

काठमाडौं । मिनी संसदीय चुनावको रूपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । बिहीबार दिउँसोसम्म २९५ क्याम्पसको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
जसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबैभन्दा बढी ११३ क्याम्पसको नेतृत्व जितेको छ भने नेकपा (एमाले) निकट अनेरास्ववियुले ९१ क्याम्पसको नेतृत्व जितेको छ । नेविसंघ र अनेरास्ववियुलाई पछ्याउँदै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ८३ क्याम्पसको नेतृत्व जितेको छ ।
अहिलेसम्मको मत परिणामलाई हेर्दा, नेविसंघ र क्रान्तिकारीका लागि यो निर्वाचन निकै फलदायी बनेको देखिन्छ भने अनेरास्ववियुका लागि केही निराशा जगाउने खालको छ ।
२०७९ मा ३५५ क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुले १३३ क्याम्पसको नेतृत्व जित्दा नेविसंघले ८९ र क्रान्तिकारीले ६५ क्याम्पसको नेतृत्व जितेका थिए । तत्कालीन चुनावको नतिजालाई केलाउँदा नेविसंघ र क्रान्तिकारीले थप क्याम्पसहरूको नेतृत्वमा जित हात पारेका छन् भने अनेरास्ववियु निकै खुम्चिएको छ ।
अहिलेको स्ववियु चुनावमा कांग्रेस र एमाले निकटका विद्यार्थीहरूले कतिपय क्याम्पसहरूमा तालमेलसमेत गरेका थिए । तर, माओवादी निकटको विद्यार्थी संगठन भने एक्लै चुनावी प्रतिस्पर्धामा थियो ।
एक्लै चुनावी प्रतिस्पर्धामा हुँदा पनि क्रान्तिकारीले दुवै संगठनलाई बलियो चुनौती दिएको छ । एक्लै चुनावी प्रतिस्पर्धामा हुँदा पनि क्रान्तिकारी निकै बलियो देखिन्छ ।
सायद, चुनावी परिणामबाट उत्साहित भएर होला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘लहर उत्साहप्रद’ भन्दै खुसी साटेका छन् ।
“भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ, कयौँ क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ”, अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्थानीय तहको उपनिर्वाचनले पनि देखाउँछ अवस्था
गत मंसिरमा स्थानीय तहको विभिन्न रिक्त ४४ पदका लागि उपनिर्वाचन भएको थियो । जसको परिणाममा माओवादी केन्द्र दोस्रो ठूलो दल मात्रै बनेन, माओवादी केन्द्रले दुई ठूला दललाई निकै बलियो गरी चुनौती दियो ।
सत्तारुढ कांग्रेस र एमाले तालमेलसहित चुनावी मैदानमा हुँदा माओवादी केन्द्र एक्लैले दुवैलाई सकसमा पुर्यायो । जहाँ सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले यसअघि जितेका ठाउँ सुरक्षित गर्न नसक्दा माओवादी केन्द्रले उत्साहपूर्ण शैलीमा जित हात पारेको थियो ।
१ गाउँपालिका अध्यक्षसहित माओवादी केन्द्रले १ उपमेयर, दुई उपाध्यक्षमा र ७ वडाध्यक्षमा जित हात पारेको थियो । माओवादीले यसअघि जितेका केही वडा हारे पनि उसले धेरै थपेको थियो ।
सँगै, सबैजसो ठाउँमा पनि माओवादी मुख्य प्रतिस्पर्धीको हैसियतमा देखिएको थियो । जुन चुनावले माओवादीको पक्षमा राम्रो जनलहर बढेको देखाउँछ ।
बढी मत भएको मधेसतर्फ ध्यान
पछिल्ला आम निर्वाचनलाई केलाउँदा मधेसमा माओवादी केन्द्र निरन्तर ओरालो यात्रामा देखिन्छ । प्रत्येक निर्वाचनको परिणाममा माओवादी केन्द्रले मत घटाउँदै गइरहेको छ ।
२०७९ को आम निर्वाचनमा संघतर्फ प्रत्यक्षमा शून्य बनेको माओवादी केन्द्र समानुपातिकतर्फ पनि जम्मा १ लाख ४८ हजार मतमा सीमित भएको थियो ।
जबकि २०७० मा ८ जिल्लामा ८ वटै सिट जितेको माओवादी केन्द्रले २०७४ मा पनि ५ सिट पाएको थियो । तर, २०७९ को चुनावमा आउँदा माओवादी केन्द्र शून्य बन्यो । सँगै, प्रदेशसभामा माओवादी केन्द्रले ४ सिट ल्यायो ।
यतिबेला माओवादी केन्द्र मधेसमा बिग्रिएको छविलाई सुधार्ने प्रयासमा छ । माओवादी केन्द्रले मधेस केन्द्रित अभियान चलाइरहेको छ । जुन अभियानलाई हेर्दा, माओवादी केन्द्रको पक्षमा निकै राम्रो जनलहर देखिन्छ ।
जसको प्रभाव अहिलेको विद्यार्थीको चुनावमा समेत देखिएको छ ।