

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा आफूहरुलाई प्रकृति प्रेमी बताउने एक सय भन्दा बढी विदेशी नागरिक अनुमति बिना बसोबास गरिरहेको पाइएको छ ।
उक्त कुराको जानकारी पश्चात जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको छ। भारत, अमेरिका, चीन लगायतका विभिन्न देशका नागरिक ‘रेन्बो फेमिली ग्यादरिङ’ नाम दिएर समूहमा आएको र कुनै आधिकारिक निकायबाट अनुमति नलिई बसिरहेको पाइएपछि उनीहरूलाई गन्तव्यतर्फ जान निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । बिहीबार नै हमाल नेतृत्वको टोली उनीहरु भएको स्थानमा पुगेको थियो ।
स्थानीयवासीबाट विदेशी नागरिकहरू अर्धनग्न भएर हिँड्ने, अस्वाभाविक गतिविधि गर्नेजस्ता गुनासो आएपछि जिल्ला सुरक्षा समितिका प्रमुखहरूसहित हमाल अनुगमनका लागि पुगेका थिए। प्रशासनका अनुसार शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने कुनै गतिविधि भेटिएको छैन, तर कानुनी रूपमा अनुमति नलिएको हुनाले बसोबास गर्न नदिने निर्णय गरेको छ ।