

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । यो संगै नेपालमा लोडसेडिङको चर्चा सुरु भएको छ ।
यसअघि नेपालमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट दैनिक २० घण्टा बिजुली आपूर्ति गर्ने गरेको थियो । यद्यपि, नेपाल विद्युत् प्राधिकरणले भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती भए पनि लोडसेडिङ नहुने जनाएको छ ।
प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए ।
उनले नेपालमा धेरै वैकल्पिक व्यवस्थाहरू रहेकाले लोडसेडिङको अवस्था नफर्किने स्पष्ट पारे । भारतले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै बिजुली दिने भएसँगै नेपालका औद्योगिक क्षेत्रमा रातभर बिजुली नहुने हो कि भन्ने विषयले चर्चा बटुलिरहेको छ ।
यद्यपि, प्राधिकरणका प्रवक्ता घोषका अनुसार पछिल्लो हप्तामा विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ । बागलुङ, म्याग्दी लगायतका जिल्लामा सञ्चालित केही पावरहाउसबाट छिट्टै थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अवस्था रहेको छ । यसर्थ पनि नेपालमा तत्काल लोडसेडिङ नहुने उनको भनाइ छ ।