ग्रुपमा प्रश्न गरेकै कारण रास्वपाले स्पष्टीकरण सोधेपछि श्रेष्ठले भने- मलाई पाखण्डी भन्नु चाहिँ अनुशासन हो?-Sutra News

ग्रुपमा प्रश्न गरेकै कारण रास्वपाले स्पष्टीकरण सोधेपछि श्रेष्ठले भने- मलाई पाखण्डी भन्नु चाहिँ अनुशासन हो?

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । व्ह्वाट्सएप ग्रुप च्याटमा नेतृत्वमाथि प्रश्न गरेकै कारण स्पष्टीकरण सोधिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवन कुमार श्रेष्ठले ७ प्रश्नको जबाफ मागेका छन्।



रास्वपा कोशी प्रदेश समितिले श्रेष्ठलाई सोमबार स्पष्टीकरण सोध्दै २४ घन्टाभित्र जबाफ दिन भनेको थियो। श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ।

‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुप च्याटमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको हो? भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

स्पष्टीकरण सोध्ने कोशी प्रदेशका कार्यवाहक सभापति गोमा तामाङ (सरिन)लाई सम्बोधन गर्दै श्रेष्ठले ७ प्रश्नको जबाफ माग गरेका हुन्।

हेर्नुहोस् श्रेष्ठको पत्रः

श्री गोमा तामाङ (सरिन)
कार्यवाहक सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी
कोशी प्रदेश

तपाईंले लेखेको मिति २०८१/१२/०४ को पत्र (प.स. ३४ च.न. २०८१/२०८२) प्राप्त भयो, जसमा मलाई पार्टीको सुनसरी जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ। तर, उक्त पत्र व्यक्तिगत रूपमा पठाउने सट्टा कोशी प्रदेशको आधिकारिक ह्वाट्सएप समूहमा सार्वजनिक रूपमा साँझ ८:४५ बजे राखिनु केबल अनुशासनहीनता मात्र होइन, नेतृत्वको नैतिक स्तरमाथि पनि प्रश्न उठाउने विषय हो।

पार्टी स्थापना कालदेखि नै म पार्टीको विधान र नियमअनुसार काम गर्दै आएको छु। २०७९ सालको संघीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष रूपमा उम्मेदवारी दिएको, सुनसरी जिल्ला संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरेको र मिति २०८१/०९/ २६ मा सर्वसम्मत रूपमा जिल्ला सभापति चयन भएको तथ्य तपाईं लगायत सरोकारवाला सबैलाई ज्ञात नै छ।

तर तपाईंको पत्रमा मलाई पार्टी हित विपरीत कार्य गरेको आरोप लगाइएको छ, जसले मेरो मात्र होइन, पार्टीलाई निःस्वार्थ रूपमा योगदान दिइरहेका इमानदार कार्यकर्ताहरूको मनोबल गिराउने काम गरेको छ। पार्टीको २०७९ (तेस्रो संशोधन) को विधान, धारा २९ (३) (छ) (४) मा पार्टी, मुलुक र जनताको हितका लागि आवश्यक सृजनात्मक कार्य गर्न सक्ने व्यवस्था छ, जसअनुसार म आनो जिम्मेवारी निर्वाह गरिरहेको छु।

अब के निर्वाचित जिल्ला सभापतिलाई व्यक्तिगत स्वार्थका आधारमा कारबाहीको धम्की दिनु विधिसम्मत हो? के पार्टीको निर्णयहरू पदाधिकारीहरूको व्यक्तिगत आकांक्षाभन्दा माथि राख्न नहुने हो? के आन्तरिक छलफल बिना सार्वजनिक रूपमा कुनै कार्यकर्ताको इज्जतमा प्रहार गर्नु लोकतान्त्रिक संस्कृति हो?

पार्टी विधि, प्रक्रिया र संगठनात्मक संरचनाभन्दा माथि कोही पनि हुन सक्दैन। विधि मिचेर गरिएको कुनै पनि कार्य पार्टीको स्थायित्वका लागि हानिकारक हुनेछ। यो स्पष्टीकरण सोध्ने प्रक्रियामा भएका गम्भीर त्रुटिहरू सुधार्न तपाईं स्वयं अग्रसर हुनु पर्ने होइन र?

यसै सन्दर्भमा, निम्न सात प्रश्नहरूको उत्तरको अपेक्षा गर्दै अहिले पार्टी, पार्टी जस्तो नभएर कम्पनी जस्तो भएको मैले व्यक्तिगत रूपमा गरेको हुनाले कोशी प्रदेशमा पार्टी बनाउनका लागि नेतृत्व सच्चिनु अहिलेको आवश्यकता हो भन्ने मेरो व्यक्तिगत ठहर छ।

अहिलेको मेरो ठम्याइले पार्टीलाई असर गरेको भए म क्षमायाचना गर्दछु।

१) प्रदेश कार्यवाहक सभापतिले व्यक्तिगत रूपमा सोध्नु पर्ने स्पष्टीकरण सार्वजनिक रूपमा समूहमा पोस्ट गर्नु कत्तिको नैतिक र संगठनात्मक रूपमा उचित हो?

२) प्रदेश समितिको कार्यसम्पादन बैठकमा छलफल नगरी व्यक्तिगत स्वार्थका लागि कारबाहीको धम्कीपूर्ण पत्राचार गर्नु पार्टीको कार्यशैलीसँग मेल खान्छ?

३) प्रदेश नेतृत्वले विभिन्न जिल्लामा सम्पन्न जिल्ला भेला केन्द्रबाट प्राप्त कार्यविधि विपरीत गरिएकालाई विधि सम्मत मान्न सकिन्छ?

४) प्रदेशका विभिन्न विभागमा सम्बन्धित जिल्लाको सिफारिस नलिइ मनोनयन गरिनु विधिसम्मत छ?

५) कार्यवाहक सभापतिले निर्वाचित जिल्ला सभापतिलाई पाखण्डी, नालायक जस्ता अपमानजनक शब्द प्रयोग गरि सार्वजानिक रूपमा प्रस्तुत हुनु पार्टीको अनुशासनभित्र पर्छ? (अभिव्यक्त गरिएका प्रमाणहरू सुरक्षित छन्)

६) निर्वाचित जिल्ला सभापतिलाई बिनाकारण आरोप लगाई स्पष्टीकरण सोध्न कार्यवाहक प्रदेश सभापतिको अधिकार क्षेत्रभित्र पर्छ? प्रदेश अनुशासन आयोग समक्ष प्रमाण सहित उजुरी गर्नुपर्ने होइन र?

७) कार्यवाहक सभापतिले प्रदेशका कुनै सदस्यलाई प्रदेश पदाधिकारीको रूपमा कार्यवाहक भनी अनुमोदन गर्नु कतिको विधान सम्मत छ?

मैले आफ्नो स्पष्टीकरण पेस तपाईको अपेक्षा अनुरूप प्रदेश समितिको आधिकारिक ग्रुपमार्फत पेस गरेको छु। श्रीमानको जो इच्छा।

जीवन कुमार श्रेष्ठ, सभापति, सुनसरी जिल्ला समिति।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट