

काठमाडाैं । नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरू चैत महिनाबाटै सुरू भएका थुप्रै इतिहास भेटिन्छन्। त्यसैले पनि चैतलाई आन्दोलनको महिना भनिन्छ।
०३५ सालको चैतमा विद्यार्थी आन्दोलन चर्किदै जाँदा तत्कालीन राजा वीरेन्द्रले एक महिनापछि एक अर्थात् जेठ १० गते पंचायती शासन कि बहुदलीय व्यवस्था भनेर जनमत संग्रह घोषणा गरेका थिए।
त्यसैगरी ०४६ फागुन ७ देखि भएको पंचायत विरुद्वको आन्दोलन पनि चैतमा उत्कर्षमा पुगेको थियो। अनि चैत २६ गते पंचायतले घुँडा टेकेर बहुदल घोषणा भएको थियो।
०६२ सालको चैत २४ बाट सुरू गरिएको दोस्रो जनआन्दोलनले १९ औं दिनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई घुँडा टेकाएर २४० वर्षीय शाहवंशीय राजतन्त्र ढालेको थियो।
यसरी हेर्दा नेपालमा राजनीतिक दलहरूले चैत महिनालाई विशेष अनि आन्दोलनको महिना मान्ने गर्छन्। नभन्दै, यसपटक पनि चैत १५ गते समाजवादी मोर्चाले राजावादीहरूलाई काउण्टर दिन राजधानीमा वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ भने राजावादी दुर्गा प्रसाईंले पनि त्यही दिन जनप्रदर्शनको आह्वान गरेका छन्। त्यस हिसाबले पनि यो चैत महिना भिडन्तको महिना बन्ने देखिन्छ।
राजनीतिमा मात्र नभएर यो सालको चैत महिना नेपाली फिल्म क्षेत्रमा पनि विशेष अनि भिडन्तकै परिस्थिति बन्ने देखिएको छ। किनभने यो चैत महिनामा मात्र ८ वटा लाग्ने छन्। केही हलमा लागिसकेका छन् भने केही लाग्ने तयारीमा छन्।
यस पटक महानायक राजेश हमालदेखि पछिल्लो समयका चर्चित अभिनेताहरू प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल अनि प्रकाश सपुतसम्म हलमा देखिने छन्।
दीपक रौनियार निर्देशित ‘राजागंज’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ। मिलन चाम्स निर्देशित ‘अञ्जिला’ र विक्की महर्जन निर्देशित ‘आउट लः दफा २१९’ भने फागु पर्वको अवसर पारेर बिहीबार नै रिलिज भएका हुन्।
चैत ८ गते दुई फिल्म ‘द्रौपदी’ र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) प्रदर्शन हुने भएका छन्। यी दुवै फिल्मले कथा र एक्सनको हिसाबमा आफूलाई अब्बल दाबी गर्दै आइरहेका छन्।
‘द्रौपदी’ले कर्णालीको कथा उठाएको छ। फिल्मले कर्णालीमा रहेको विवाह संस्कार र त्यहाँको दुःखसमेत देखाउने छ। त्यस्तै, क्राइम थ्रिलर विषयमा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)ले पनि अरूभन्दा फरक किसमको फिल्म बनाएको भन्दै प्रचार गरिरहेको देखिन्छ। यी दुवै फिल्म एकै दिन प्रदर्शनमा आउन लागेका छन्।
ऋषिराज आचार्यको निर्देशन रहेको ‘द्रौपदी’मा निर्देशक आचार्यका अलावा अभिनेत्री आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कविराज भाम, जेल्सन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ। नेपाल आइडलका विजेतासमेत भइसकेका गायन ओड्को यो नै डेब्यु फिल्म हो।
यता, फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) केशव पाण्डेले निर्देशन गरेका छन्। फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको अभिनय छ।
१५ गते ‘डोरी’ रिलिज हुने भएका छन्। ट्रेलर सार्वजनिक गरिसकेको ‘डोरी’ले एक पात्रको संघर्ष, रहस्य र गहन भावलाई देखाउन खोजेको छ। अरुण लामाले निर्देशन गरेको यो फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली लगायत चलेका कलाकारका अलावा राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ।
उता, गायक तथा नायक प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म ‘बसन्त’ले जातीय विभेदको कथा भन्ने छ। २२ गते प्रदर्शन हुने यस फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरे लगायतको अभिनय छ। पछिल्लो समय दुई वटा गीत सार्वजनिक यस फिल्मले प्रचारप्रसारलाई आक्रामक बनाएको छ।
चैत २९ गते रिलिज हुने ‘कर्मा’ एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्म हो। सौरभ चौधरीले निर्देशन गरेको यस फिल्ममा विपिन कार्की, मुकुन भुषाल, उपासना सिंह ठकुरी, दिव्यदेवलगायतको अभिनय छ।
त्यसैगरी पछिल्लो समय चलेका कलाकार लिएर निर्माण गरिएको ‘पिताम्बर’मा प्रेमकथा, सामाजिकदेखि एक्सन कथासम्म देख्न सकिनेछ। कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’मा चलेका प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ। यो फिल्म पनि २९ गते रिलिज हुने छ।
एक दशकदेखि फिल्ममा नदेखिएका महानायक राजेश हमालले फिल्म ‘नरसिंह अवतार’ले सुरुमा हमालकै कारण पनि चर्चा बटुलिरहेको थियो। तर, अहिले भने २९ गतेलाई यसको रिलिज डेट मात्र तोकिएको छ, त्यो पनि समयमै लाग्नेमा निश्चित देखिंदैन निर्माण टिम। एक्सन जनारमा निर्माण गरिएको भनिएको यस फिल्ममा राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल लगायतको अभिनय छ।
यसरी हेर्दा चैत २९ गते तीन वटा फिल्म फिल्म एकै साथ हलमा लाग्ने छन्। एकातिर चलेका कलाकार राखेर बनाइएको ‘पिताम्बर’ छ भने अर्कोतिर लामो समयपछि फिल्ममा देखिन लागेका महानायक राजेश हमालको ‘नरसिंह अवतार’ हलमा लाग्ने छ। यदि तोकिएको मितिसम्म यी फिल्मका निर्माताले आफ्नो अडान छाडेनन् भने यी फिल्मबीच महाभिडन्त पक्का-पक्की छ।