ग्रुप च्याटमा ‘रास्वपा यो कम्पनी हो पार्टी हैन’ भन्ने श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण-Sutra News

ग्रुप च्याटमा ‘रास्वपा यो कम्पनी हो पार्टी हैन’ भन्ने श्रेष्ठलाई पार्टीले सोध्यो स्पष्टीकरण

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिले सुनसरी जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।



रास्वपा कोशी प्रदेश समितिले श्रेष्ठलाई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको आरोपमा स्पष्टीकरण सोधिएको हो।

श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको भन्दै त्यसको जवाफ २४ घन्टाभित्र दिन भनिएको छ।

‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुप च्याटमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको हो? भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

त्यस्तै, स्पष्टीकरणमा उक्त आरोप पार्टी केन्द्र हो कि प्रदेश नेतृत्व कसलाई लक्ष्य गरिएको हो जबाफ दिन भनिएको छ।

कोशी प्रदेशका कार्यवाहक सभापति गोमा तामाङ (सरिन)ले स्पष्टीकरण सोधेकी हुन्।

‘यहाँले देशकै चौथो ठूलो राष्ट्रिय पार्टीलाई कम्पनी भन्नु पार्टी विधान २०७४ (तेश्रो संशोधन) को धारा २४ को ३ को (छ) को ४ बमोजिम पार्टी, मुलुक र जनताको हितविपरीत हो। पार्टीको नीति, उद्देश्य र कार्यक्रम विपरीत पार्टी सदस्यलाई नैरास्यता बढाउने गतिविधिमा लाग्नुभएकाले यहाँलाई पार्टीले जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने? २४ घन्टाभित्रमा लिखित स्पष्टीकरण पेस गर्न हुन अनुरोध छ। समय सीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा यहाँले पार्टी गतिविधि विपरीत लागेको स्वीकारेको ठानी पार्टी विधान बमोजिम कारबाही गर्ने व्यहोरा जानकारी गराइन्छ,’ स्पष्टीकरणमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट