

काठमाडौं । यति बेला मुलुक गणतन्त्रवादी र राजतन्त्रवादीको नाममा विभाजित छ । राजतन्त्रवादी शक्तिहरू व्यवस्था फर्काउने आन्दोलनको तयारीमा देखिँदा गणतन्त्रवादी शक्तिहरू पनि सामूहिक प्रतिरोधको तयारीमा देखिएका छन् ।
राजावादी राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा जाने घोषणा गरेको छ । आगामी चैत १२ मा बस्ने बैठकबाट आन्दोलनका कार्यक्रम तय गर्ने राप्रपाको निर्णय छ ।
नवराज सुवेदीको नेतृत्वमा पनि राजावादी समूहहरू एकजुट भएका छन् । जसले पनि छिट्टै आन्दोलन चलाउने निर्णय गरेको छ ।
राजावादी समूहहरू यसरी आन्दोलनमा निस्कने तयारी गर्दै गर्दा नेकपा (माओवादी केन्द्र)ले साना दलहरूलाई जोडेर राजतन्त्रवादीको अभियानविरुद्ध प्रतिरोध अभियान चलाउने तयारी गरेको छ । उसले सबै गणतन्त्रवादी शक्तिहरूलाई पनि जोड्ने तयारी गरिरहेको छ ।
यहीबिच सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले पनि राजावादीको अभियानविरुद्ध एकलरुपमै प्रतिरोध अभियान घोषणा गरेको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसले आफूलाई कतैतर्फ उभ्याएको छैन । यद्यपि, उसले व्यवस्था बदल्ने अवस्था नभएको भन्दै राजावादीको अभियान ‘अर्थहीन’ भएको टिप्पणी गरेको छ ।
यहीबिच अन्य साना शक्तिहरू कता उभिने भन्ने प्रश्न अहम् बनेको छ ।
व्यवस्थाको सन्दर्भमा मुलुक विभाजित देखिँदा विशेषगरी नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कता ? भन्ने प्रश्न यति बेला उठेको छ । विधानतः रास्वपाले आफूलाई लोकतन्त्रको पक्षपाती शक्तिको रूपमा उभ्याएको छ । तर, व्यवहारतः रास्वपा राजावादीको अभियानमा मौनरुपमा समर्थक देखिन्छ ।
संसद् वा सडकमा राजावादीको अभियानविरुद्ध रास्वपाले एक शब्द पनि उच्चारण गरेको छैन । रास्वपाका कुनै पनि पदाधिकारी यसबारे बोल्न तयार छैनन् ।
स्वयम् पार्टी सभापति रवि लामिछाने पनि यसमा मौन छन् । शुक्रवार उच्च अदालत पाटन पुगेका लामिछानेलाई पत्रकारहरूले व्यवस्थाको प्रश्नमा र्याखर्याख्ती पारे । तर, उनले बोल्ने समय नआएको भन्दै पन्छिए ।
“म आवेग र उत्तेजनामा छैन, किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले र नेपाली जनताले आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा वा उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन”, प्रश्नको जवाफबाट भाग्दै लामिछानेले भनेका छन्, “अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ ।”
संस्थापक महामन्त्री भन्छन्– रवि अन्तिमसम्मै राजाको पक्षमा थिए
रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकालका अनुसार पार्टी गठनका बेला लामिछाने र उनीबिच पार्टीलाई कुन धारमा उभ्याउने भन्ने कोणबाट लामो छलफल भएको थियो । ढकालले बताएअनुसार लामिछाने अन्तिमसम्मै राजसंस्थालाई मानेर जाने पक्षमा थिए ।
“राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबिच छलफल भयो । त्यति बेला छलफल गर्नका लागी कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबिच नै हुन्थ्यो”, तत्कालीन समयको छलफलबारे ढकालले भनेका छन्, “राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो, राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो, रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।”
तत्कालीन समय लामिछाने कुनै न कुनै रूपमा राजसंस्थालाई समेटेर जाने पक्षमा थिए । तर, स्वयम् राजाले बेवास्ता गरेपछि अवस्था राजसंस्थालाई मान्ने खालको भएन ।
“राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’लाई कुनै न कुनै ढंगले समेटौँ भनिराख्नु भयो, मैले प्रस्ताव राखे, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो, मेरो प्रस्ताव थियो – राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तीमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठुला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरी एकै पटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।”, तत्कालीन छलफलबारे उनी भन्छन्, “राजाबाट सकारात्मक कुरा आएन, राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।”
यति बेला रास्वपा विधानतः लोकतन्त्रवादी पार्टी हो । “…मुलुकमा लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, मानवअधिकार, सुशासन र समृद्धिका खातिर नेपाली नागरिकले पटक–पटक गरी आएको आन्दोलन, त्याग र संघर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै”, रास्वपाको विधानमा लेखिएको छ, “…नेपालको संविधानले परिकल्पना गरेअनुसारको सुशासन, विकास र समृद्धिका लक्ष्यहरू पूरा गर्नको लागि नागरिकको जीवनस्तरमा सुधार ल्याउने परिकल्पनामा प्रतिबद्ध रही राजनीतिक संगठनमार्फत् नेपाली जनता र राष्ट्रको सर्वाङ्गीण विकासको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरी यो विधान जारी गरिएको छ ।”
तर, माहौल राजावादीको पक्षमा बन्दै गर्दा रास्वपा नेतृत्व पनि त्यतातर्फ ढल्किन खोजेको छ । स्वयं लामिछानेले विधानमै उल्लेख भएको विषयमा प्रष्टीकरण नदिनुले पनि लामिछानले अनुकूलता हेर्दै मझधारमा उभिएको प्रस्ट हुन्छ ।
सम्बन्धित समाचार
व्यवस्थाकाे प्रश्नले राजनीति ध्रुवीकृत हुँदा किन माैन छ रास्वपा ?