

काठमाडौं । लगातार गिरावटका बिच साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १०.१४ अंकले घट्दै नेप्से २७०४.७० को बिन्दुमा ओर्लिएको छ ।
नेप्सेमा निरन्तर गिरावट चलिरहँदा कारोबार पनि सुस्ताउन थालेको छ । सोमबार जम्मा ५ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो । ९९ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा उक्त कारोबार भएको थियो ।
जुन २ महिनायताकै कम कारोबार हो । यसअघि ४१ कारोबार दिनअघि नेप्सेमा झण्डै ४ अर्बको कारोबार भएको थियो ।
परिसूचक र कारोबार रकम घट्दै अधिकांश कम्पनीको मूल्य पनि घटेको छ । सोमबार कारोबारमा आएका १४४ कम्पनीको मूल्य घट्दा ८७ कम्पनीको मात्रै मूल्य बढ्यो । १२ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
अहिले सेयर बजार विशेषगरी राजनीतिक क्षेत्रमा देखिएको गतिविधिबाट प्रभावित भइरहेको छ । लगानीकर्ता अन्योल हुँदै गर्दा कारोबार रकममा उच्च गिरावट आएको हो ।
सँगै, केही लगानीकर्ता नाफा बुक गर्न उद्धत हुँदा पनि बजार प्रभावित हुन पुगेको छ ।
अहिले केन्द्रीय बैंकमा नेतृत्व परिवर्तनको विषयले पनि केही लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । हालसम्मको नेतृत्वले नीतिगतरुपमा निरन्तर पुर्याइरहेको सन्दर्भमा अबको नेतृत्व कस्तो आउला भन्ने अन्योलतामा लगानीकर्ता देखिन्छन् ।