

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिन माग गरेका छन् । बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका हुन् ।
कांग्रेस सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोमको घर भत्काएको भन्दै आपत्ति जनाए । उनले पीडित परिवारलाई न्याय दिन माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पनि उक्त घटनाको भर्त्सना गर्दै कारबाहीको माग गरेका छन् । जनमत पार्टीका सांसद अब्दुल खानले प्रहरी चौकी र स्थानीय अगुवाले मौन सहमति जनाएको भन्दै आपत्ति जनाए ।
“घर बनेको ठाउँको माटो पनि अपवित्र हो भनेर फालिन्छ,” उनले भने, “एउटा जनप्रतिनिधिबाट यस्तो भइरहेको छ ।” आकस्मिक समयमा अधिकांश सांसदहरूले उक्त घटनाप्रति आपत्ति जनाएका छन् ।