नेतृत्वको विषयले भाँडिए राजावादी-Sutra News

नेतृत्वको विषयले भाँडिए राजावादी

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

काठमाडौं । राजावादी शक्तिहरुलाई एकताबद्ध गरी निर्णायक आन्दोलन गर्ने तयारी भइरहेका बेला नेतृत्वको विषयले विवाद चुलिएको छ । मुख्य देखिएका नेताहरूको विकल्प खोज्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीलाई अगाडि सारेपछि राजावादी शक्तिहरू भाँडिएका हुन् । सुवेदीलाई अगाडि सारेसँगै राजावादी शक्तिहरूभित्रै तीव्र मतभेद सुरु भएको छ ।



पूर्वराजाको कदमपछि मुख्य राजावादी दल राप्रपाभित्र विवाद चुलिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरू पूर्वराजाको निर्णयको विपक्षमा उभिएका छन् । पूर्वराजाको यस्तो कदम आन्दोलनलाई निर्णायक बनाउने भन्दा तुहाउने शैलीमा आएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई नेतृत्व दिने कुरा सुहाउने विषय नभएको भन्दै पूर्वराजाको निर्णयको आलोचना गरे । उनले पार्टी अध्यक्षलाई बाइपास गरेर अन्यलाई नेतृत्वका लागि अघि सार्नु सही नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

“सिंगो पार्टी अध्यक्षलाई बाइपास गरेर केहीलाई अगाडि सार्ने काम गर्न खोजियो, यो आफैँ संगतपूर्ण छैन”, अध्यक्ष लिङ्देनको भनाई उद्धत गर्दै राप्रपाका एक नेताले भने, “यसरी आन्दोलनलाई अगाडि बढाउन सहज हुँदैन ।”

बैठकमा अधिकांशले विमति जनाए पनि नेताहरू डा. प्रकाशचन्द्र लोहनी, विक्रमबहादुर पाण्डे र धवलशमशेर राणाले भने पूर्वराजाको निर्णयलाई बचाउ गरेका थिए । सबैको साझा व्यक्तिका रूपमा सुवेदीलाई स्वीकार गर्नुपर्ने राय नेताहरूले राखेका थिए ।

“आन्दोलनका लागि जसलाई नेतृत्वमा अघि सारिएको छ, यो सही छ, सबै मिलेर पूर्वघोषित कार्यक्रममा अगाडि बढ्नुपर्छ”, बैठकमा लोहनीले भनेका थिए ।

पूर्वराजा शाहले अगाडि सारेका ८६ वर्षीय सुवेदीले सोमबार आन्दोलनका कार्यक्रम बनाउन राजेन्द्र लिङ्देन, कमल थापा, दुर्गा प्रसाइँलगायतलाई बोलाएका छन् । यद्यपि, विवादका बिच सुवेदीको प्रयासले सार्थकता पाउनेमा अन्यौलता छ ।

लिङ्देनले फागुन २५ मा भएको स्वागत कार्यक्रममा दुर्गा प्रसाइँलाई पूर्वराजाले अगाडि सारेको सन्दर्भमा पनि आइतबार बसेको राप्रपा बैठकमा असन्तुष्टि जनाएका छन् । उनले प्रसाइँ समूहको विरोध गर्दै आएका छन् ।

स्वयं प्रसाइँले पनि लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालमाथि रुखो आलोचना गर्दै आएका छन् । फागुन २५ को प्रदर्शनमा अग्रपंक्तिका देखिएका प्रसाइँले फागुन २७ मा पत्रकार सम्मेलन गरी लिङ्देन र थापालाई ‘माहौल बनेपछि ढोक्सा थाप्न आएको’ भन्दै विरोध गरेका थिए । उनले अहिलेको माहौल आफूले बनाएको भन्दै नेतृत्व पनि आफैँले गर्ने बताएका थिए ।

“कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो, अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न आए उनीहरू, अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?”, प्रसाइँले भनेका छन्, “ चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुपर्‍यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न, गणतन्त्रको भोज खाएर माहौल बनेपछि आउने ढोक्सा थाप्न ?”

यतिबेला स्वयं पूर्वराजाले लिङ्देन, थापा वा प्रसाइँमाथि विश्वास गर्न सकेका छैनन् भने उनको अविश्वासका नेताहरू पनि अलमलमा छन् । यसले पूर्वराजाको योजनाअनुसार राजवादीहरू सुवेदीको नेतृत्वमा संगठित हुने र आन्दोलनमा होमिने सम्भावनालाई थप कमजोर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट