

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामाले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई निःशुल्क इतिहास पढाउने बताएकी छन् ।
उनले ज्ञानेन्द्र शाहीलाई इतिहासको राम्रो ज्ञान नभएको भन्दै नरभूपाल शाहदेखि पारस शाहसम्मको इतिहास निःशुल्क पढाइदिने बताएकी हुन् ।
‘नजाने इतिहास पढ्न आउनुहोस् । म तपाईँलाई नरभूपालदेखि पारससम्मको इतिहास निःशुल्क पढाइदिन्छु,’ उनले भनेकी छन्, ‘यो तपाईँको लागि आवश्यक छ । तपाईँ मेरै जिल्लाको भाइ भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ ।’
माओवादी सांसद छिरिङले शाहीलाई दिएको चुनौती जस्ताको तस्तै :
हिजो संघीय संसदमा माननीय रघुजी पन्तले माननीय ज्ञान बहादुर शाहीलाई इतिहास पढाउनुभयो । मैले पनि माननीय ज्ञानबहादुरलाई अर्को इतिहासको पनि अवगत गराउन चाहन्छु । तत्कालीन राजा महेन्द्र शाहको जेठो छोरो रवीन्द्र शाह राजा हुनुपर्नेमा दरवारियाले रोलक्रम मिचेर जबरजस्ती वीरेन्द्र शाहलाई राजा बनाए । रवीन्द्रलाई एकजना अविवाहित महिला गीता गुरुङबाट जन्मेको पहिलो सन्तान भएकै कारण अपहेलित गरेर राजदरबार बाहिर राखिएको थियो । शाहकालीन इतिहास वर्ग र जातमा विभेद गर्ने नस्लीय चिन्तनले ग्रस्त सामन्ती सोचको जड थियो भन्ने यहाँ बाट पुष्टि हुन्छ । माननीय ज्ञानबहादुरले अहिले बोकेको अहिलेको पूर्वराजा कहीँ कतैबाट राजा होइनन् ।
माननीय ज्ञानबहादुर शाही बतासजस्तै बनेर इतिहास नबुझी फोकटमा व्यापारी ज्ञानेन्द्रको खुट्टा ढोगिरहेका छन् ।
कि भन्नु परो ‘जसको सीता खाइ उसको गीता गाइ’ भनेर, होइन भने तपाईँले अन्धकारमा हुनुहुन्छ माननीय ज्ञानबहादुर ! उल्टो खोलो फर्काउन हिँडेका हाम्रा जुम्लाला माननीय ज्ञानबहादुरले सुख्खा खोलो बोक्नु कति अज्ञानी बन्नु भएको हँ ?
तपाईँले बोक्ने नै हो भने महेन्द्रको जेठो सन्तान बोक्नुस् । नभए उनको पनि जेठो सन्तान बोक्नुस् । भरिया नै बन्ने हो भने सक्कली मालिकको बन्नुस् । रोलक्रम मिचेर राजा भएका वीरेन्द्रको परिवार मारिएलगत्तै हत्त न पत्त श्रीपेच खोसेर लगाएका ज्ञानेन्द्र त नक्कली राजा हुन् । शाह वंशको इतिहासले त्यही भन्छ । राजावादीले आफ्नै राजामाथि विभेद गर्ने । नजाने इतिहास पढ्न आउनुहोस् । म तपाईँलाई नरभूपालदेखि पारससम्मको इतिहास निःशुल्क पढाइदिन्छु । यो तपाईँको लागि आवश्यक छ । तपाईँ मेरै जिल्लाको भाइ भएकाले यो अफर दिएको नत्र अन्य राजावादीलाई शुल्क लाग्छ ।