पर्यटक बढाउन यौन व्यवसाय र गाँजा खेतीलाई पनि व्यवसायीकरण गरौं : सांसद घिमिरे-Sutra News

पर्यटक बढाउन यौन व्यवसाय र गाँजा खेतीलाई पनि व्यवसायीकरण गरौं : सांसद घिमिरे

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न आग्रह गरेका छन्।



प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको अवस्थामा व्यापक परिवर्तन आएको, देश विकास र सुशासन प्रवद्र्धन भई जनतामा आशा र विश्वास जागिरहेको बताए।

यस्तो अवस्थामा विभिन्न व्यवस्था र बहानाबाजीमा देशमा केही पनि भइरहेको छैन भनी जनतामा भ्रम सिर्जना भइरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई उनले आग्रह गरे।

घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी छ।

‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं। जसले यो मुलुकमा पर्यटकको संख्या बढाउनेछ,’ उनले भने, ‘धार्मिक पर्यटकहरूले खर्च कम गर्छ। साहसिक पर्यटक थोरैमात्र हुन्छन्। संसारमै सबैभन्दा धेरै पर्यटक भनेको मनोरञ्जन क्षेत्रको लागि हो। त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकमा आर्थिक विकास हुन्छ। विपक्षीले यी कुरा उठाइदिएको भए कति काइदा हुन्थ्यो।’

गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने भन्दै उनले थपे, ‘गाँजाखेतीलाई अगाडि बढाउने कानुन निर्माणमा किन आपत्ति, वनसम्बन्धी कानुनले धेरै विकास निर्माणका काम प्रभावित भइरहेका छन् यसबारे कुरा उठाउने प्रतिपक्षीको धर्म हो। तर, मुलुकमा केही भएको छैन। देश बर्बादै हुनलाग्यो भन्नेजस्ता भाष्य निर्माण गरेर जनतलाई झुक्याउने काम गरिनुहुन्न।’

देशको अति जरूरी विषय भनेको पूर्वाधार निर्माण हो भन्दै मुख्य सचेतक घिमिरेले सडक, खानेपानी, खेलकुद लगायतका क्षेत्रको पूर्वाधार निर्माणमा लगानी आवश्यक भएको बताए।

उनले निजी क्षेत्रलाई मेडिकल कजेल र इञ्जिनियरिङ अध्ययन संस्थान खोल्न नदिइएको र सरकारले मात्रै त्यस्ता संस्थाहरू सञ्चालन गर्न कठिन हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने खाँचो औँल्याए।

पुँजीगत खर्च बढाएर युवा पलायन रोक्दै देश विकासमा सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनले जोड दिए।

घिमिरेले मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने धारणा राखे।

‘हिजोका दिनमा जापान, कोरियाजस्ता देशले पनि विदेशमा रोजगारीका लागि नागरिक पठाएका थिए। आज चिनियाँ नागरिक कुन मुलुकमा छैनन्। पर्यटनले रु एक खर्ब पनि विदेशी मुद्रा आर्जन गर्न सकेको छैन। ऊर्जा र सूचना प्रविधिबाट पनि पर्याप्त विदेशी मुद्रा भित्रिन सकेको छैन। तर, यति धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याउनेलाई बेवास्ता गर्न मिल्छ?,’ उनले भने।

मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट