

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको छ।
फेसबुकमा विभिन्न फेक आइडीसमेत बनाएर प्रचण्ड परिवारको चरित्रहत्या गर्ने खालका सामग्री राख्नेदेखि अत्यन्त आपत्तिजनक कुराहरू समेत पोष्ट गरिएपछि माओवादी कार्यकर्ताले साइबर ब्युरोमा उजुरी दिएका हुन्।
फेसबुकमा मेचीमहाकाली अभियान, विकास महर्जन दीपु, सविना मोक्तान, कुलबहादुर थापाजस्ता आइडीहरूबाट प्रचण्डलाई उनका दिवंगत छोरा प्रकाश र बुहारी बिनालाई जोडेर आपत्तिजनक पोष्टहरू गरिएका छन्।
विगत २-३ दिनदेखि यस्ता पोस्टहरू गरिएको देखिएपछि वाइसीएल नेपालका केन्द्रीय सचिव हरि ढकालले त्यस्ता व्यक्तिमाथि कानूनबमोजिम कारवाही गर्न साइबर ब्युरोमा जाहेरी दिएको बताए।
उजुरीपछि साइबर व्युरोको प्रवक्ता एसपी दिपकराज अवस्थीले जाहेरी प्राप्त भएको र त्यस्ता आइडीको पहिचान गरी कानूनको दायरामा ल्याइने बताए।
साइबर ब्युरोले केही आइडी पहिचानसमेत भएको र कानूनबमोजिम अनुसन्धान भइरहेको जनाएको छ।