

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाउन थालेको छ ।
मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले बुधबार थप प्रतितोला ८ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि एकै दिन प्रतितोला ४ हजार रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । जुन शुक्रबारसम्मकै सबैभन्दा उच्च मूल्य थियो ।
त्यसयता मूल्यमा सामान्य करेक्सन हुँदै पुनः मंगलबार सुनको मूल्यले उचाई लिएको थियो । यद्यपि, मंगलबारको त्यो रेकर्ड भने बुधबार ब्रेक भएको छ ।
सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरिरहँदा बुधबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो । बुधबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य ३ हजार ३७ डलर पुगेको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा २३ डलरले बढी हो ।