राजाको छिनोफानो जनमत संग्रहबाट पो गर्ने हो कि ?-Sutra News

राजाको छिनोफानो जनमत संग्रहबाट पो गर्ने हो कि ?

सोमबार, ३ चैत्र २०८१

सोमबार, ३ चैत्र २०८१

पाकिस्तानमा सन् १९७७ मा भएको संसदीय निर्वाचनमा पाकिस्तान पिपुल्स पार्टीले जित हासिल गरेको थियो । जुन निर्वाचनपछि जुलफिकर अलि भुट्टो राष्ट्रपति भएका थिए । तर, सोही वर्ष ५ जुलाईमा भुट्टोलाई राष्ट्रपति पदबाट हटाउँदै उनका सेनापति जिया उल हकले सैनिक विद्रोह गरी राज्यसत्ता आफ्नो कब्जामा लिए । अपदस्थ गरिएका भुट्टोलाई पाकिस्तानको सर्वोच्च अदालतमा एउटा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिइयो । त्यो घटनालाई लिएर विश्वका लोकतान्त्रिक देशहरूले विरोध गरेका थिए । लोकतान्त्रिक पक्षधर राष्ट्रहरूमा विद्यार्थीहरूले पाकिस्तानको घटनालाई लिएर विरोध जनाएका थिए । हाम्रो देश नेपालमा पनि नेपाली विद्यार्थीले जुल्फिकर अलि भुट्टोलाई दिइएको मृत्युदण्डको विरोधमा पाकिस्तानी राजदूतावासमा विरोध पत्र बुझाउँदै प्रदर्शन गरेका थिए । त्यही आन्दोलनको परिणामस्वरूप नै नेपालमा पञ्चायत व्यवस्था विरोधी विद्रोह चम्किन थालेको थियो । 



पञ्चायत व्यवस्था विरोधी स्वरहरूलाई पहिला त राजा महेन्द्रले दबाएकै हुन् । पञ्चायत विरोधी कति परिचित तथा अपरिचित नेतालाई मार्न लगाइएको थियो, छिन्ताङ विद्रोह त्यसैको परिणाम थियो । महेन्द्रभन्दा वीरेन्द्र धेरै लिबरल थिए । लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने वीरेन्द्र जनभावनालाई दबाउन हुन्न भन्ने कुरामा विश्वास राख्थे । २०२८ माघमा राजा महेन्द्रको देहावसान भएपछि राजा वीरेन्द्रले सत्ता सम्हालेका थिए । त्यसको ठिक ९ वर्षपछि जनता बहुदल चाहन्छन् वा निर्दल चाहन्छन् भन्ने कुराको छिनोफानो गर्न सूर्य बहादुर थापाको नेतृत्वमा जनमत संग्रहको घोषणा भयो, २०३७ सालमा । त्यो जनमत सङ्ग्रहमा बहुदलको हार भयो, निर्दलीय पञ्चायती व्यवस्थाले ४ लाख बढी मत ल्याएर जित्यो । पञ्चायत व्यवस्थालाई जिताउन करोडौँ खर्च गरिएको थियो, सूर्यबहादुर थापालाई जसरी पनि पञ्चायत जिताउनुपर्ने बाध्यता थियो । नक्कली ४ लाख भोट हालेर पञ्चायतलाई जिताइएको थियो भन्ने अनुमान त्यति बेलाका लोकतन्त्रवादी नेताले गरेका छन् ।

बिपी कोइरालाले त्यो कुरा थाहा पाए पनि उनले त्यो निर्णयको भने स्वागत गरेका थिए । त्यति बेला बिपीले त्यो निर्णयविरुद्ध बोलेका मात्रै थिए भने देशभित्रै ठूलो आन्दोलन हुन सक्थ्यो र नेपालको राष्ट्रियता धरापमा पर्न सक्थ्यो । यो दूरदर्शिता अपनाएर बिपीले नतिजालाई स्वेच्छाले स्वीकार गरे । राजा वीरेन्द्रका सहयोगीहरूले झेल गरेर टिकाएको पञ्चायती व्यवस्था नेपालमा करिब ३० वर्ष बाँच्यो ।

अहिले पनि बेला–बेलामा राप्रपालगायत राजावादी पार्टी र तिनका समर्थकहरूले राजालाई जबर्जस्ती सत्ता च्युत गरियो भन्ने आरोप लगाइरहेका छन् । त्यो बेलामा १ वर्षको बच्चा अहिले बालिग भइसकेको अवस्था छ । अहिलेको १८ वर्षिया बच्चाले राजा चिन्दैन, बुझ्दैन र इतिहासमा नै सीमित भएको राजाको बारेमा खोजी पनि गर्दैन ।

यदि पटक–पटक व्यवस्था फेरिरहने हो भने देश झन् गरिबीतर्फ धकेलिने निश्चित छ । पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्ने समयमा बेलायतमा भूमिगत रेल सेवाको विकास भैसकेको थियो । जतिबेला हामी अर्धजङ्गली थियौं, त्यति बेला युरोप र अमेरिकाले अभूतपूर्व विकासको छलाङ मारिसकेका थिए । विकसित देशहरूले चन्द्रमा यात्रा गरिसक्दा हामी सति प्रथा कसरी अन्त गर्ने भन्ने समाज सुधारको चिन्तनमा थियाैं । तत्कालीन युवराज वीरेन्द्रले लन्डनको ख्याति प्राप्त इटन कलेज पढ्दा उनले त्यहाँको आधुनिक विकास र प्रगति पनि पढेका भए, त्यहाँको सिकाइ र अनुभूतिले त्यो बेलाको नेपाललाई कसरी विकास गर्न सकिन्थ्यो होला अहिले अनुमान लगाउन मात्रै सक्छांै हामी । हामीभन्दा पछाडि जन्मिएको देश भुटानको जीडीपी आज कहाँ छ, हामी कति तल छौं ? राजाको छिनोफानो भैसकेको हो त्यति बेला नै तर, फेरि नेपाली राजामै अल्झिएका छौं हामी ।

के अब राजाको छिनोफानो जनमतसंग्रहबाट पो गर्ने हो कि भन्ने आवाज उठान पनि हुन थालेका छन् ? यसको लागि राप्रपाका युवा नेता ज्ञान बहादुर शाहीलगायत अरू नेताहरूको माग छ । विकास र समुन्नति चाहनेभन्दा राजा चाहनेहरूको जनमत बढ्दै गएको पो हो कि भन्ने अनुमान गर्नेहरूको लागि जनमत संग्रह एउटा त्यस्तो बाटो हुन सक्छ, जसबाट राजाको घाउ सधैँका लागि काटेर फालिने छ या राजा जनमतबाट फेरि अनुमोदित हुन सक्छन् । जनमत संग्रहको परिणाम पार्टीहरूले सहजरूपमा स्वीकार गर्नुको विकल्प छैन । परिणाम चाहे जस्तोसुकै आओस् । जसरी हिजो बिपीले देशको भूराजनीतिक अवस्थालाई हेरेर तत्कालीन निर्दलीय व्यवस्थाको जितलाई स्वेच्छाले स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट