

काठमाडौं । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ र चर्चित टिकटकर कुल ब्वाई अर्थात् पारश बम ठकुरीको अभिनय रहेको ‘होस्टेल-३’ बीच घरेलु बक्स अफिसमा कडा प्रतिस्पर्धा देखिएको छ।
त्यसो त ‘होस्टेल-३’ भन्दा ‘लाज शरणम्’ एक हप्ता पहिला नै रिलिज भएको फिल्म हो। तर, पछिल्लो समय व्यापारमा भने यी दुईबीच कडा प्रतिस्पर्धा देखिएको हो।
बक्सअफिसको तथ्यांकअनुसार ‘लाज शरणम्’ले प्रदर्शनको २० दिनसम्म देशब्यापी झण्डै ३ करोड ८६ लाख रुपैयाँ ग्रस कमाएको छ भने ‘होस्टेल ३’ले प्रदर्शनको ११ दिनसम्म देशब्यापी ३ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको छ।
यसरी यी दुई फिल्मको कमाइमा झण्डै ४० लाख रुपैयाँको अन्तर देखिएको छ।
‘लाज शरणम्’ फागुन १४ र ‘होस्टेल ३’ फागुन २३ गतेदेखि रिलिज भएका थिए।
कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’मा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, अर्जुन घिमिरे पाँडे, सागर लम्साल बले लगायतले अभिनय गरेका छन्।
त्यस्तै, सशान कँडेलले निर्देशन गरेको ‘होस्टेल–३’मा प्रवीण खतिवडा, पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका छ।