

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कर्मा’का कलाकारले कथा र न्यारेसन दुबैका हिसाबले यो चलचित्र अरूभन्दा फरक रहेको दाबी गरेका छन्।
‘यो चलचित्र अहिले रेगुलर रुपमा आइरहेका चलचित्रभन्दा फरक छ,’ मुकुन भुसाल भन्छन्, ‘निर्देशकले स्टोरी फरक तरिकाले प्रस्तुत गर्नुभएको छ। स्टोरी फरक तरिकाले न्यारेट गर्नुभएको छ।’
हरेक कलाकार र निर्देशकले रिलिजअगाडि आफ्नो चलचित्र फरक रहेको बताउने गरे पनि ‘कर्मा’ भने साँच्चै नै फरक रहेको उनको भनाइ छ।
अभिनेता विपीन कार्कीले आफूलाई एक्सन जनरामा तयारी गरेर काम गरेको हुनाले तिजर्मा वाहवाही पाएको मुकुनले बताए।
‘विपीन कार्कीलाई मेकरले जसरी विश्वास गरेर लिनुभयो, त्यसैगरी उहाँले पनि मेहनत गरेर काम गर्नुभयो। मेहनतकै कारण टिजरमा उहाँले वाहीवाही कमाउनु भएको छ,’ उनले भने।
त्यस्तै, कलाकार दिव्यदेबले पनि अहिलेसम्म हरेक क्यारेक्टरमा विपीनले मेहनत गरेको बताए।
कलाकार सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको स्मरण गरिन्।
‘उहाँले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,’ उनले भनिन्।
आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको रोलमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक खालको चरित्र रहेको उनले बताइन्।
‘आमाको चरित्र त अहिलेसम्म धेरै गरेँ होला। तर, कर्मामा आमाको चरित्र मात्रै छैन,’ उनी भन्छिन्, ‘यसमा आमा सँगसँगै धेरै कुरा छ। यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्रले हटाउनेछ।’
नायिका उपासना सिंह ठकुरीले आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको तर, आफूलाई ‘कर्मा’प्रति सधैँ विश्वास रहेको बताइन्।
एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको र त्यसको अफरको अपेक्षा रहेको उनले बताइन्।
निर्देशक चौधरीले यस चलचित्रको बारेमा भनेका छन्, ‘कसैले गलत काम गरेर म बाट तारिफ पाइरहेको छ भने पनि कुनै न कुनै समय अर्को कसैबाट उसले त्यसको मूल्य चुकाउनुपर्छ। यही नै कर्मा हो। यसमा विश्वास गर्ने भएकैले मैले यो चलचित्र बनाएको हुँ।’
चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।
यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।