

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजाहरुले वेश्यालय गएर अन्तरराष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको आरोप लगाएका छन्।
सोमबार काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा/महाराजाले विदेशीको चाकडी कसरी गरेका थिए, दरबार हत्याकाण्ड कसले कसरी गरेको हो भन्ने कुरा युवालाई बुझाउन जरुरी रहेको बताए।
‘हामीले आफ्ना छोराछोरी र पुस्तालाई हिजो के भएको थियो कोत पर्व, भण्डारखाल पर्व किन भएको थियो‚ सयौँ भारदारहरुको हत्या कसरी गरिएको थियो? नेपालको नक्शा संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए?‚’ प्रचण्डले भने, ‘हिजोका राजा, महाराजाहरु अन्तरराष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए? यहीँ अस्ति भर्खरै कोलकातामा तिमीहरुको राजाहरुले बेइज्जत नै गरे छिटो फर्काऊ भन्नुपर्ने स्तर कसले गरेको थियो, दरबार हत्याकाण्ड कसले कसरी गरेको हो यो युवालाई बुझाउनुपर्छ।’
उनले राजावादीहरुले गरेको प्रदर्शन संविधानविपरीत भएको दाबी गरे।
प्रचण्डले भने, ‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधानविपरीत काम हो। जनताको सार्वभौमसत्ता खोस्नेतिर गएका छन्। जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ।’