

काठमाडौं । कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई भारतको एक अदालतले २० वर्ष जेल सजाय तोकेको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ ।
२५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ । पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो ।
अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैसला छ ।