सावधानी नअपनाउँदा मोटरसाइकल दुर्घटनामा निरन्तर वृद्धि, टोखा दुर्घटनाबाट के सिक्ने ?-Sutra News

सावधानी नअपनाउँदा मोटरसाइकल दुर्घटनामा निरन्तर वृद्धि, टोखा दुर्घटनाबाट के सिक्ने ?

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । पछिल्लो समय सडक दुर्घटनाका घटनाहरु बढ्दै गएको छ । दुर्घटना सामान्य होस् वा भयावह नै किन नहोस् त्यसले सकारात्मक अर्थ राख्न सक्दैन । दुर्घटना न्यूनीकरणका लागि राज्य वा निजी क्षेत्रबाट सक्दो प्रयासहरू भइरहेका छन् । तर पनि दुर्घटना दर भने घट्न सकेको छैन । जसमा मोटरसाइकल दुर्घटनाको दर व्यापक पाइन्छ ।



कतै सडकको दुरावस्थाले दुर्घटना हुन्छ त कतै सुगमताले हुने गरेको छ । सुगम सडकहरूमा सवारीको तीव्र गति दुर्घटनाको प्रमुख कारण हुने गरेको छ । सडकमा गुड्ने अधिकांश सवारी मध्ये मोटरसाइकलको तीव्र गति र चालकको लापरबाहीले दुर्घटना हुने गर्दछ ।

नेपालका सडकहरू असुरक्षित बन्दै गएका छन् । शनिवार काठमाडौंको टोखामा भएको एक दुर्घटनालाई हेर्ने हो भने पनि त्यसमा सवारीको तीव्र गति र चालकको लापरबाही नै मुख्य कारक देखिन्छ । उक्त मोटरसाइकल दुर्घटनामा जति पनि युवा समूह संलग्न थिए ती सबै ध्वनि प्रदूषण गराउने खालको बाइक लिएर उद्देश्यविहीन यात्रामा निस्केको देखिन्छ। सडकमा एक समूह काठमाडौंबाट नुवाकोट तर्फ जाँदै गर्दा प्रतियोगितात्मक शैलीमा सवारी चलाउँदा विपरीत दिशाबाट आएको मोटरसाइकलसँगको ठक्करबाट एक जनाको ज्यान समेत गएको छ ।

विशेष गरी मोटरसाइकल दुर्घटनामा युवा पुस्ताको संलग्नता रहने गरेको पाइन्छ । सवारी चालक सम्बन्धी थुप्रै नियम कानुनहरू बनेका छन्, तर त्यसको पालना नगर्नु दुर्घटनाको अर्को मुख्य कारण हो । सडकमा ठुलो आवाज आउने बाइक लिएर हिँड्ने युवाहरूलाई सख्त कारवाहीको दायरामा ल्याउनु जरुरी छ। टोखामा भएको दुर्घटना त्यही प्रकृतिको थियो। एकले अर्कालाई उछिन्ने गरेर ठुलो आवाजका साथ सडक वरिपरिका टोल छिमेकलाई तर्साउँदै तिनीहरूले बाइक चलाइरहेको देखिन्छ।

टोखामा भएको मोटरसाइकल दुर्घटनाले हाम्रो समाजमा भएका केही गम्भीर समस्याहरू उजागर गरेको छ। युवा मानसिकता, यातायात नियमको फितलो कार्यान्वयन, राज्यको उदासीनता, र अभिभावकहरूको कमजोर नियन्त्रण—यी सबै कुराले यस्ता दुर्घटनाहरूलाई मलजल गरिरहेका छन्।

टोखाको दुर्घटनाबाट के सिक्न सकिन्छ ?

१. युवा मानसिकता र लापरवाही

-धेरै युवाहरू सडकलाई रेस ट्रयाकझैँ लिन्छन्।

-ठुलो आवाज निकाल्ने बाइकहरू चलाएर अरूलाई तर्साउने प्रवृत्ति खतरनाक छ।

-यातायात नियमको पालनामा लापरवाही, लाइसेन्स बिना बाइक चलाउने प्रवृत्ति रोक्नुपर्छ।

२. कानुनी कठोरता र कार्यान्वयन

-ध्वनि प्रदूषण गर्ने बाइकहरू प्रतिबन्ध गर्न आवश्यक छ।

-अनाधिकृत बाइक परिमार्जन (modification) लाई दण्डनीय अपराध घोषणा गर्नुपर्छ।

-बिना लाइसेन्स बाइक चलाउनेलाई कडा सजाय तथा परिवारलाई पनि जिम्मेवार बनाउने कानुन ल्याउनुपर्छ।

३. अभिभावक र समाजको भूमिका

-अभिभावकहरूले आफ्ना सन्तानलाई सडक सुरक्षाबारे सचेत बनाउनु जरुरी छ।

-बाइक किनिदिने तर नियन्त्रण नगर्ने प्रवृत्तिले दुर्घटनालाई बढावा दिइरहेको छ।

-स्थानीय समुदाय र प्रहरीको सहकार्य आवश्यक छ।

४. प्रहरी प्रशासन र सरकारको जिम्मेवारी

-सडक अनुगमन कडा बनाइनुपर्छ।

-लाइसेन्स वितरणमा सुधार गरेर सही व्यक्तिलाई मात्र अनुमति दिनुपर्छ।

-सडक सुरक्षामा संलग्न निकायहरूले प्रभावकारी अभियान चलाउनु जरुरी छ।

टोखामा भएको दुर्घटना अझै पनि चेत नखोल्ने हो भने भोलिका दिनहरूमा ठूला दुर्घटनाहरू बढ्दै जाने सम्भावना छ। कानुन, समाज, अभिभावक र राज्य सबैले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। ध्वनि प्रदूषण गर्ने बाइकहरूको नियन्त्रण, यातायात नियमको कडाइ र युवा मानसिकतामा सुधार ल्याउन सके मात्र यस्ता घटनाहरूलाई रोक्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट