२१औं शताब्दीलाई लज्जित बनाउने सिराहाको महायज्ञ प्रकरण : धर्मको आडमा दलितमाथि ज्यादती कहिलेसम्म ?-Sutra News

२१औं शताब्दीलाई लज्जित बनाउने सिराहाको महायज्ञ प्रकरण : धर्मको आडमा दलितमाथि ज्यादती कहिलेसम्म ?

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । सिराहाको औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितले घर भत्काउन लगाएर उठीवास गराए। उनीहरू करिव २५ वर्षदेखि त्यहाँ सानो छाप्रोमा बस्दै आएका थिए।



विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दीपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडीएको छ। त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन्। अर्थात उनी हिन्दू धर्म मान्छन्। उनलाई भगवानप्रति विश्वास छ।

तर, आज उनलाई त्यह्जी धर्मको आडमा उठीबास गराइयो। किनभने त्यहाँ यहि चैत १७ गतेदेखि १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। त्यसैले उनलाई अछूत डोम भन्दै उनको घर भत्काइयो।

दीपक त्यही महायज्ञ स्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काइदिएका हुन्।

आयोजकले मलिकको घर मात्रै भत्काएनन्, अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ। दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको हो।

आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ।

थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दीपक श्रीमान्-श्रीमतीसहित सातजनाको परिवार बस्दै आएको थियो।

‘वर्षौँदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरूसहित यहाँ बसिरहेको छु। बिजुली छैन। पानी छैन। गाउँबाट पानी मागेर एक महिनादेखि गुजारा गरिरहेको छु। बिजुली नभएकाले दिउँसै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु,’ दीपकी श्रीमती अनिताले भनिन्।

पुरानो वासस्थानबाट तिमीहरू हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्वर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको अनिताले बताइन्।

‘यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काइयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु’, उनले भनिन् ।

यसबारे पालिका अध्यक्ष शिवजी यादव मलिक परिवारको घर भत्काएको स्वीकार गरे। उनले भने, ‘त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। चारैतर्फ पर्खाल लगाउनुछ। त्यसकारण भत्काएका हौँ ।’

प्रहरी पुगेपछि भागे गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र पुजारी

विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पण्डितले तत्काललाई महायज्ञ रोक्न निर्देशन दिएका छन्। उनले भने, ‘यो महायज्ञ विवादित भयो। तत्काललाई महायज्ञ रोक्न केन्द्रबाटै निर्देशन आएको छ।’

प्रहरी उपरीक्षक पण्डितका अनुसार बिहीबार दिउँसो घटनास्थल पुग्दा महायज्ञ आयोजक र गाउँपालिका अध्यक्ष पनि सम्पर्कमा आएनन्। प्रमु्ख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी उपरीक्षक पण्डित गाउँपालिका कार्यालय पनि पुगे। तर त्यहाँ पनि नभेटिएपछि भागेको थाहा भएको पण्डितले बताए।

अहिले भागेका तीनै जनालाई सम्पर्कमा ल्याउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई भनिएको पण्डितले बताएका छन्।

महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किएका थिए। यो सरासर छुवाछुतसम्बन्धी अपराध गरेको दलित अधिकारकर्मीहरू बताउँछन्।

यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगलेसमेत छानबिन थालिसकेको छ।

संसदमा दलितहरूको एकै स्वर : अध्यक्ष, पूर्ववडाध्यक्ष र पुजारीलाई कारबाही गर्नुपर्यो

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन्। बैठकमा समय लिएर सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गरे।

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेको उल्लेख गर्दै उनले बुधबार सिराहाको औरहीमा जातीय विभेदको घटना भएकामा आपत्ति जनाए।

पुनःस्थापित प्रतिनिधिसभाबाट जातीय भेद्भाव उन्मूलन घोषणा गरेको पनि १८ वर्ष पुगेको अवस्थामा यस्तो घटना हुनु दुःखद् रहेको उल्लेख गर्दै सांसद परियारले उक्त घटनाका दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे।

सांसद मनिष झाले सिराहाको औरहीमा भएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। सांसद अब्दुल खानले औरहीका दीपक मलिक डोमको घर भत्काउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ्ग बाबाले डोम परिवारको घर भत्काएर दलित समुदायको घरका सामग्री ओसारपसार गरेकाले कानुनी कारबाही गर्न माग गरे।

सांसद अमरेशकुमार सिंहले दलित र महिलामाथि शृङ्खलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही गरिरहेको छैन ? भनी प्रश्न गरे। कति दलितमाथि भएका घटना सञ्चारमाध्यममा पनि नआएका उनले सुनाए।

‘सिराहको औरहीमा घर भत्काउनुका साथै माटो पनि निकालिएको छ। यो विषयमा निष्पक्ष छानबिन गरी छुवाछुत गर्ने तीनै जनालाई कानुनी कारबाही गरियोस्’, उनले भने।

सांसद सम्झना थपलियाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिए पनि सिराहाको औरही गाउँपालिकाको आदेशमा दलित समुदायको घर भत्काउने विषयले संसद् मर्माहत भएको बताए। उनले गृहमन्त्रीले यस विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरे।

संसद् यो घटनाप्रति मूकदर्शक बन्न नहुने भन्दै उनले शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गरे।

सांसद रणेन्द्र बरालीले दलितमाथि गरिएको बर्बरताले सगरमाथाको टाकुरालाई नाघेको भन्दै औरही–५ का दीपक मलिकको घर भत्काउनु निन्दनीय काम भएको बताए। मलिकको घर पाँच वर्षअघि प्रधानमन्त्री राहत कोषको बजेटबाट बनाइएको उनले जानकारी दिए।

सांसद बरालीले विष्णु महायज्ञका आयोजक बाबा र गाउँपालिकका अध्यक्ष यादवद्वारा गरिएको उक्त घटनापछि त्यहाँका स्थानीय दलित समुदाय बोल्न पनि नसकेका बताए। उनले गाउँपालिका अध्यक्ष यादवलाई निलम्बन गरी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।

सांसद अशोककुमार चौधरीले संवैधानिक व्यवस्था सामाजिक न्यायमाथि सिराहा औरहीको घटनाले प्रहार गरेको बताए। यो घटनाले छुवाछुत अन्त्य भएको छ त ? भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ। राज्यका संयन्त्र दलितमाथि प्रयोग गरिएको यो घटनाले पुष्टि गरेको उनले बताए।

सांसद चौधरीले यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे।

सांसद प्रभु हजाराले २१औँ शताब्दीमा छुवाछुतका घटना जघन्य अपराध भएको बताए। मानवलाई छुवाछुतका नाममा घर भत्काउने बाबा, जनमत पार्टीका पालिका अध्यक्ष यादव र गाउँपालिकाका अध्यक्ष यादवलाई कानुनी कारबाही गर्न उनले माग गरे।

सांसद सम्झना थपलियाले गृहमन्त्री रमेश लेखकलाई दलितविरुद्धका घटनाहरू रोक्न कुनै कदम नचालेको आरोप लगाइन्।

सांसद थपलियाले गृहमन्त्रीसँग सोधिन्, ‘गृहमन्त्रीलाई यस्ता घटनामा चासो हुँदैन? तपाईँ गृहमन्त्री दलित विरोधी हो? यसरी कसरी संघीय लोकतन्त्र बलियो हुन्छ?’

धर्मकै आडमा यसअघि पनि कयौंपटक भएका छन् दलितमाथि ज्यादती

त्यसो त धर्मको आडमा दलित समुदायमाथि ज्यादती भएको यो पहिलो घटना भने हैन। यसअघि पनि कयौं दलितहरूले मन्दिर पसेकै कारण मारिनु परेको समाचारहरू बाहिरिएकै हुन्छन्।

२०७९ को असोजमा बाजुराको त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट भयो। पछि सुनारमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। त्रिवेणी नगरपालिका-७ कै वडाध्यक्ष जुद्धबहादुर अयडी, सोही स्थानका रंगलाल पाध्याय र विनोद अयडीले ती दलितमाथि कुटपिट गरेका थिए।

त्यसैगरी २०७३ असोजमा बझाङको रिलु गाविस वडा ८ द्वारिस्थित कालिका मन्दिरमा स्थानिय दलित मन्दिर गएको निहुँमा दण्ड जरिवानासहित कुटपिट गर्दै अमानविय ब्यवहार समेत गरिएको तथ्य सार्वजनिक भयो। मेलामा स्थानीय लालसिंह आग्री मन्दिरभित्र गएको भन्दै स्थानीय गैरदलितहरुले कुटपिट गर्दै दिसा खुवाउने प्रयास भएको थियो।

२०७७ मा चितवनमा मन्दिर पसेकै कारण स्थानीय भीम बहादुर विश्वकर्माको हत्या गरियो। दशैंताका पूजा गर्न मन्दिर गएका उनलाई पुजारीसहितका स्थानीयले कुटपिट गर्दा उनको ज्यान गएको थियो।

यस्ता कयौं घटनाहरू छन्, जहाँ धर्मको आड लिएर दलित समुदायमाथि कुटपिट, हत्या, देश निकालासमेत भएका छन्। २१ औं शताब्दीसम्म आइपुग्दा पनि नेपालमा भइरहेका यस्ता घटनाले एउटा प्रश्न जन्माउँछ- दलितमाथिको अमानवीय व्यबहार कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट