

काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिका–२ मा धर्मवीर ठाकुरले सटर भाडामा लिई लामो समयदेखि आरन व्यवसाय सञ्चालन गर्दै आएका छन्।
उनका बुवा पनि आरनकै काम गर्थे। बुवाले धनगढीमा आरन सुरु गरेका थिए। सानैमा बुबासँगै उनले आरनको सीप सिके।
उनले अहिले आरन व्यवसायमा रु १० लाख लगानी गरेका छन्। रौतहटको गौर स्थायी घर भएका ठाकुरले ३० वर्षदेखि धनगढीमा आरन चलाएरै जीविका गर्दै आएका थिए।
उनको श्रीमती, पाँच छोराछोरी र कामदार गरी जम्मा आठ जनाको परिवार छ। ठाकुरले आरन व्यवसायबाटै परिवार पालिरहेका छन्।
‘छोराछोरीको शिक्षादिक्षा, घरखर्च सम्पूर्ण आरनकै कमाइले धानेको छु’, उनले भने।
पछिल्लो समय कृषि प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै व्यवसाय घटेको उनले बताए।
हिजोआज आधुनिक कृषि औजार बजारमा आइसकेका छन्। जुन औजारको प्रयोगले छिटो र छरितो तरिकाले खेतीपाती गर्न सकिन्छ। पहिले खेत जोत्न हलोको प्रयोग गरिन्थ्यो भने हिजोआज प्राय ट्याक्टर, चम्पा ट्याक्टरद्वारा जोत्ने गरिन्छ।
हातले बनाइएका सामानभन्दा मेसिनले बनाइएका कृषि औजार आकर्षक, चिल्ला हुने भएकाले परम्परागत औजारको बिक्रीदर घटेको उनले बताए।
ठाकुरले पहिले मासिक रु ७० हजारको कारोबार गरी मासिक रु ४० हजार बचत गर्थे। तर अहिले मासिक रु ४० हजार मात्र कारोबार हुने गरेको छ। पहिलेभन्दा आरनको व्यापार खस्कँदो अवस्थामा रहेको उनले बताए।
धनगढीका धेरै आरन व्यवसायी विस्थापित भइसकेको उनले बताए।
‘धनगढी बजार आसपासका क्षेत्रमा पहिले २० जना जति आरन व्यवसायी थिए। अहिले छ जनाले मात्र यो पेसा गर्दै आएका छौँ’, उनले भने।
व्यापार घटेपछि घरभाडा बुझाउन र परिवार पाल्न धौधौ परेको उनले गुनासो गरे।