

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने भनेपछि अहिले नागरिक तहमा लोडसेडिङको त्रास बढेको छ। तर, नेपाल विद्युत् प्राधिकरणले त्यसलाई नकारिदिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकलाई सम्बोधनका क्रममा मन्त्री खड्काले भारतबाट विद्युत आयात रोकिने वित्तिकै यहाँ लोसेडिङको अवस्था हुने भनेका थिए।
तर घिसिङले भने राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो आयात भइरहेकाले लोडसेडिङ नहुने बताए।
‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। हाम्रा सबै पावरप्लान्टहरु राति चल्छन्’, उनले भने, ‘भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ। त्यसकारण लोडसेडिङ हुँदैन।’
यता, मन्त्री खड्काले भने अहिलेकै अवस्थामा पनि उद्योगधन्दातर्फ विद्युत कटौती गरेर घरमा विद्युत दिइएको बताएका थिए।
‘अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ, हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ, अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ’, बैठकलाई सम्बोधनका क्रममा उनले भने, ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।’
खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको भन्दै नेपालमा लोडसेडिङ हटाउन विगतमा भारत र निजी क्षेत्रले सहयोग गरेको दाबी गरे। घिसिङले जनतालाई झुक्याइरहेको आरोप खड्काको छ।
त्यसको जवाफमा कुलमानले भने लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरे। उनका अनुसार एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था छैन।
‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ। १००० प्लस रनअफ रिभर गरी १६/१७ सय मेगावाट आयोजना चल्छ।’
यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ।