

काठमाडाैं । चर्चित बलिउड गायिका संजीवनीले नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिएकी छन्। यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’को नयाँ संस्करणमा उनले आवाज दिएकी हुन्।
पहिला यस गीतमा आशा भोसलेको आवाज थियो। यस नयाँ संस्करणमा संगीत भने जयदेव र शब्द किरण खरेलेकै यथावत रहनेछन्। यो चर्चित गीत संजीवनीको स्वर र रिकेश गुरुङको एरेन्जमा रहनेछ।
आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा संजीवनीले गीत रेकर्ड गरेकी हुन्। यसका लागि उनले राम्रै पारिश्रमिक लिने सहमति भएको निर्माता अधिकारीले बताए।
यो गीतमा आवाज दिएपछि संजीवनीले राम्रा गीत प्राप्त भएमा अन्य नेपाली गीत पनि गाउने बताइन्।
निर्माता अधिकारीका अनुसार यस गीतका लागि ‘माइतीघर’को मौलिक गीतका एकमात्र जीवित सर्जक र गीतकार किरण खरेलसँग प्रतिलिपि अधिकार सुनिश्चित गरिएको छ।
संजीवनीले ‘पानी मीठो मेरो हजुर, पुरानो हुँदैन माया, डाँडा पाखा छहराले, तिम्रो सम्झनाले मलाई, आँखामा आउने तस्वीर’जस्ता हिट नेपाली गीतहरूमा आवाज दिएकी छन्।
बैशाख ७ देखि छायांकन सुरु हुने फिल्मलाई शैलुङ, काभ्रे र काठमाडौंमा खिचिनेछ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्ममा प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर बाङ्देल, बुद्धि तामाङ, सन्तोष शाही, माओत्से गुरुङको अभिनय रहने छ।
फिल्ममा रोहितसहित धीरज तामाङ र रविन शेरचनको लगानी हुनेछ।