

काठमाडौं : नेपाली फिल्ममा जीवन्त अभिनयको ट्याग पाएकी पछिल्लो पुस्ताकी अभिनेत्री हुन् सुरक्षा पन्त। फिल्म ‘अझै पनि’मा सहायक भूमिका निभाएर नेपाली रजतपटमा डेब्यु गरेकी सुरक्षाले पहिलो गाँसमै ढुङ्गा व्यहोर्नुपर्यो। अर्थात् फिल्म ‘अझै पनि’ चलेन।
डेब्यु फिल्मले सफलता नपाएपनि व्यक्तिगत रूपमा सुरक्षा भने फिल्ममेकरहरूको नजरमा अटाइन्। टेलिभिजनमा कार्यक्रम प्रस्तोताको जागिर गरिरहेकी सुरक्षाले ‘अझै पनि’पछि फिल्मकै भविष्य देखिन्। टेलिभिजनमा पछाडी फर्केर हेर्नु परेन।
पहिलो फिल्मपछि सुरक्षाले मौका पाइन् फिल्म, ‘धनपति’मा। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसलेदार फिल्म भन्दा फरक थियो। धनपतिकी श्रीमती बनेकी सुरक्षाले यो फिल्ममा आफूलाई धेरै सुधारिन्। चरित्र निर्माणमा मेहनत गरिन्।
तर फेरि पनि यो फिल्म व्यवसायिक रुपमा चल्न सकेन। दोस्रो पटक पनि सुरक्षालाई धक्का लाग्ने नै भयो। तथापि उनले अझै हार खाइसकेकी भने थिइनन्।
त्यसपछि सबैले नोटिस गर्ने गरी सुरक्षा चर्चामा आइन्। अर्थात् उनले फिल्म ‘आमा’मा जीवन्त अभिनय गरिन्। क्यारेक्टरको लागि कपाल खौरिइन्। एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ। पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ। त्यो सुरक्षामा देखियो।
धेरैले ‘आमा’मा कपाल काटेको दृष्यलाई झोला फिल्मकी गरिमा पन्तसँग तुलना गरे। अनि त चरित्रमा बाँच्ने अभिनेत्रीमा उनको नाम आउन थाल्यो।
त्यसपछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’मा काम गरिन्। तर, दुर्भाग्यवश यी तीनओटै फिल्महरु फेरि फ्लप भए। लगातार तीन फिल्म फ्लप भएपछी उनको करिअरमै प्रश्न जन्मियो। फेरि यसपटक पनि हार मानिनन्।
एक पछि अर्को गर्दै फरक क्यारेक्टार गर्दै आएकी सुरक्षाले अब ‘घर’ फिल्ममा अभिनय गरिन्। जुन हरर जनारामा बनाइएको फिल्म थियो। यसबाट पनि उनको क्यारेक्टरको चर्चा भयो। समीक्षकहरूले उनको तारिफ गरे। फेरि उसैगरी फिल्म भने फ्लप भयो। त्यसपछि उनले काम गरेको ‘के घर के डेरा’ पनि व्यावसायिक रूपमा सफल हुन सकेन।
तर, यसबीचमा उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण थियो। फिल्म नचले पनि उनले निर्वाह गरेका चरित्रहरु चर्चामा आइरह्यो। त्यति मात्र हैन, उनको बौद्धिकताले फिल्म क्षेत्रलाई प्रभावित बनाइरह्यो। उनलाई नेपाली फिल्मकी बौद्धिक नायिकाको समेत ट्याग भिराउन थालियो।
फिल्म फ्लप भइरहे पनि आफ्नो अभिनयका कारण उनले काम पाउन भने छाडेकी थिइनन्। ब्याक टु ब्याक काम आइरहेकै थिए। यहीक्रममा सुरक्षाले अभिनय गरिन्, फिल्म ‘गोपी’मा। समीक्षकको राम्रो प्रशंसा पाए पनि फिल्म गोपीले लगानी समेत सुरक्षित गर्न सकेन। तर सुरक्षाको अभिनय र चरित्रले भने गोपी फिल्ममा प्रशंसा बटुल्यो।
चरित्रमा जीवन बाँच्ने क्रममा उनले ‘बहाव‘ फिल्ममा काम गरिन्। फिल्म ‘बहाव’मा उनले कलेज पढ्ने आफूभन्दा निकै कम उमेरकी केटीको भुमिका निर्वाह गरिन्। जहाँ उनले साइकोलोजीकल थ्रीलर भाइब्स दिन सफल भइन्।
‘बहाव‘ फिल्मबारे सुरक्षाले भनेकी छन्, ‘कार्यशालादेखि नै सुगासँग भए। एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन। म अन्योल भएँ र डराएँ।’
अनि ‘बुलाकी’सम्म आइपुग्दा त झन् उनको क्यारेक्टर हिट मात्र हैन, सुपरहिट नै भइसकेको थियो।
किनभने ‘बुलाकी’ फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने क्यारेक्टर थियो, जुन धेरै कलाकारले बिगार्ने गरेका छन्। अथवा अभिनयका लागि अभिनय जस्तो मात्र गर्ने गरेका छन्, तर सुरक्षाको अभिनयमा वास्तविकता झल्कियो। धेरै फिल्मकर्मीले दङ्ग खाए। त्यस फिल्ममा सुरक्षाले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीत समेत गाएकी छन्।
‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु’, सुरक्षाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु।’
यस बीचमा सुरक्षाले पाएका काममा फरक गर्न कोसिस गरिरहिन्। पात्रलाई न्याय दिइरहिन्। अभिनयलाई मर्न दिइनन्। क्यारेक्टरका लागि उनले कतिसम्म गरेकी छन् भने, फिल्ममा चुम्बनका सिन दिन समेत पछि हटिनन्। ‘घर’ जस्तो हरर फिल्ममा समेत उनले खुलेर चुम्बन दिएकी छन्।
बहावमा दिएको चुम्बनले त तहल्कै मच्चाएको थियो। ‘बुलाकी’ फिल्ममा पनि बेडसिनसँगै उनका चुम्बनका दृश्य छन्।
यसरी हेर्ने हो भने पात्रलाई जीवन्त बनाउन सुरक्षाले गरेको मेहनत अझै प्रष्ट हुन्छ। तर पनि ती फिल्मले पैसा कमाउन भने सकेनन्।
फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिबल’मा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो अभिनेत्री हुन् सुरक्षा। सुरक्षा ‘कान्स फिल्म फेस्टिभल २०२२’मा नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दै सहभागी भइन्। र, त्यसपछि अभिनय गरेका उनका फिल्मले पनि आर्थिक रुपमा सफलता पाएनन्।
भलै, यसै क्रममा काठमाडौंको रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘जुलेबी’मा सुरक्षाले यौनकर्मी महिला पात्रको भूमिका निर्वाह गरिन्। त्यस क्रममा आफूले अभिनय गरेका फिल्ममध्ये जुलेबीमा यौनकर्मीको भूमिका निर्वाह गर्न गाह्रो लागेको उनको बटुलिन्।
‘यसमा समाजको संवेदनशील पात्रको भूमिका छ। कोही यौनकर्मीसँग बसेर हामी फिल्म बनाउँदैछौं भनेर कुरा गर्दा पनि उहाँहरू हच्किने डर रहन्थ्यो। उहाँहरू खुलेर कुरा गर्ने सम्भावना कम रहन्थ्यो। यद्यपि जति धेरै इन्फरमेसन आयो, त्यति पात्रलाई न्याय गर्न सकिन्छ। अलिकति चुक्यो भने राम्रो देखिँदैन। त्यसैले शुरूआतमै त्यो पात्रको तयारी गर्न गाह्रो हुने लागेको थियो, सुरक्षाले भनिन्।
‘जुलेबी’ पनि आर्थिक रुपमा सफल बन्न सकेन। त्यसको लामो समयपछि अहिले उनै सुरक्षाले अभिनय गरेको फिल्म ‘खेल’ आउदै छन्।
सार्वनजिक पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रंगको संयोजन छ। यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाँया देखिन्छ। पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ। अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा फिल्मकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ।
‘खेल’ शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ। तर, फेरि पनि यो फिल्मले व्यावसायिक सफलता पाउँछ वा पहिलाको जस्तै क्यारेक्टर हिट भएर फिल्म फ्लप हुन्छ, त्यो भने वैशाख १२ सम्म कुर्नु पर्ने छ।