

काठमाडौं । होचा कदका, ख्याउटे कुसाङ लामा, सिन्धुपाल्चोकलाई देख्ने जो कोहीले पनि पत्याउँदै, यिनी पनि तस्कर होलान् र ? भनेर । तर, यिनको प्रोफाइल सामान्य खालको देखिँदैन ।
सोमबार मध्यराति काठमाडौंको टोखास्थित झोरबाट कुसाङ लामा समातिँदै गर्दा सुरुमा त प्रहरी नै अलमलमा प¥यो । उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रक खाली थियो ।
ड्राइभरको सिटमा बसेका लामाले पनि ‘सामान लिन रसुवा हिँडेको सर, ट्रक खाली छ’ भनेका थिए ।
तर, गोप्य सूचना पाएको प्रहरीले खाली भएपनि ट्रकको खानतलासी जारी राख्यो । अन्तमा प्रहरीले ड्राइभरकै सिट ‘वोनेट’भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेट्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी रमेश बस्नेतका अनुसार कुसानको साथबाट बरामत भएको यो रकम अहिलेसम्मकै ठूलो रकम हो । उनका अनुसार यति रकम अहिलेसम्म प्रहरीले भेटाएको थिएन ।
यद्यपि, प्रहरीले २५ करोड रकम, रकम ओसार्ने ट्रक र ड्राइभरलाई भेटे पनि रकमको मुख्य मालिकलाई भने भेटाएको छैन । एसएसपी बस्नेतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट कुसाङ भरियामात्रै भएको खुलेको छ ।
“दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्, अहिलेसम्मको अनुसन्धानमा कुसाङ भरिया मात्रै रहेको खुलेको छ, रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन”, एसएसपी बस्नेतले भनेका छन् ।
आफूलाई भरिया मात्रै बताउने कुसाङ यसअघि पनि सुन तस्करी अभियोगमा पक्राउ परी जेल सजाय भुक्तान गरिसकेका अपराधी हुन् । उनी २०७३ पुस १४ मा ७ केजी सुनसहित काठमाडौंको कलंकीबाट समातिएका थिए । रसुवाबाट ६ जना यात्रुसहित ल्याएको बा ८–४–७४३० नम्बरको हाइलक्स गाडीबाट उनलाई प्रहरीले समातेको थियो । सो अभियोगमा कुसाङले ५ वर्ष जेल सजाय भुक्तान गरेका छन् ।
तर, त्यतिखेर उनले कसको भरियाको रुपमा काम गरे, कुरा खुलेन । उनी भरियाकै रुपमा अपराधी करार भइ सजायँ भोगे ।
फेरि पनि उनले भरियाको परिचय दिएका छन् । उनले कसैले गराएको काम गरेको भनेका छन् । तर, कसको भरिया भएर यति ठूलो रकम ओसारे ? यो भने प्रहरीका लागि निकै पेचिलो अनुसन्धान विषय बनेको छ ।
एसएसपी बस्नेतका अनुसार २०७३ को ७ केजी सुन तस्करीको घटना र अहिलेको २५ करोड रकमको कनेक्नस खोज्ने प्रयास भइरहेको छ । ७ केजी सुन रुसुवागढी नाका हुँदै आएको थियो भने २५ करोड रकम पनि रसूवागडीतर्फ गइरहेको थियो ।
यति ठूलो रकम कसको होला ? के प्रहरीले भेटाउन सक्ला मुख्य मालिकलाई ?
कतै, सर्वेन्द्र खनालले २०७३ मा कुसानलाई भरिया मात्रै करार गर्दै गरेको फाइल क्लोज यतिबेला पनि दोहोरिने त होइन ?
सम्बन्धित समाचार