राजावादीलाई काउन्टर दिन एमालेले आन्दोलन गर्ने, समाजवादी मोर्चाको आन्दोलनलाई पनि समर्थन-Sutra News

राजावादीलाई काउन्टर दिन एमालेले आन्दोलन गर्ने, समाजवादी मोर्चाको आन्दोलनलाई पनि समर्थन

बिहिबार, ७ चैत्र २०८१

बिहिबार, ७ चैत्र २०८१

काठमाडौं । राजावादीहरूलाई काउन्टर दिन नेकपा (एमाले) पनि आन्दोलन गर्ने भएको छ।



बिहीबार महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन्।

‘आज महासचिवज्यूले ४६ औं सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै जरा अभियानलाई सघाउ पुग्ने गरी थप जनपरिचालनबारे निर्देशन दिनुभएको छ,’ एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले भने, ‘जरा अभियानकैबीच एमालेले थप केही अभियानहरू सञ्चालन गर्छ।

उनका अनुसार एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्नेछ। त्यसअघि पार्टीको गत ४ चैतको सचिवालय बैठकले गणतन्त्रको पक्षमा शक्ति–प्रदर्शनको निर्णय गरेको थियो।

‘पञ्चायतको अन्त्यपछि प्राप्त गरेका उपलब्धीसमेतको जानकारी गराउने गरी आगामी चैत ११ गते वडावडामा कार्यक्रम गर्नेछौं। अहिले केही पनि भएको छैन। सबै बरबाद भयो भन्ने जे प्रचार गरिँदैछ, त्यसलाई चिर्छौं,’ उनले भने।

एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी छ।

जागरण सभा नहुने जिल्लामा मोटरसाइकल र्‍याली गर्ने महासचिवले बताएका थिए।

चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ। ती सभाको दिन पछि तोकिने जानकारी महासचिव पोखरेलले गराएको त्रिपाठीले बताए।

राजावादी गतिविधिको प्रतिवादमा एमालेले गणतन्त्र पक्षधरको ध्रुवीकरण–एकतालाई दोस्रो कार्यक्रमका रूपमा अगाडि बढाउने भएको छ। नेताहरूका अनुसार विपक्षीमा रहेका नेताहरूसँग सम्वाद गरेर गणतन्त्र पक्षधरको कित्ता निर्माणको प्रयास हुनेछ।

एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधर नेताहरूको बैठक राख्न खोजिरहेका छन्। राजावादी गतिविधिविरुद्ध प्रतिवादको तेस्रो योजनामा एमालेले समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शनलाई बल पुर्‍याउने नीति लिएको छ। माओवादी नेतृत्वको समाजवादी मोर्चाले १५ चैतमा राजधानी उपत्यकामा सभा आयोजना गरेको छ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीहरूले स्वागत तथा प्रदर्शन गरेका थिए।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले अहिलेको व्यवस्थाका पक्षमा आन्दोलन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट