२६ सयको बिन्दुमा ओर्लियो नेप्से, अबको यात्रा कता ?-Sutra News

२६ सयको बिन्दुमा ओर्लियो नेप्से, अबको यात्रा कता ?

मंगलबार, ५ चैत्र २०८१

मंगलबार, ५ चैत्र २०८१

काठमाडाैं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । मंगलबार ७.६६ अंकले घट्दै नेप्से २६९७.०४ को बिन्दुमा ओर्लिएको छ ।



एकल अंकले परिसूचक घटेपनि मंगलबार सबैजसो समूहको सूचक राताम्मे बने । अन्य समूहको सूचकमा सामान्य ०.११ प्रतिशतले सुधार आउँदा बाँकी १२ समूहका सूचक घटे ।

गिरावटका बिच कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य पनि घटेको छ । मंगलबार १५२ कम्पनीको मूल्य घट्दा ८६ कम्पनीको मात्रै मूल्य बढ्यो भने ५ कम्पनीको स्थिर रह्यो ।

निरन्तर गिरावटका बिच नेप्सेमा कारोबार रकम पनि निकै सुस्ताएको छ । मंगलबार ८२ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमै सीमित भयो ।

मंगलबारको कारोबार रकम ४२ कारोबार दिनयताकै कम हो । यसअघि सोमबार ५ अर्ब ३३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेप्से करिब ११ कारोबार दिनदेखि नै ओरालोमा छ । योबिचमा गत साताको अन्तिम कारोबार दिन (बिहीबार) दोहोरो अंकको सुधार आएपनि त्यसयता भने बढ्न सकेको छैन ।

लगातार गिरावटका बिच नेप्से २६ सयको मनोवैज्ञानिक बिन्दुमा ओर्लिँदै गर्दा लगानीकर्ता पनि निराश देखिएका छन् । जसको कारण कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।

अहिले बैंकको ब्याजदर निकै तल्लो विन्दुमा छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था भइरहँदा अर्थतन्त्रका अन्य सूचकहरु पनि सबल बन्दै गएको देखिन्छ ।

तर, मंगलबारको कारोबारले नेप्सेमा लगानीकर्ता सक्रिय नभएको संकेत गर्दछ । विशेषगरी राष्ट्र बैंकको गर्भनर को आउने ? भन्ने प्रश्नमा लगानीकर्ता रुमलिएको देखिन्छ । जसका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट