

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आफ्नै पार्टी कार्यालय सानेपामा बिहीबार कालो झण्डा देखाइएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालय बाहिरबाट प्रवेश गरेका एक हुल प्रदर्शनकारीले खेलकुदमन्त्री चौधरीको विरोधमा कालोझण्डा देखाएर नाराबाजी गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।
मन्त्री चौधरी बिहिबार बिहान उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँगै कीर्तिपुर क्रिकेट मैदान अवलोकन गर्न पुगेका थिए । अवलोकनको क्रममा उनले रंगशालालाई अहिलेको सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाट फ्लड लाइट र प्यारापिट बनाउने निर्णय भएको भन्दै तोकिएको समयभित्रै काम सम्पन्न गरिने समेत बताएका थिए ।