

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा दिन लागिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सरकारले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएरै सेवासुविधा दिने तयारी गरेको भन्दै विरोध गरे।
बैठकको शून्य समयमा बोल्ने सांसदहरुले देशको आर्थिक अवस्थाले नथेग्ने र यसले जनतामा थप नैराश्यता बढाउनेतर्फ सचेत गराए।
सांसद चित्रबहादुर केसीले पूर्वविशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने सरकारको तयारीको आलोचना गरे। पछिल्लो समय जनता र सरकारबीचको दूरीलाई यसले अझ चर्काउन सक्ने भन्दै गम्भीर हुन सरकारसँग आग्रह गरे।
‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, यतिबेला सरकारले पूर्वविशिष्टलाई कानूनी व्यवस्था गरेर सेवासुविधा दिने कुरा गर्ने ?’, उनले भने, ‘सरकार र व्यवस्थाप्रति जनताको आक्रोश अझ बढ्ने छ। सरकार गम्भीर हुनुपर्छ।’
सांसद डा अमरेशकुमार सिंह सांसद र गोमा लाभ (सापकोटा)ले पनि पूर्वविशिष्ट पदाधिकारीको सेवासुविधा कटौती गर्न जोड दिए।
प्रतिक्रिया दिनुहोस्