

काठमाडौं । नेपालमा भोलि चैत ७ गते देखि एसइई परीक्षा सञ्चालन हुँदै छ। यो वर्ष देशभरबाट पाँच लाख २२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन। सर्वप्रथम सूत्र मिडियाको तर्फबाट परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई परीक्षा सफलताको हार्दिक शुभकामना !
नेपालमा एसइई परीक्षाको आफ्नै इतिहास छ। १५/२० वर्ष अगाडिसम्म एसइई परीक्षालाई धेरै महत्वका साथ हेरिन्थ्यो। तत्कालीन श्री ३ जङ्गबहादुर राणाले बि.सं. १९१० मा युरोपका केही मुलुक र बेलायत भ्रमण गरेर फर्किएपछि नेपालमा शिक्षा कानुन, सामाजिक सेवा, स्थानीय विकास र राजनीतिक क्षेत्रमा धेरै सुधारका कामहरू प्रारम्भ भएका थिए। त्यसको ज्वलन्त उदाहरण नेपालमा मुलुकी ऐनको प्रारम्भ र अङ्ग्रेजी भाषा शिक्षाको सुरुवात नै थियो ।
जङ्गबहादुरको बेलायत यात्रापछि भनिन्छ नेपालमा पश्चिमा मुलुकहरूको आधुनिक सभ्यताको देखासिकी सुरु भयो। जसको कारणले नेपाललाई आधुनिक युगमा प्रवेश गर्न मद्दत मिल्यो। त्यति बेला राणाहरूको थापाथली दरबार भित्र तिनका छोराछोरीलाई अङ्ग्रेजी शिक्षा सिकाउन प्रारम्भ गरिएको थियो। त्यो भन्दा अगाडि संस्कृत भाषा र केही नेपालीबाट शिक्षा दिने प्रचलन थियो, त्यो पनि सर्वसाधारणले भने पढ्न पाउँदैनथे ।
राणाहरूको दरबारबाट यसरी अङ्ग्रेजी शिक्षा अध्ययनको सुरुवात भएको थियो। यसलाई दरबारीया शिक्षा पनि भनिन्थ्यो । दरबारबाट सुरु भएको स्कुललाई दरबार स्कुल भनेर पछि भन्न थालियो । शिक्षाको लागि भनेर वि.सं. १९५१ सालमा दरबार स्कुलको आफ्नै भवन निर्माण भयो । रानीपोखरी छेउमा अवस्थित यो स्कुललाई हामी अहिले दरबार हाई स्कुलको नामबाट चिन्छौ। पछि क्रमशः सर्वसाधारणको लागि पनि यो स्कुल खुला गरियो। नेपालीका छोराछोरीले शिक्षा आर्जनका लागि भनेर सुरुवात गरेको पहिलो स्कुलको नाम नै दरबार स्कुल हो ।
त्यति बेला अहिलेको जस्तो एसइई सरहको म्याट्रिकुलेसनको परीक्षा भारतको कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो। वि.सं. १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुर राणाका भतिजा खड्ग शमशेर पहिलो पटक गएका थिए । तर प्री बोर्ड परीक्षामा भने उनी अनुत्तीर्ण भएको कारण म्याट्रिकुलेसनमा भने भाग लिन सकेनन्। वि.सं. १९३७ मा म्याट्रिकुलेसन परीक्षा दिन चन्द्रशमशेर कलकत्ता पुगे उनी भने उत्तीर्ण भए । चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो पटक म्याट्रिक पास गर्ने व्यक्ति भए ।
वि.सं. १९९० कार्तिक १६ गते जुद्ध शमशेरको पहलमा नेपालमै पहिलो पटक एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन भयो। अब एसएलसी परीक्षा दिन भारतको कलकत्ता जानुपर्ने भयो। त्यताबाट सम्बन्धन प्राप्त गरेर यो परीक्षा अब नेपालमा नै सुरु भयो। तर परीक्षाको सम्पूर्ण तयारी, प्रश्न पत्र निष्कासन, परीक्षा चेक जाँच र परीक्षाफलको नतिजा भने पटना विश्व विद्यालयले नै गर्थ्यो । परीक्षाको सुरु हुनु अगाडि उतैबाट सुपरिटेण्डेण्टहरु नेपाल आउँथे परीक्षा लिन्थे र उत्तर पुस्तिका लिएर पटना फर्कन्थे । नतिजा पटना विश्व विद्यालयले नै प्रकाशित गर्दथ्यो । नेपालले यसको सम्पूर्ण जिम्मेवारी भने वि.सं. २००३ सालबाट मात्रै पायो। पछि यो म्याट्रिकुलेसन परीक्षाको नाम परिवर्तन भयो र एसएलसी राखियो। वि.सं. १९९० सालमा परीक्षा बोर्डको गठन भए पछि नेपालमा नै परीक्षा लिने तयारी भयो ।
नेपालमा वि.सं. १९९० सालको महाभूकम्पका कारण एसएलसी परीक्षा सर्यो। वि.सं. १९९१ को पहिलो एसएलसी परीक्षामा ३४ जना विद्यार्थी सम्मीलित थिए। नेपालमा भएको पहिलो एसएलसी परीक्षामा भक्तपुरका पुष्पभक्त मल्लले इतिहासमा पहिलो बोर्ड फस्ट हुने नेपाली विद्यार्थीको सौभाग्य पाए । वि.सं. २००७ सालदेखि नेपाल राजपत्रमा एसएलसी परीक्षाको नतिजा प्रकाशित हुन थाल्यो। गोरखापत्र प्रकाशन हुन थालेपछि गोरखापत्रमा नतिजा निकाल्ने सुरुवात भएको थियो।
प्रतिक्रिया दिनुहोस्