

काठमाडौं । पछिल्लो समय मुलुकमा राजावादी पक्षधरको गतिविधि बढ्दै जाँदा सत्तारुढ दल नेकपा (एमाले) ले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो।
तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो । यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ ।
एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
के-के छ एमालेको कार्यक्रम ?
१.प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।
२.सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।
३.चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्याली गर्ने ।
४.चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने । काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।