

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नै सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । आइतबार २१.६३ अंकले घट्दै नेप्से २७१४.८५ को बिन्दुमा ओर्लिएको छ ।
आइतबार व्यापार बाहेक सबै समूहको सूचक घटे । व्यापारको सूचक ४.९२ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २०६ कम्पनीको मूल्य घट्दा ३२ कम्पनीको मूल्य बढ्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
उच्च अंकले नेप्से घट्दै गर्दा कारोबार रकममा पनि भारी गिरावट आएको छ । १ करोड ३९ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ८३ करोड रुपैयाँमै सीमित भयो । जुन केही महिनायताकै कम कारोबार रकम हो ।
आज हिमालयन रि इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, घलेम्दी हाइड्रोपावरलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे । हिमालयन रिको मात्रै कारोबार रकम ५८ करोड ६६ लाख रुपैयाँमाथिको भएको छ ।
लगातार ७ कारोबार दिनको गिरावटपछि गत बिहीबार नेप्सेमा दोहोरो अंकको बृद्धि भएको थियो । जसलाई बजारका जानकारहरुले करेक्सन सकिएको अर्थमा लिएका थिए ।
तर, आइतबारको गिरावटले भने उक्त बुझाईलाई तोडेको छ ।
यद्यपि, बजारका जानकार नवराज दाहाल केही लगानीकर्ताले योजनाबद्धरुपमा बजारलाई घटाएको बताउँछन् । सीमित नाफा बुक गरेर अरुलाई हतोत्साहित पार्ने गरी केही लगानीकर्ताले खेल खेलिरहेको उनले बताए ।
“बिनाकारण झारेर तल्लो बिन्दुमा उठाएर बसेपछि नाफा भइहाल्छ, अहिलेको ट्रेण्ड सामान्यलाई झुक्याएर नाफा कमाउनेमा छ”, उनी भन्छन्, “लगानीकर्ता सचेत हुनुपर्छ ।”