भुँईको टिप्न खोज्दा पोल्टाको पनि गुमाएका वामदेव, एमालेले झुक्याउँदा यता न उताको भए-Sutra News

भुँईको टिप्न खोज्दा पोल्टाको पनि गुमाएका वामदेव, एमालेले झुक्याउँदा यता न उताको भए

बुधबार, ६ चैत्र २०८१

बुधबार, ६ चैत्र २०८१

काठमाडौं । कुनै बेला एमाले र त्यसपछि नेकपाका निर्णायक नेता थिए, वामदेव गौतम। उनी जता ढल्किन्थे, उतै बहुमत पुग्थ्यो। तर, नेकपा विभाजनयता गौतम यता न उता भएका छन्।



एमाले विभाजनका बेला उनी एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीमा जाने तरखरमा थिए। तर, एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त नस्वीकारेपछि अन्तिम समयमा उनी त्यहाँ गएनन्।

त्यसपछि फेरि गएको पुसमा उनी एकीकृत समाज्वादीमा जाने अन्तिम तयारी गरिरहेका थिए। अन्तिम समयमा आएर एमालेमा जाने भन्दै त्यहाँ गएनन्। अन्तत: पहिले आफैंले एकीकृत समाजवादीलाई झुक्याए, अहिले एमालेबाट झुक्क्याइए।

त्यसबेला राष्ट्रिय एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सांसद गौतम एमालेमा जान हतारोमा थिए। लामो समय कम्युनिस्ट पार्टीको राजनीति गरेर कुनै न कुनै रूपमा शक्तिमै रहेका गौतम तत्कालीन नेकपा फुटेपछि शक्तिहीन थिए। त्यसपछिको चार वर्ष उनी यस्सै भौतारिए।

त्यसैले पनि उनी शक्तिको खोजीमा भौतारिरहेका थिए। कहिले एमाले त कहिले एकीकृत समाजवादीमा जाने उनी आन्तरिक छलफल गरिरहेका थिए।

एमाले र माओवादी केन्द्र अलग-अलग भएपछि एमाले उपाध्यक्षबाट राजीनामा दिएर गौतमले २०७८ भदौमा एकता राष्ट्रिय अभियानको घोषणा गरे। त्यसपछिको समय फुटेको नेकपालाई एकीकृत गर्ने भन्दै अभियानमै चलाए।

अन्तत: नेकपा एकता सम्भव नभएपछि उनी अरू कुनै पार्टी प्रवेश गर्ने मुडमा देखिए। अनि वार्ता सुरू भयो, एकीकृत समाजवादीसँग। गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पटक-पटक छलफल गरे। वार्ता सकारात्मक भएको पनि भनेका थिए।

माधव नेपालसँगको त्यस बेलापछि गौतमले भनेका थिए, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

एकीकृत समाजवादीले पनि उनलाई तेस्रो वरियता दिन तयार थियो। एकीकृत समाजवादीसँग पार्टी एकता हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतमले एकाएक एमालेमा जाने इच्छा राखे। एकीकृत समाजवादीमा छलफल भइरहेकै बेला उनी एमालेमा जान हतारिए।

तर, त्यही बीचमा उनले बोली फेरेर भने ‘एकीकृत समाजवादी जाने फाइनल भएको छैन, एमालेसँग पनि वार्ता भइरहेको छ, जसले पहिला बोलायो उतै जान्छु।’

नभन्दै, एमालेमा जाने गौतमको इच्छा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुग्यो। अनि ओली र गौतमबीच भेटवार्ता भयो। तर, अड्चन बन्यो एमालेमा गौतमको हैसियत के बन्ने भन्नेबारे। गौतमको प्रधानमन्त्री ओलीसँग पनि पदीय हैसियतबारे मूर्त कुराकानी भएन।

त्यसपछि एमालेको सचिवालय बैठक बस्यो। तर, सचिवालय बैठकले वामदेवलाई पार्टीमा भित्र्याएर दिने पद नै नभएको निष्कर्षसहित उनी नेतृत्वको अभियानसँग सहकार्य मात्रै गर्ने निर्णय गर्यो।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वामदेव गौतम एमालेमा आउने कुराकै विरोध गरे। वामदेवलाई ‘उपादेयताविहीन’ नेताको संज्ञा दिँदै आएका पोखरेलले उनलाई पार्टीमा भित्र्याउन नहुने बताएका थिए। किनभने गौतम एमालेमा फर्किंदा दोस्रो वरीयता चाहन्छन्। आफ्नो वरीयता ईश्वर पोखरेलले सहजै हस्तान्तरण गर्न चाहँदैन।

अन्तत: एमालेमा फर्किने गौतमको महत्वाकांक्षा अलमलमा पर्यो। उनी यता न उताको भए।

त्यसपछि निष्क्रिय जस्तै बनेका वामदेवले आज एकीकृत समाजवादीमा जान नदिन एमालेले प्रस्ताव गरेको खुलेको बताए।

राष्ट्रियसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभए पनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको आरोप लगाए। उनले अब तत्काल कुनै पनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए।

‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो। निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो। त्यही बेलामा एमालेबाट प्रस्ताव आयो,’ उनले भने, ‘त्यो प्रस्ताव बामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ। अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं।’

उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट