली जनताले चाहेर हुन्न, भारतले चाहनुपर्छ । नेपालको हरेक आन्तरिक र बाह्य घटनामा भारतको नाक जोडिएको हुन्छ । नेपाली भूराजनीतिक परिवेशसँग इतिहासमा कि महेन्द्र परिचित थिए कि इतिहासमा पृथ्वीनारायण नै थिए । चौतारिया ज्ञानेन्द्रमा भूराजनीतिक ज्ञान छैन ।

अहिले दलका नेताहरूले पूर्वराजालाई यतिबेला गालीको वर्षा गराइरहेका छन् । प्रधानमन्त्री केपी ओली पूर्वराजालाई चुनावमा उठेर राजनीति गर्न उपदेश दिइरहेका छन् भने प्रचण्ड पूर्व राजालाई तल्लो स्तरको गाली गर्नमा व्यस्त छन् । प्रचण्डले पूर्व राजालाई सुन तस्करीदेखि मुर्तिचोरसम्मको उपमा दिएर खुलेहाम चुनौती दिइरहेका छन् । राजाको पक्षमा जब–जब जनताहरू एकत्रित हुन खोज्छन्, तब तब कम्युनिस्ट नेताहरू बरबराउन थाल्छन् ।

विधिसम्मत अब पूर्व राजा नेपालको राज सिंहासनमा कदापि फर्किन सक्दैनन्, यो कुरा ध्रुव सत्य हो । तर ! बिसौँ वर्षदेखि मुलुकको राजनीतिमा रजगज गरेर बसेका सुबिधाभोगी नेताहरूले देशलाई यति धेरै बदनाम र निकम्मा बनाएकी भ्रष्टाचार र कुशासनले जनता वाक्क दिक्क भए । राजाको विकल्प भनेको पार्टी र प्रजातन्त्र हो भन्दै हिजो झन्डा बोकेर सडकमा निस्केका तिनै जनता आज फेरि ‘राजा आऊ, देश बचाउ’ भन्न थालेका छन् ।

हुन पनि विश्व इतिहासलाई हेर्दा, फ्याँकिएको राजसंस्थालाई फेरि खोजेर स्थापित गरिएको छ । जसका बर्गेल्ती उदाहरण इतिहासमा भेटिन्छ ।

बेलायतमा सन् १६४९ मा राजा चाल्र्स प्रथमको मृत्युदण्डपछि ओलिभर क्रमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । क्रमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चाल्र्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो । यो घटनालाई इतिहासमा ‘द रेस्ट्रोरेसन’ (पुनस्र्थापना) भनेर चिनिन्छ ।

राजशाहीको अन्तपछि देशको माहौल कस्तो हुन्छ त्यो कुरामा भर पर्छ राजा पुनस्र्थापित हुनका लागि । यस्तै, फ्रान्सेली राज्य क्रान्ति (सन् १७८९–सन् १७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर, सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८औंलाई गद्दीमा पुनस्र्थापित गरियो । नेपोलियनको व्यवहारलाई फ्रान्सेली जनताले मन पराएनन्, तर पनि त्यति बेला त्यहाँ राजसंस्था ब्युँतियो ।

विश्व इतिहासमा राजा फ्याँकिने आउने परम्परा त्यति बेलासम्म जीवित रहन्छ जबसम्म राजापछिको शासन व्यवस्था समृद्धि तर्फ जाँदैन । हाम्रो देशमा राजसंस्थाको अन्त्य जनआन्दोलन पछि नै भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रले जनअधिकार खोसेर आफूलाई नै राज्य प्रमाणित गर्न खोजे, त्यसकारण पनि जनतामाझ उनी अलोकतान्त्रिक अलोकप्रिय भए ।

सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तर, सन् १८७४ मा राजा अल्फोन्सो १२औंलाई पुनः सिंहासनमा राखेर राजतन्त्र पुनस्र्थापित गरियो । सन् १९३१ मा पुनः गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो १३औँ निर्वासनमा जान बाध्य भए । राजा क्रुर भएको खण्डमा राजसंस्था जीवित रहँदैन त्यो कुरा धुर्वसत्य हो । २०१५ सालमा जम्मा ४ सिट जितेका कम्युनिस्टहरू आज आफूलाई पहिलो पार्टीको रूपमा प्रमाणित गर्न खोज्दैछन् ।

राजाको अत्याचार जब चुलिन्छ जनताले त्यसको विकल्प खोज्छन् । जब पार्टीको मनोपोलीले देश ध्वस्त हुन्छ फेरि जनता त्यस्तो विकल्प खोज्छन् । अहिलेको हल्ला त्यसैको बिम्ब हो ।

तानाशाह फ्रान्सिस्को फ्राङकोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो, जसले स्पेनलाई लोकतन्त्रतर्फ लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १८१५ मा भियना सम्मेलनमार्फत इटालीका विभिन्न राज्यहरूमा राजतन्त्र पुनस्र्थापित गरिएको थियो । तर, सन् १९४६ मा जनमतसंग्रहमार्फत इटालीले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरियो । राजा उम्बर्टो द्वितीय निर्वासनमा जान बाध्य भए र त्यसयता इटालीमा राजतन्त्र फर्काउन सफल प्रयास भएका छैनन् ।

सन् १९७० मा कम्बोडियामा गणतन्त्र लागू गरियो र राजा नरोद्दम सिंहानुक पदच्युत भए । सन् १९७५–सन् १९७९ को खमेर रुज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । स्न १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नरोद्दम सिंहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरियो ।

विश्वका केही देशमा राजसंस्था पुनस्र्थापित भएका घटना भए पनि केही देशमा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भने सफल हुन् सकेका छैनन् । सोभियत संघको पतनपछि बुल्गेरिया, रोमानिया र सर्बियामा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भएका थिए, तर ती प्रयासहरू सफल हुन सकेनन् ।

बुल्गेरियामा पूर्वराजा सिमेअन द्वितीय सन् २००१–सन् २००५ सम्म प्रधानमन्त्री बने, तर उनले राजतन्त्र फर्काउन सकेनन् । रोमानिया र सर्बियामा पनि राजतन्त्र पुनस्र्थापना प्रयास भए, तर सफल भएनन् । अफगानिस्तानमा पनि राजतन्त्र पुनर्स्थापनाको माग भएको थियो । सन् २००१ मा राजा जाहिर शाहलाई सम्मानजनक रूपमा ‘राष्ट्रपिता’ घोषणा गरिएको थियो, तर राजतन्त्र पुनस्र्थापित भने भएन । त्यस्तै, इरानमा केही समूहहरूले पहलवी वंशलाई फर्काउन प्रयत्न गरेका थिए, तर उनीहरू सफल हुन सकेनन् ।

अहिलेको २१औँ शताब्दीमा राजाको जुठो खाने, राजालाई विष्णुका अवतार मान्ने अवस्था छैन । फेरि पनि पार्टीहरूको नालायकीपनको कारण जनताले विकल्प खोजिरहेका हुन् । पार्टीको नालायकीपनको विकल्प के त ? को त ? यो प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट