

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था बनेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकलाई सम्बोधनका क्रममा खड्काले यस्तो बताएका हुन् ।
भारतबाट विद्युत आयात रोकिने वित्तिकै यहाँ लोसेडिङको अवस्था हुने उनको भनाई छ । अहिलेकै अवस्थामा पनि उद्योगधन्दातर्फ विद्युत कटौती गरेर घरमा विद्युत दिइएको उनले बताए ।
“अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ, हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ, अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ”, बैठकलाई सम्बोधनका क्रममा उनले भने, “हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।”
उनले सरकारले उत्पादन गरेको विद्युतभन्दा निजी क्षेत्र र भारतबाट आपूर्ति गरेको विद्युतले व्यवस्थापन गरिरहेको बताए । “सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ, २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ”, उनले भनेका छन् ।
खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको भन्दै नेपालमा लोडसेडिङ हटाउन विगतमा भारत र निजी क्षेत्रले सहयोग गरेको दाबी गरे । घिसिङले जनतालाई झुक्याइरहेको आरोप खड्काको छ ।
“निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ, उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है, बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ”, उनले भनेका छन्, “कुलमानलाई होइन, विद्युतमा सहयोग गर्ने भारत र निजी क्षेत्रलाई धन्यवाद दिऊँ ।”
डिडिए गरौं भनौं भन्दा घिसिङ नमानिरहेको उनले बताए । उनका अनुसार महालेखा परीक्षकको प्रतिवेदनअनुसार विद्युत प्राधिकरण घाटामा रहेको उनले बताए ।
घिसिङ माओवादीको सहयोग र बाहिरको लोकप्रियताको आधारमा मनपरी हिँडिरहेको खड्काको आरोप छ ।