आठौँ संस्करणको निफ आजदेखि सुरू, पहिलो दिन ‘शाम्बाला’ प्रदर्शन-Sutra News

आठौँ संस्करणको निफ आजदेखि सुरू, पहिलो दिन ‘शाम्बाला’ प्रदर्शन

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट सुरु भएको छ। ‘विश्वभरिका कथाहरूको उत्सव : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरेका हुन्।



त्यस क्रममा अध्यक्ष दाहालले विश्वको चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दर्शकलाई भित्र्याउन आवश्यक रहेको बताए। उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेकोमा जोड दिए।

डिजिटल प्रविधि एआईको प्रयोगले सिनेमामा अवसर र चुनौतीहरू निम्त्याएको भन्दै उनले चुनौतीलाई अवसरमा परिणत गर्न चलचित्रकर्मी र निफले नयाँ प्रविधिलाई अपनाउने र नयाँ बजार खोज्न प्रेरित गरिरहेको बताए।

८ वर्षदेखि अन्तराष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता रहेको उनको भनाइ छ। निफले आफ्नो विशिष्टता र ऐतिहासिकता महोत्सवमा प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए।

पाकिस्तानी राजदूत अव्रार हास्मीले नेपालको चलचित्र, संस्कृति र विविधताको प्रशंसा गर्दै पाकिस्तानी मात्र नभएर अन्य मुलुकका लागि पनि नेपाल घुम्न आउन प्रेरणाको स्रोत बनेको बताए। पाकिस्तानी र नेपाली फिल्म निर्माता, कलाकारले सहकार्य गर्न आवश्यक रहेको उनको भनाई छ।

त्यसैगरी पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाली फिल्मलाई विश्वका दर्शकसँग जोड्ने माध्यम निफ भएको बताए। पर्यटन र चलचित्र क्षेत्रबीचको अन्तरसम्बन्धले नेपालमा विदेशी पर्यटक भित्राउन मद्दत पुग्ने उनले बताए।

भारतीय फिल्म विश्लेषक रीता दत्तले भारत सरकारले त्यहाँका फिल्मलाई सहयोग गर्ने गरेको अनुभव सुनाउँदै नेपाल सरकारले पनि महोत्सवलाई साथ सहयोग गर्नुपर्ने बताइन्।

यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ। अडियन्स च्वाइस अवार्डका निम्ति चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म भोटिङ गर्न सकिने व्यवस्था गरिएको छ।

समारोहको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन भएको छ। महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्मलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिने छ।

सर्वोत्कृष्ट हुने एआई फिल्मलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ। नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।

महोत्सवअन्तर्गत तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को आयोजना गरिने छ। उक्त दिन तीन वटा रसियन चलचित्र प्रदर्शन गरिने छ। महोत्सवलाई राष्ट्रिय र अन्तरराष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ। दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ।

नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’मा जोन योञ्जनले निर्देशन गरेको ‘क्रलिङ क्रोज’, दिनेश राउतले निर्देशन गरेको ‘पूजार सार्की’, सिद्धार्थ पुडासैनीले निर्देशन गरेको ‘सानो संसार’ र लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’ छनोट भएका छन्।

नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ।

यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए।

‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट