

काठमाडाैं । गएको बिहीबार ‘अञ्जिला’, ‘आउट ल : दफा २१९’ प्रदर्शनमा आए भने त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि फिल्म ‘राजागंज’ आयो। तीन फिल्ममध्ये ‘अञ्जिला’ व्यापारिक रुपमा बलियो देखिएको छ।
बिहीबार र शुक्रबार मध्यम रहेको यस फिल्मको व्यापार शनिबार सुखद रह्यो। फिल्मले पाएका अधिकांश शोमा शनिबार उच्च अकुपेन्सी देखिएको थियो।
त्यसो त मधेश आन्दोलनताका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक अभिव्यक्तिलाई सेन्सर बोर्डले हटाउन दबाब दिएपछि यसले राजनीतिक वृत्तमासमेत चर्चा पाएको थियो। त्यस मानेमा यस फिल्मको चर्चा फिल्म क्षेत्रबाहेक पनि चुलियो।
प्रिमियर समारोहमा नेतादेखि कलाकारको लर्को लाग्यो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेतृ हिसिला यमी, नेता मनिष झा लगायतका राजनीतिज्ञले पनि फिल्म हेरे। नेता भट्टराईले मधेशको कथावस्तु र पहाड तथा मधेशको सम्बन्धको कथामा फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए।
दीपक रौनियार निर्देशित फिल्ममा अभिनेत्री आशा मगराती पहिलोपटक शीर्ष भूमिकामा देखिएकी छन्। निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल, दयाहाङ राई लगायतको पनि अभिनय छ।
समीक्षकहरूबाट पनि यस फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। आजको प्रतिनिधी सभा बैठकमासमेत रास्वपा सांसद असिम शाहले सेन्सरप्रति आपत्ति जनाएका छन्। तथापि यसको व्यापार भने निराशाजनक देखियो।
विश्वका थुप्रै फेस्टिभल चहारेको ‘राजागंज’को व्यापारिक अवस्था दयनीय छ। शुक्रबार र शनिबार फिल्मको शोमा ३० प्रतिशत पनि अकुपेन्सी देखिएन। केही शो ‘क्यान्सिल’ समेत भए। अरू दुई दिनको व्यापार हेरेर धेरै हलले फिल्मको शो घटाएका छन्।
उता, ‘वर्ड अफ माउथ’ पनि ‘अञ्जिला’ बलियो देखियो। फिल्म हेरेका अधिकांश दर्शक रूँदै हलबाट निस्किएका छन्। फिल्म हेर्दा दर्शक रोएका भिडियोहरू टिकटकमा पनि भाइरल छन्।
मिलन चाम्स निर्देशित ‘अञ्जिला’ महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। यो फिल्मलाई बायोपिक ड्रामा जनरामा राखिएको छ। जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। फिल्ममा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
‘आउट ल’ पनि व्यापारमा कमजोर देखिँदैन। बिहीबार र शुक्रबार औसत रहेको फिल्मको व्यापार शनिबार सन्तोषजनक रह्यो। फिल्मले देशभर प्राप्त प्रायः शोमा ६५-७० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो। फिल्मलाई प्रतिक्रिया पनि सकारात्मक मिलेको छ। फिल्म हेर्ने प्रायःले एक्सन र मेकिङ निकै मन पराएका छन्।
सुशिल श्रेष्ठको शीर्ष भूमिका रहेको ‘आउट ल’ एक्सनप्रधान फिल्म हो जसमा सुशिलले एन्टीहिरोको भूमिका निर्वाह गरेका छन्। जसलाई धेरै दर्शकले मन पराएको देखियो।
त्यसका अलावा हलमा आहिले सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल–३’ दोस्रो सातामा प्रदर्शनरत छ। फागुन २३ गते रिलिज यो फिल्मले व्यापार पनि राम्रो गरिरहेको छ।
फागुन १४ मा शिवरात्रिको अवसर पारेर एकसाथ तीनवटा नेपाली फिल्म रिलिज भएका थिए। त्यसमध्ये कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ।