

( जिगोलो व्यवसाय ठुला सहरहरूमा डढेलो जस्तै फैलिरहेको छ। त्यस्ता सहर, जहाँ धनी र कुलीन वर्ग बसोबास गर्छन्,त्यहाँ ठुला परिवारका विवाहित, अविवाहित केटीहरू रात्रि क्लबहरूमा दस बजे पछि पुरुषहरूको लागि मोल लगाउँछन्। रातभरको पाँच हजार देखि दस हजारसम्म दिन तयार हुन्छन् । अचम्मको कुरा त के छ भने इन्जिनियरिङ र मेडिकल कलेजका विद्यार्थी देखि पठाओका पुरुष चालक समेत यसमा आबद्ध देखिन्छन् । )
बेरोजगार हुँदा ठमेलतिर बरालिन जानुपर्छ । त्यो सम्भावनाको क्षेत्र हो भन्थ्यो नरेशले। उ अहिले अमेरिकामा छ। उ पनि धेरै समय बेरोजगार बाच्यो। म जस्तै । ठमेलमा हल्लिन्थ्यो। एक दिन कफी सपमा एउटी कुइरिनीले भेटिछ । लभ पर्यो। उतै लिएर गै।केटोको भाग्य चम्कियो।कहिलेकाहीँ नसोचेको कुरा हुन्छ।त्यही भयो नरेशमा पनि । हामी पढेलेखेको युवाहरू भाग्यमा भर गर्नुपर्ने स्थिति छ यो देशमा । केहिशिप नलागेर खाडी मुलुकमा जान भनेर पासपोर्ट बनाइसकेको थिए। कोठा भाडा नतिरेको दुई महिना भैसकेको थियो। भुईँचालो पछि तिरेको छैन। घर पेटी सोझो छ। बिचरा केही भन्दैन। आफैलाई हीनताबोध हुन्छ। उसको अनुहार छलेर हिंड्न् परेको छ। उसले बुझेको छ मेरो दरिद्र समय र स्थिति ।
एक दिन नर्सिङ चोक अगाडिको सैलुनमा कपाल मिलाउँदै थिए।बाहिर एउटा ट्याक्सी आएर रोकियो। उ मलाई हेर्दै थियो। मैले सोचे म जस्तै यो पनि टिप नपाएर खाली कुदिरहेको होला। टिप नपाएर दिनभर खाली खाली कुदने ट्याक्सी र मेरो जिन्दगी उस्तै लाग्यो मलाई ।कपाल मिलाउँदै ऐना हेरेर बाहिर निस्किए।ट्याक्सी चालक मै तर्फ फर्कियो र सोध्यो –
” भाइलाई कतै छोड्नु पर्छ”?
” पर्दैन दाइ जाने ठाउँ नै छैन कता छोड्नु ,फेरि ट्याक्सी चढ्न पैसा पनि हुनुपर्यो नि “!
” पैसा पर्दैन तपाईँलाई फ्रीमा यो सहर घुमाइदिन्छु आउनुस्”
ट्याक्सी चालकले अगाडि आफ्नो सिट छेउमा मलाई राख्यो।
जिन्दगीमा पहिलो चोटि ट्याक्सी चढेको। मजा लाग्यो। उ धरानको रहेछ। दस वर्ष भएछ ट्याक्सी चलाउने व्यवसाय गरेको । घर जग्गा जोडिसके छ। ” यस्तो हिरो मान्छे किन बेरोजगार बसेको भाइ ? ” उसको प्रश्नले मलाई एक छिन अलमलाउनु स्वाभाविक थियो। हिरो जस्तै देखिनेहरूले जागिर सजिलोसँग पाँउछन र? उसो भए मैले यतिका समय किन बेरोजगारी बस्नुपर्यो त?
उसले सोधपुछ गरे भन्दा बढी उत्तर दिए।
“मसँग जागिर छ खाने हो ?”
मैले खाने भने।
“राम्री केटीको अनुहार नै जागिरको योग्यता भए जस्तै राम्रो र ह्यान्सी केटाको पनि अनुहार र बलिस्ठ जिउ जागिरका लागि योग्यताको प्रमाणपत्र हो नि !” उनले भने।
पहेँलो ट्याक्सीको अगाडि सिटमा बसेर म त्यही दिन स्वयम्भूको साँगुरो गल्लीको एउटा घरमा प्रवेश गरेँ । घर भित्र एउटा ठुलो फ्रिज थियो, जसमा रक्सीका बोतलहरू भरिएको थियो। घरमा ठुलो टिभी पनि थियो ।
उनी सायद ३८-४० वर्षकी विवाहित महिला थिइन्। कुरा सुरु भयो र उनले भनिन्, “म गलत ठाउँमा फसेको छु। मेरो श्रीमान् समलैंगिक छन्। अमेरिकामा बस्छन्। गएको पनि धेरै भो। मलाई पैसाको खाँचो छैन। जत्ति भने पनि खर्च गर्न सक्छु । हरेक महिना घर खर्च चलाउन पचास साठी हजार पठाउनु हुन्छ । त्यो माथि फेरि दुई तलाको चालिस हजार त घर बहाल मात्रै आउँछ । म बसी बसी खानी हो नेट चलाएर । उहाँ जानू भएको अहिले ५ वर्ष भो।
नेपालको कानुनले पनि श्रीमान् श्रीमती लगातार तीन वर्ष भन्दा बढी अलग बसे भने स्वतन्त्र रूपमा सम्बन्ध विच्छेद गर्न पाइन्छ रेन्त ? तर मैले आट गर्न पनि सकेकी छैन। सम्बन्ध विच्छेद भएकी महिलासँग फेरि कसले बिहे गर्छ र? अनेकौँ सन्का र लाञ्छना लगाउँछ यो समाजले। उहाँ यता हुँदा त समलिङ्गी हुनुहुन्थेन । उता अमेरिका गएपछि क कसको कु सङ्गत पर्यो कुन्नि ?। मान्छे पशु हुदोरहेछ त्याहा पुगेपछि । अब मलाई भन्नुहोस् म के गरूँ ?
उत्तर लामो हुन्थ्यो । म अर्कै चिन्ताले यहाँ आएको ।गरिब परिवार पाल्ने जिम्मेवारी मेरो काँधमा थियो। पढेर लक्का जवान भएको छोरा म । बाबु आमा सधैँ अरुकै ज्याला मजदुरीमा बाचेका छन्। आखिर यो काम पनि त एक प्रकारको मजदुरी नै त हो नि । कहीँ नबिकेको राज्यले नपत्याएको शिक्षित लक्काजोवान कुमार केटो हु म अर्थात् बेरोजगारी केटो ।
के नाम हो तपाईँको ? एकोहोरो टोलाइरहेको थिए। एक्कासि आएको प्रश्नले झस्किए।
“कृष्ण” – उन्को मुहारमा मुस्कानको एक टुक्रा सलेदो बाल्दै बोले। अघि चालकले पनि नहाँसी नबोल्नु भनेको याद आयो। एकदम रोमान्टिक हुनु। नाच्नु। जिस्किनु। प्रिय बोल्नु। मर्दाङ्गिनी देखाउनु।कुनै काम पनि हुन्न, सक्तिन नभन्नु भन्दै थ्यो उ पनि ।
अगाडि फलफूल, काजु, पेस्ता, बदाम थियो। हामी दुवैले रक्सी पियौँ, हिन्दी गीत गाएर नाच्न थाल्यौ । दुवै भोजन कक्षबाट सुत्ने कोठामा गयौँ। मैले आफ्नो समस्या केही नभने पनि उनले बुझिन कि म बेरोजगारी छु भन्ने कुरा।
काम सकियो। उनले मलाई खाममा हालेर पैसा दिँदै भनिन ‘लाऊ मैले तिम्लाइ सहयोग गरेको ” म तिम्रो कारणले आज धेरै खुसी छु। जिन्दगी खै के हो ? बुझ्न धेरै गाह्रो छ। मसँग पैसा छ जवानी छ सबै थोक छ । यी सबै भएर पनि आखिर म एक्लो छु। विवाह भन्ने कुराले पनि जिन्दगीमा खासै अर्थ राख्दोरैनछ। लोग्ने, घर, बालबच्चा,आफन्त यी सबै सबै कुराहरू हुने पनि त सुखी कहाँ छन् र ?
कृष्ण तिमी पैसा नभएर दुखी अनि म पैसा भएर पनि दुखी । सबैभन्दा ठुलो कुरा जिन्दगीमा माया गर्ने व्यक्ति चैँ हुनुपर्ने रहेछ है ? उन्को आँखाको उदासीपन देख्दा मलाई माया लाग्यो र अर्को प्रकारले दया पनि लाग्यो।
उहाँले मलाई टिप्स पनि दिनुभयो। टिप्स समेत पाएपछि सोचे कि मैले उन्लाइ सन्तुष्ट पार्न सके। “पैसाको बाध्यताले मैले यो सब गरिरहेको हु।” मेरो कुरा सुनेर मेरो काँधमा धाप मारिन उनले। उमेरमा म उनी भन्दा निकै कान्छो नै थिए।
निस्किने बेलामा उनले भनिन्, ” कृष्ण ! म तिम्रो यो कामलाई तिम्रो शौक बनाउँछु।”
कोठामा कतिखेर पुगुँला र यो खाम खोलेर हेरुँला भन्ने हतार हुन थाल्यो। भगवान् पाउबाट विजेश्वरी शोभा भगवती पुल हुँदै सिधै बाटो भएर म कोठामा पुगे। थकाइ लागेको थियो र अलिकति आलस्य पनि खाम खोलेर हेरे- जिन्दगीमा कहिल्यै देखेको थिइन यति ठुलो रकम बिस हजार ……वा …रे वा ….. मन गद गद भयो।
मेरो निम्न मध्यम वर्गीय परिवारले मलाई अभागी ठानेका थिए किनभने मेरो जन्म पछि मेरो बुबाले जागिर गुमाउनु भयो। समयसँगै यी दुरीहरू बढ्दै गए । मेरो सपना धेरै पढ्ने र आर्मीमा भर्ती हुने थियो। आइ एस्सि गरेपछि दुई दुई चोटि भिडे।लिखत देखि शारीरिक व्यायाम र स्वास्थ्य परीक्षा सबै कुरामा छनोट हुने अनि अन्तर्वार्तामा पुगेपछि सधैँ फ्याँकिने। सेकेन्ड लेफ्टेनेन्ट हुने सपना अब अधुरै रहेको थियो।
मेरो आत्मविश्वास घट्न थालिसकेको थियो । बिस्तारै डिप्रेसनले घेर्यो । डाक्टरकहाँ पनि गएँ तर समस्याको अन्त्य भएन । आफू सरहका साथीहरू कोही अमेरिका कोही अस्ट्रेलिया कोही बेलायत कोही जापान गएर पैसा कमाउन थालिसकेका थिए। आफू भने पढेलेखेको डुकुलन्ठु भएर हल्लिए कयौँ समय ठमेलका चोकहरूमा।
जिम्मेवारी र समस्याहरूको बोझ मेरो काँधमा यति भारी महसुस हुन थाल्यो कि मैले इन्टरनेटमा जागिर खोज्न थाले। मैले पैसा कमाउनु पर्यो ताकि भाइ बहिनीलाई पढ्न खर्च जुटाउनु सकूँ, पैसा घर पठाउन सकूँ र बा आमाको पारिवारिक जिम्मेवारी आफैले बोक्न सकूँ। मलाई पढाउँदा लागेको ऋण तिर्न सकूँ ।
यसैबिच, एक दिन इन्टरनेटमा सर्च गर्दै जाँदा मेल एस्कर्ट अर्थात् जिगोलोको एउटा वेबसाइट भेटे। गोप्य रूपमा श्रीमान् विदेश भएका, एकल महिला, श्रीमान् सँग डिभोर्स भएर बसेका, सँगै भएर पनि श्रीमान् बाट यौन सन्तुष्ट नपाएका नव धनाढ्य महिलाहरूले जवान पुरुष हायर गरेर आफ्नो यौन सन्तुष्टि लिने वेबसाइट । केही दिन अगाडि एउटा चलचित्रमा पनि देखेको थिए। त्यहाँ केही वेबसाइटहरू पनि थिए जहाँ प्रोफाइलहरू जिगोलो बन्नको लागि सिर्जना गर्न सकिने थियो। खोलेर यसो हेरे। सब केटाहरू बिक्रीमा थिए। मैले पनि प्रोफाइल खोले।आफ्नो फोटो र सम्पर्क फोन नम्बर अपलोड गरे। प्रोफाइल खोलिसकेपछि एउटा सेक्युरिटी कोड नम्बर दिदोरहेछ ताकी आफ्नो प्रोफाइल जोसुकैले हेर्न नसकोस् भनेर। त्यसैको मेम्बरले मात्रै हेर्न मिल्दिरहेछ।
सुरुमा त प्रोफाइल बनाउन डर लागेको थियो । तर म त्यो थलोमा उभिएँ जहाँ मसँग दुई वटा मात्र बाटो थियो। कि त आत्महत्या गर्नु कि त जुनसुकै काम गरेर भए पनि परिवार पाल्नु।
आत्महत्याको बाटो त्यागेर जिगलो बनेर पैसा कमाउने बाटो रोज्ने निर्णय गरे। म गलत थिए कि सही थिए यो बारेमा समयले नै निर्णय गर्ला। भोको पेटसँग सङ्घर्ष गरिरहेका मेरा बाबुआमाको आँखाबाट आँसु चुहिन नदिन मैले यो कर्म रोजे। तपाई मलाई जे भन्नुस्, गाली गर्नुस्, धिक्कार्नुस्, छिछिदुरदुर गर्नुस् ,घृणा गर्नुस्,जेसुकै गर्नुस् केही फरक पर्दैन किनभने सुख पाएर मोजमा लठ्ठिने महिलाहरूको यौन प्यास मेटाइदिने एउटा माध्यम त थिए नि म। मलाई किन्ने दोषी कि मलाइ बेचिन बाध्य पार्ने यो समाज दोषी ?
स्त्री यौनको भोक मेटाउनु मेरो काम । हो म पैसा लिन्छु। मजदुरीले लिने ज्याला नै त हो ! अनौठो के छ र यो दुनियाँमा ? मलाई प्रयोग गर्ने स्त्री गलत हुन कि म गलत हु ? गलत कोही छैनन् यहाँ ।कसैको गला सेर्नु पो पाप हो । मैले पाप गरेको छैन । बरु धर्म नै गरे जस्तो लाग्छ। प्यासीलाई तृप्त पारिदिनु पुण्य नै हो । आत्महत्याको बाटो छोडेर यो सन्सारबाट हारेर बिदा हुनु भन्दा यो दुनियाँलाई हाँक दिएर कर्म गरेर सबै बाचेको ठाउँमा आफू नि बाचेर अरूलाई पनि बचाउनु मैले पुरुषार्थ सम्झिए। के हो स्लील र के हो अस्लील यो मानिसको बुझाइमा भर पर्ने कुरा त रहेछ नि !
मैले यसैलाई आफ्नो पेसा बनाउने निर्णय गरेँ किनकि मसँग अरू विकल्प नभएको जस्तो लाग्न थाल्यो । मैले भेटेका महिलाहरूमा विवाहित,सम्बन्ध विच्छेद,विधवा र एकल केटीहरू थिए। यी मध्ये धेरैको लागि म एक वस्तु थिएँ, मानव होइन। उनीहरूको मनोकामना पूरा नभएसम्म म ईश्वर जस्तै हुन्छु। जब कामना तृप्त हुन्छ अनि म सिर्फ एउटा बस्तु झैँ निर्जीव ढुङ्गा बन्छु। न त्याहा माया हुन्छ न त्याहा दया हुन्छ न त्यहाँ सम्मान हुन्छ न कुनै अपनत्व नै।
म एउटा जिगोलो हु अर्थात् वेश्या पुरुष । मलाई समाजले देख्दैन म को हु ? म के हु ? मलाई उनीहरूले मात्रै देख्छन् जो मेरो शरीरका भोका छन् । काम गर्यो । ज्याला लियो। आफ्नो बाटो लाग्यो । र फेरि त्यहाँ प्रेमको पिपल उम्रँदैन । जेसुकै हु म त खेताला न हु सिर्फ खेताला मात्रै । थाहा छैन तिनीहरूको दिलमा प्रेम टुसाउँछ कि टुसाउन्न ? उनीहरू जोसँग प्रेम गर्छन् उसले तिनको बैशको भोक मेटाउन सक्तैन । र जो बाट शारीरिक भोक मेटाउँछन् उसलाई माया गर्न सक्तैनन् । उनीहरूको बाध्यता पनि होला शायद । बुझ्नुपर्छ नारी संवेदनशीलता ।
अनलाइनमा फोटो र सम्पर्क नम्बर राखेपछि म व्यस्त हुन थालेको थिए।
यो देशमा शौचालय देखि बाख्राको खोर समेत समुद्घाटन गर्ने मन्त्री र नेता यति त के व्यस्त होलान् र ? म त्यति व्यस्त हुन थाले। सहरमा दिउँसै रात पर्छ होला भन्ने मैले कल्पना पनि गर्दैनथे।
जो-जो सँग म जोडिन पुग्थे ती सबै राम्ररी कुरा गर्थे र “म मेरो श्रीमान्सँग सम्बन्ध विच्छेद गरेर तिमीसँग बस्छु” समेत भन्थे । तर केही समय सुत्ने कोठामा रोमान्स गरिसके पछि आधा घण्टामा सबै माया समाप्त हुन्थ्यो । यस्तो लाग्थ्यो कि यो देशमा धनी नामर्दका श्रीमतीहरू जिन्दगीभर चिसै बाचिरहेका छन्।
म हरेक दिन व्यस्त हुन थाले। अब त मलाई चाहने स्त्रीले एक हप्ता अगाडि देखि नै बुकिङ गर्नुपर्ने भो।त्यो सब मेरो आफ्नो निजी वेबसाइटको सिस्टमले मिलाइदिन्थ्यो। पछि हुँदै गएपछि व्यस्तता यति व्यापक बढ्न थाल्यो कि अग्रिम भुक्तानीको सिस्टमबाट मेरो खातामा पैसा आउन थाल्यो। पेमेन्ट गरेको एक हप्ता पछि मात्रै म ती स्त्रीको सम्पर्कमा पुग्थे। यस्तो हुँदा पनि तैपनि उहाँहरू मेरो लागि नै कुरी बस्थे
हिजोसम्म ठमेलको गल्लीमा बेरोजगारी आवारा भएर चिया कसले ख्वाउला भनी पुर्पुरोमा हात राखेर कपाल काट्ने पैसा नभएर लट्टा पारेर हिँड्ने केटोसँग आजको दिनमा बैङ्क ब्यालेन्स र गाउँमा आमाबाबुलाई ऋणमुक्त बनाएर सय मुरी धान फल्ने खेत किनिसके मैले । अभागी केटोबाट म भाग्यमानी केटोमा दर्ज भैसकेको छु। “पेसा जे गर प्रतिफल निस्किनी गरेर काम गर” भन्नुहुन्थ्यो मलाई साइन्स पढाउने केमेस्ट्रीको म्यामले ।
म आफ्नो पेसामा इमानदार रहे।
अब ठमेलमा उभिएर जोसुकै केटीले पनि मलाई कारमा हालेर लैजाने दिन समाप्त भैसकेको थियो । अब सोसल मिडियाबाट नै म खोजिन्छु। चौतर्फी मेरो खोजी छ । फेसबुकमा मात्रै चालीस हजार फ्यान फलोअर छन् । त्यस्तै टिकटकमा एक लाख भन्दा बढी महिला साथीहरू फलोअर छन्। अब त मैले खोकेको भिडिओ टिकटकमा अपलोड गरे भने एक मिनेटमा हजारौँ भ्युज जान्छ र छिटो निको हुनु भनेर हजारौँ कमेन्ट आउँछ । महिला साथीहरूको रुवावासी सुरु हुन्छ। एक चोटि फेसबुकमा रुघाखोकी लागेर सुतेको फोटो अपलोड गरेको एक घण्टामा एक हजार महिला साथीहरूले लभ रियाक्ट गरे। र गेट वेल सुन भनेर कमेन्ट लेखे । म के थिए आज के भए ? यो चमत्कार कसरी भयो जिन्दगीमा ? कसरी म झोपडी झोलेबाट अब महलको प्रवेशद्वार तर्फको बाटो तय गर्दै छु। यो सफलता हो कि असफलता हो ? यो प्राप्ति हो कि बदनाम हो ? यो खुसी हो कि निराशताको अगेनो बाट उछीटिदै गरेको जलेको कोइला हो, जो पछि गएर अङ्गार बन्छ र कहीँ काम नलाग्ने रछान बन्छ।
एक दिन आफ्नो वेबसाइट बाट रियल फोटो हटाए। एउटा मोटो रातो कुखुराको भालेको फोटो राखे।खासै फरक त परेन । तर स्त्री फ्यानहरूको झन् लभ रियाक्टको हजारौँ कमेन्ट र मायालु मेसेजको वर्षा हुन थाल्यो।
अब कसैले पनि मलाई म अर्थात् कृष्ण कात्तिके भनेर चिन्दैनन्। कात्तिके चैँ मेरो जन्म थलोको नाम थियो यही नामबाट चिनिन्छु म। रातो सिउर भएको भालेको टाउको प्रोफाइल पिक्चरमा थपक्क राखेपछि मेरो डिमान्ड अझै हाइ भो।
झनै व्यस्तता बढ्न थाल्यो। ” हजुरको प्रोफाइल पिक्चर रातो टाउके भालेको रातो सिउरले मलाई त कस्तो कस्तो गाह्रो भो हजुर ? हजुर मेरोमा कहिले सवारी हुने? म समय मिलाउँछु हजुर छिटो आउनुन” भन्ने गुनासो लगातार प्यासेन्जरमा आउन थाल्यो।
पैसा पैसा पैसा भनेर केवल पैसा थुपार्ने तर आफ्नो जीवन सङ्गिनी आधा अङ्गलाई बेवास्ता गर्दै जिन्दगी भरी केवल धन र सुखको पछाडि भौँतारी हिँड्ने श्रीमानहरुको श्रीमती कति भोका र पीडित हुन्छन् भन्ने कुरा ती पतिहरूलाई के थाहा? ! धन्न फेसबुक टिकटक ट्विटर मेसेन्जर छ र त समाजको यौनिक व्यवस्थापन शान्त गतिले अगाडि बढी रहेको छ ।
अब त म यति व्यस्त हुन थालेकी जसले बढी पैसा अग्रिम भुक्तानी गरेर मेरो खातामा पठाउँछ उन्कोमा नै फर्स्ट जान थाले। एक हप्ता अगाडि मिसेस् एम के नाम गरेको केटीले सत्तरी हजार खातामा हालेर बुकिङ गरेको मेसेज आएको थियो । मैले बेवास्ता गरिरहेको थिए। एक दिन राती फोन आयो ।
“एक हप्ताको लागि श्रीमान् बैंकक सेमिनारको लागि जाँदै हुनुहुन्छ म पनि एउटा प्रोग्राममा रारा जानुपर्ने भएकोले हजुर म सँगै रारा जानको लागि बुकिङ गरेको हो। दैनिक पचास हजारको दरले हजुरलाई पेमेन्ट हुन्छ। पैसाको कुनै चिन्ता नगर्नु । हेलिकप्टर बुक गरेको छ मेरो आइएनजीओ अमेरिकन अफिसले हजुर सात रात मसँग रारा बस्नुपर्छ” मैले हुन्छ भनिदिए।
हेलिकप्टरबाट रारा घुम्न जानको लागि म बुकिङ भए अर्थात् कुनै एक अपरिचित केटीले एक हप्ताको लागि मलाई किनिन् । मैले आफूलाई एक हप्ताको लागि बेचे। अब एक हप्ता मेरो भौतिक शरीरमा उनले अधिकार जमाउँछिन्,मलाई खेलाउँछिन् । मलाई भोग गर्छिन्। म समर्पित हुनुपर्छ । त्यो चिसो बरफ ओकल्ने सुन्दर पहाडमा मलाई उनले उनको आफ्नो ओछ्यान न्यानो पार्ने साधनको रूपमा प्रयोग गर्छिन्। म उनको इशारामा र चाहनामा आफूलाई पस्किनु पर्छ। अह म केही बोल्न पाउन्न। उनले आफ्नो यौन चाहना म बाट पुरा गर्छिन्….।
फोन आएपछि खै किन हो राम्रोसँग निन्द्रा परेन।
भोलिपल्ट मलाई अफिसमा बोलाइन। एक चोटि हजुरलाई हेर्छु भनिन। कुखुराको भालेको रातो सिउर भएको टाउको हेरेर मात्रै पुगेन।मलाई त हजुर नै हेर्न पर्यो । मसँग सात रात रारामा रात बिताउने हिरो कस्तो हो भनेर त हेर्न पर्यो नि ? भन्ने आग्रह आएपछि भोलिपल्ट छाया सेन्टर जाने निर्णय गरे। ठमेल छाया सेन्टर अगाडि कालो कार लिन आउँछ भन्दै फोन राखिन।
ठिक दिउँसो ३ बजे चालकले फोन गर्यो। चार बजे छाया सेन्टरको गेटमा आउँछु भन्यो उसले। म भगवान् बहालबाट अलिकति वाकिङ गर्दै छाया सेन्टरको गेट पुगे।
गाडी आइसकेको रहेछ। चालक आफै ओर्लिएर गाडीको ढोका खोल्यो। बि एम डब्लु गाडीको कालो सिसा भित्र पसेपछि आफै लक भयो । वासनादार अत्तरको सुगन्ध फैलिएको गाडी भित्रको अगाडिको सिट खाली थियो। पछिल्लो गेट खोलेकोले पछाडि नै बसे। जब कार भित्र छिरे एउटा अचम्मको दृश्य अनुभूत गर्यो आँखाले।
मधुर स्वरमा गीत गुन्जिरहेको थियो । म सँगैको सिटमा एक अर्धवैश्य वैशाखी फूल आफ्नो कोमल आँखा निहारेर मलाई नै हेरिरहेकी थिइन। को हुन ती अपरिचित ? झसङ्ग भए ।
आँखा चिनेको हो। ओठ चिनेको हो। मुहार चिनेको हो। अगाडिको निधार र चिउँडो चिनेको हो। सम्पूर्ण शरीर चिनेको हो। बोल्दा मुस्कानको उज्यालो फ्याँकेर बोल्ने त्यो उज्यालो जुनकिरी पनि चिनेको हो । हिँड्दा हात हल्लाउने, स्नेहले सम्झाउने,ज्ञान गरिमाको इन्द्रधनुषि हाउभाउ पनि चिनेको हो। साराका सारा सर्वाङ्ग आकाश पनि चिनेको हो । त्यो सजल आँखाको दियो बलिरह्यो मलाई देखेर
त्यो उज्यालोलाई हेरेर म मुस्कुराए । यो अकल्पनीय माधुर्य अनमोल भेट । मुखबाट शब्द नै हराए जस्तो भो। म अकमकिए। उनी लजाइन। मलाई एकोहोरो मात्रै हेरिन। गाडी रफ्तारले रामशाहपथ हुँदै माइतीघरको जाममा गएर रोकियो। गोदावरी सेन्टर अफिस जाँदै छौ हामी भन्दै थिइन चालकलाई ।
मेरो हात च्याप्प समातिन। उनले पनि मलाई चिनिन र मैले पनि उन्लाइ चिने। अतीतको एउटा रमाइलो पहाड ओर्लिएर नाच्न थाल्यो आँखाको गोधुलीमा। मुटुको ढुक ढुकी बढ्यो।उनले मेरो हातमा च्याप्प समातिन। निधारमा च्याप्प म्वाइँ खाइन। साराका सारा खुसीको कोसी एकै चोटि बग्न थाल्यो आँखाको इन्द्र दहमा ।
मैले आफ्नो दुई हात उठाए “नमन गरे… म्याम” !
” कृष्ण”! आहा ! तिमी यति धेरै हेन्सी कहिले देखि भएको नि ?” उन्को सम्बोधनमा पोखिएको त्यो आत्मीयताले गोसाइँकुण्डको पानीमा डुबेर चोखिएको भक्तालु जस्तै भए म एक्छिन।
“हजुरले केमेस्ट्री पढाउँदा भनेको शब्द मलाई अझैसम्म कण्ठ छ म्याम ” पेसा जे गर तर प्रतिफल निस्किने गरेर काम गर” भन्नू भएको ।
” मैले पेसा बदले कृष्ण ! अब तिमी मेरो विद्यार्थी होइनौँ । बिर्सिदेऊ ती सारा अतीत र उपदेशहरू। रातो सिउर सहितको कुखुराको भालेको टाउको प्रोफाइल पिक्चर भएको एक मस्त जवान केटो हौ तिमी । अब मसँग सात दिन रारामा घुम्न जान्छौ”
म्यामका आँखामा खुसी र यौवन नाचिरहे जस्तो लाग्यो । तर आफूलाई भने शरीरमा भएको साराका सारा ऊर्जा सक्किए जस्तो लाग्यो। अप्ठ्यारो महसुस गरेर भए पनि म्यामको अगाडि एक आज्ञाकारी विद्यार्थी बनिरहे र ” हस् म्याम भने” गाडी गोदावरी पुग्न अब केही बेर मात्रै बाकी थियो।
“मानिस आखिर एक्लै त हो नि कृष्ण !। उसले जतिसुकै फुर्ती किन नगरोस् ?। उ जतिसुकै कुर्लियोस्, जतिसुकै उर्लियोस्। उ खुसीमा सन्सारकै होला। उसले सुखमा सारा जगत् मेरो हो भन्ला। उ हाँसोमा सबैमा बाँडिएला। तर! दुखमा, आँसुमा, भोकमा,शोकमा र शून्यमा त सिर्फ एक्लो त छ नि । निरीह छ उ आफैँदेखि अस्त बेलाको बुढो घाम जस्तै ।त्यही बुढो घाम जस्तै निरिहिता हो मान्छेको सत्य भन्नू पनि । तर कति मजा छ एक्लोमा ! जस्तो यो राराको निर्मल काया !
आफैमा म एक भिड त हु कृष्ण र आफैमा म एक शान्त रारा हु पनि हु।आज मैले आफैसँग कुरा गरे । मैले रारासँग आफ्ना गुनासाहरू पोखे।एक्लो हुनु नितान्त आफै हुनु पो रहेछ है कृष्ण ! हेर त कति हजार वर्ष देखि यो रारा एक्लै एक्लै पहाडको सिरानी हालेर अनि पहाड ओढेर बाचिरहेको छ ! हेर त कति खुसी छ यो आफैमा !
मेरो उज्यालोको इन्द्रेणी म आफै भित्र पो रहेछ। आनन्द त आफूले आफैभित्र खोज्नु मै रहेछ ।एक्लै एक्लै आफै नदी भएर बहनुमा कति मजा ! । आफ्नै भँगालो, आफ्नै बहाव। आफ्नै प्रशान्ति। आफ्नै उज्यालो । आफ्नै खुसी । आफ्नै शीतलता।आफ्नै लहर । आफ्नै किनारा ।आफ्नै भुमरी। आफ्नै सुसाइ । आफ्नै बगाइ । आफ्नै उत्फुल्लता। एक्लै एक्लै एउटा शान्त रारा भएर बाच्न मन लाग्यो मलाई त ! । यो एक्लोमा अर्कै मजा, अर्कै शान्ति ,अर्कै खोजी, अर्कै ज्योति , अर्कै लहर, अर्कै प्रमोदिता, अर्कै आनन्द । यति बेला मेरो श्रीमान् बैंककको कुनै मसाज सेन्टरमा मसाज गर्दै होलान् । म भने राराको मुहारमा आफैलाइ खोजिरहेकी छु। यो प्रशान्त तलाउको बिम्बले जिन्दगीमा कस्तो आह्लाद उन्माद भरिदियो….”.
१३ वर्ष अगाडि क्लासमा उभिएर जुन बुलन्द लेक्चर दिन्थिन म्यामले आज पनि त्यही दिन दोहोरिए जस्तो लाग्यो।
साँझ पर्दैनथ्यो। किनारमा उभिएका धुपीका बोटहरू दिउँसोको हावाले थाकेर झुके जस्तो । घाम घुर्मैलो हुँदै पर्वतको रुखछेउ बाट लुसुक्क डुब्यो। चिसो हावा सिरसिर बहँदै गालाको देब्रे भागबाट भागिरह्यो। हामीलाई छोडेर हेलिकप्टर अघि नै नेपालगन्ज ल्यान्ड गरिसकेको खबरले म्याममा एक प्रकारको तनाव हटिसकेको थियो । मोबाइलको टावरले त्यति काम गरेको छैन। एन टिसीको टावर आउने र बन्द हुने बारम्बार भइरह्यो। होटेलबाट फोन आइसकेको थियो कि साँझ सम्म किनारबाट फर्किसक्नु भनेर।
जिन्दगीमा पहिलो चोटि हेलिकप्टरको यात्रा गरेको कस्तो रोमाञ्चक भएको म।हरियो पर्वत आफै आफै बसेर ध्यान गरे जस्तो । एकै छिन अघि घामको प्रकाशले देखेका पहाडहरू एकाएक बेहुलीको घुम्टो ओढेर मस्त निदाए जस्तो देखिन थाल्यो।
” कृष्ण !”
” हजुर म्याम ”
” फर्किनी होइन त अब ?”
” झम्के साँझ पर्यो होटेल बन्द होला फर्किऊ म्याम”
” तिमी थाक्यौ र कृष्ण ?”
” छैन नि म्याम”
” यस्तो लक्का जवानीले भरिएको हिरो मान्छे पो त तिमी ”
” म कहिले थाक्दिन म्याम चिन्ता नगर्नुस्”
” कृष्ण एउटा कुरा सोधूँ?”
” सोध्नु न म्याम प्लिज”
” तिमीले यस्तो काम गर्न थालेको कति समय भयो?”
” धेरै त भा छैन म्याम लगभग एक वर्ष ”
” अहिलेसम्म कति जनासँग सम्बन्ध गाँस्यौ? सम्बन्ध गाँसेका महिलाहरूले तिमीलाई पटक पटक आह्वान गर्छन् कि पछि बिर्सन्छन्?
” अहिलेसम्म करिब सय जना भन्दा बढी नै भए होलान् म्याम । तर जतिजनासग सम्बन्धमा रहे तिनैसँग धेरै पटक दोहोरिएको छ। बोलाउनु हुन्छ । कहिलेकाहीँ त दिनभर नै राख्नु हुन्छ । मेरो दिनभरको रेट दिनुहुन्छ ”
” कति लिन्छौ कृष्ण दिनभर बसेको चैँ?”
” त्यस्तो खासै यति रेट भन्ने त छैन म्याम उहाँहरूको आफ्नो
आर्थिक अवस्था हेरेर दिनुहुन्छ”
” यो तिम्रो जस्तै पेसा गर्ने अरू थुप्रै होलान् है?”
” म जस्तै युवा बेरोजगारी धेरै छन् र पनि सबैलाई
भ्याइ नभ्याई छ। पछिल्लो समय शिक्षित पुरुषहरू धेरै बेरोजगार भएका छन् । बरु शिक्षित स्त्रीहरूले सजिलोसँग जागिर पाँउछन। पुरुषले पाँउदैनन। त्यस कारण पनि पुरुषको बाध्यता छ यो पेसा अपनाउन?
” तिमीले यो पेसा किन अपनायौ कृष्ण ?”
” मेरो गरिबी हो म्याम ”
” सबै गरिब युवाले के यस्तै पेसा अप्नाउछन ?”
” धनी सहरका गरिब युवाले अप्नाउछन?”
कुरा गर्दागर्दै हामी होटेल पुग्यौ।
“रारा इको रिसोर्ट” राराको सबैभन्दा महँगो र सुबिधासम्पन्न होटेल । यहाँ नेपाली भन्दा पनि विदेशी बस्दारहेछन। हाइ अल्टिच्युडमा अक्सिजन कम हुने भएकोले पनि होला शरीर अलि थाकेको जस्तो अनुभूति भएको थियो मलाई । म्याम त असाध्य फुर्तिलो मान्छे । मैले देखे देखी उहाँको मुहारमा त्यही स्फुती त्यही ज्योति देखे। सरकारी स्कुलमा साइन्स टिचरको जागिर छोडेर आफ्नै आइ एन जी ओ चलाउने कुरा चानचुने थिएन। आइ एन जो ओ भन्नासाथ- दातृ निकाय, फन्ड कलेक्सन, कुशल व्यवस्थापन,बजेट,तालीम, सेमिनार, गोष्ठी, प्रतिवेदन, प्रगति विवरण, समुदाय लक्षित वर्ग र कार्य उपलब्धिका कुराहरू आउँछन्। यी सबै कुरामा म्यामले कुशलता हासिल गरेसकको जस्तो लाग्यो उहाँको कुरा गराइले।
रिसोर्टमा उहाँलाई भेट्न भनेर केही स्थानीय मानिसहरु कुरिरहेका रहेछन्।
उहाँको भाषण र मानिसलाई बुझाउन सक्ने खुबीलाई मान्नै पर्छ। रारामा वातावरण सम्बन्धी एउटा प्रोजेक्ट सञ्चालित रहेछ म्यामको। रारामा चाउचाउको खोल, प्लास्टिक यत्रतत्र फ्याँकिएका, खैनीको खोस्टो, विदेशी रक्सीका खाली बोतल र बाह्रसिङ्गे बियरको सिसी देख्दा आधुनिकताले पवित्र धर्तीलाई नराम्ररी आक्रमण गरेको देखियो।म्यामले थालेको अभियान पनि राम्रो लाग्यो। यहाँका नेता र व्यापारीको सुर्खेत, नेपालगन्ज र काठमान्डुमा घर हुँदारहेछन। जनतालाई भने नुनको जोहो गर्न सधैँ सास्ती ।
जनतालाई नुनको व्यवस्थापन गर्न नसक्ने नेताहरू कर्णालीको दुखको बारेमा राजधानीको तारे होटेलमा मिटिङ गर्छन्।
म्यामको लेक्चर सकियो। भेटघाटको कार्यक्रम पछि सबैले मलाई देखाउँदै सोधपुछ गरे ” उहाँ को?” म्यामले भन्नू भो ” “उहाँ मेरो कर्मचारी”
दोस्रो तलाको एउटा लक्जरियस डिलक्स रुम हाम्रो लागि पहिल्यै बुक भएको रहेछ । होटेलका सबै कर्मचारीहरूले म्यामलाई असाध्य सम्मान गर्दा रहेछन्। रुम पुगेपछि एउटा अर्कै सन्सारमा पुगेजस्तो अनुभूति भो मलाई । सफा सुगन्धित अत्तरको कोमल वासना मगमगाइ रहेको थियो सारा बिछ्यौनाका कुना कुनाबाट । म्याम सुस्ताउँदै सोफामा बस्नु भो र मलाई एकोहोरो हेर्दै भित्रैबाट मुस्कुराए जस्तो अनुभूति भो,यस्तो लाग्यो कि अन्नपूर्णले फेवामा डुबुल्की मारे जस्तै । आँखाका दुई पलकबाट केही अव्यक्त कुरा बोल्न खोजे जस्तो र फेरि केही भन्न नसके जस्तो ।
” कृष्ण ! मानिस बाहिर जे देखिन्छन् त्यस्तै भित्र हुन्नन्। मानिसको दुइटा चरित्र हुन्छ। एउटा सामाजिक चरित्र र अर्को उसको निजी नितान्त वैयक्तिक चरित्र । जो अत्यन्तै गोप्य हुन्छ र उ त्यस्लाइ जीवनभर छोप्छ जो मृत्यु पर्यन्त पनि कसैलाई थाहा हुन्न।
यो दुनियाँ सब ढोगी हो। मानिस जति छली, बेइमानी, पापी र निर्जीव त ढुङ्गा पनि हुँदैन कृष्ण ! उ त यस्तो जनावर हो जो एउटाको अँगालोमा बेरिदा अर्कोलाई सम्झिएर रुन्छ। हेर त ! म तिम्लाइ भाडामा लिएर रारा आएकी छु। तिमीसँग मेरो न प्रेम थियो न चिनजान । केवल मेरो यौनको भोक मेटाउन मैले तिमीलाई केही दिनको लागि किनेको त हो। तिम्रो बलियो शरीरलाई तिम्रो ताकतलाइ किनेको हो मैले ताकी बर्सौँ देखि चिस्सिएको मेरो मनलाई तिम्रो तातोले पगालोस्।
म आफ्नो लोग्ने प्रति बेमानी छु। मेरो लोग्ने म प्रति बेमानी छ। एउटा प्रेमी हुँदा हुँदै अर्को एक दुई प्रेमीसँग च्याट चक्करमा हुन्छिन् आजको प्रेमी र एउटी प्रेमिकाले भरपुर माया दिँदादिँदै पनि अर्को प्रेमिकाको ट्विटर सञ्जालमा लोभिन्छ एउटा युवक। यहाँ इमानदार के हो ?धर्म के हो ?पाप के हो? छल के हो ?कसैलाई मतलब छैन। सब धोकाधरिमा छन्। जसले जस्लाइ जति छल्यो उ उति नै सफल। जो बेमानी छ उस्कै पूजा गर्छ समाज । तर सत्य मर्दैन । बेमानीलाई ईश्वरले कुनै न कुनै रूपबाट बदला लिइरहन्छ बाचुन्जेल। अचम्म चाहिँ यो छ कि सजायको ख्याल कसले गर्छ र कृष्ण? मान्छे भोलि देख्दैन । आज देख्छ। र उ आज मात्र रमाउन चाहन्छ। भोलि छ भनेर बुझ्नेहरू बेमान हुन्नन्।
ढोका ढक ढक गर्यो….
वेटरले एउटा अर्को साँचो म्यामको हातमा थमाएर गयो। उहाँले त्यो साँचो मलाई देखाउँदै भन्नुभो ” देख्यौ कृष्ण ? यो साँचो तिम्रो लागि बुक भएको अर्को रुमको हो । यहाँ देखाउनु छ होटेल व्यवस्थापनलाई कि मैले मेरो पुरुष कर्मचारीको लागि अलग कोठा बुक गरेको छु भनेर। तर हामी सँगै सुत्छौ।
ल अब म फ्रेस हुन्छु । तिमी दुई घण्टा त्यही तिम्रो लागि बुक गरेको रुममा बस । जब होटेलमा सबै जना निदाउँछन् अनि हामी उठौला। यो दुनियाँ अजिब छ कृष्ण । यहाँ देखाउनु छ सिर्फ। यो जगत् नाट्यशाला हो। हामीले अभिनय गर्न जान्नुपर्छ सिर्फ। अभिनय गर्न जानेनौ भने तिमी फेल भयौ। तिमी असफल भयौ। अभिनय गर्न नजान्नेको लागि बनेको होइन यो जगत्।
एउटा सामान्य केमेस्टि टिचरबाट आज म कसरी करोडौँको मालिक भए ! शायद अभिनय नगरेको भए म जहाँको त्यही हुन्थे। बर्खाले पनि धार बदल्छ, हावाले पनि वेग फेर्छ, पातहरू पनि हावा अनुसार हल्लिनछन्, खाने कुरा दियौ भने टोक्न आएको कुकुरले पनि तिमीमा दया देखाउँछ । हेर आज हामी चढेर आएको हेलिकप्टर मेरै थियो। यो होटेल पनि मेरै हो। गोदावरीको त्यत्रो दस रोपनी जग्गामा फैलिएको आइ एन जी ओ को आलिसान अफिस मेरै हो। दरबार मार्गको नयाँ डिपार्टमेन्ट स्टोर बसेको बिल्डिङ मेरै हो। मसँग अन्तर्राष्ट्रिय व्यक्तित्वहरू जोडिएका छन्। आठ दस जना सांसद किनबेच गर्न सक्छु म। कस्लाइ मन्त्री बनाउने भनेर मसँग परामर्श लिन्छ पार्टीले । सरकार भनेको हाम्रो अभिभावक हो भन्ने भ्रममा छौ हामी तर त्यो होइन कृष्ण ! । सरकार भनेको बोरामा पैसा बोकेर हिँड्ने व्यापारी हुन जसले कानुन मात्रै होइन तिनले चाहे भने यो देशको संविधान नै बदल्न सक्छन्।
मान्छे लोभी हुन्छ । केटा फेर्ने महिला त होइन म, तर यति चिसो पनि नहुनु कि आफ्नो तातो हराएर अर्काको सहायता लिन परोस्। यहाँ यौनको भोक र पैसाको सोख मेट्न कयौँ मानिस हात धोएर लाग्छन् कृष्ण ! न म स्त्रीलाई दोष दिन्छु न पुरुषलाई नै। तर एउटासँग सम्बन्धमा रहँदा रहँदै अर्को दोस्रो,तेस्रो पुरुष साथी बनाउने र आफ्नो स्वार्थ -चाहे आर्थिक होस, चाहे सामाजिक होस, चाहे शारीरिक होस, पुरा भएपछि दोस्रो, तेस्रो पुरुष खोज्ने म त्यस्तो नीच र पापी स्त्री पनि होइन । म आजसम्म कुनै दोस्रो पुरुषसँग जोडिएको पनि छैन। तर मेरो श्रीमानको म हुँदा हुँदै अरू स्त्रीहरुसग पनि अफेयर देखे यस्ले मलाई एन्जाटिकको रोगी बनायो।
जति सोच्यो त्यति सोचाइको लहर बग्न थाल्यो दिमागमा । म पागल हुन्छु कि भन्ने डर लाग्न थाल्यो। जिन्दगीमा कसैमाथि केही अन्याय नगर्दा पनि म माथि समयले अन्याय गरिरह्यो। मैले टिचिङ पेसाबाट राजीनामा दिए। केही वर्ष नर्वे बसे । काम गरेर पैसा कमाए । अनि थुप्रै विदेशी साथीहरूसँग नेपाललाई वातावरण र बन संरक्षणमा सहयोग गरौँ भनेर हार्दिक आव्हान गरे।आफ्नो अस्मिता कहिले लिलाम गरिन।
खराब कामबाट सधैँ डराए। नेपाल आए। काम सुरु गरे। सबैले पत्याए तर मेरो श्रीमानले कहिले सपोर्ट गर्नु भएन। उहाँको चरित्र बुझे। अनि आफैलाइ सम्झाए। मन बुझाए। तिमीसँग त नचिनेको अभिनय मात्रै गरेको हो मैले जुन दिन तिम्रो जिगोलोको विज्ञापन देखेको थिए जुन दिन तिमीले त्यसमा आफ्नो रियल प्रोफाइल पिक्चर हटाएर रातो भालेको टाउको राख्यौ मैले लभ रियाक्ट गरेकी थिए। फेसबुकमा हतपती कसैलाई पनि लभ रियाक्ट गरिन्न जो आफ्नो हो जो मन पर्छ उसको स्ट्याटस र फोटोमा मात्र गरिन्छ ।
चोर्नु, कसैलाई छल्नु ,कसैलाई धोकामा राख्नु भन्दा त कमसेकम तिमी एकल थियौ यो पेसा अपनायौ। कर्म गरेर खायौ त्यो राम्रो हो। यो पनि मानव सेवा हो। तिम्रो पेसालाई म सम्मान गर्छु कृष्ण । कचौरा थाप्ने सबल नेता भन्दा मनोरञ्जन दिएर धन आर्जन गर्ने तिमी गरिब नै भए पनि तिम्लाइ मेरो सलाम……….
म्यामको आखाभरी आँसु थियो पुछ्न पनि सकिन। निर्बाध अश्रु धारा बगिरहेको म्यामको आँखालाई छोडेर म निस्किए।
साँचो लिएर मेरो लागि बुक गरेको रुमतिर लागे। साझको चिसो बढी सकेको थियो । खच्चडहरू अझैसम्म लालटिन बालेर उकालो हिँड्दै गरेको, खलबल गरेको ध्वनि आइरहेको थियो। खोइ कस्तो कस्तो एकतमासको रुन्झुन रात रोइरहेको जस्तो लाग्यो।
वेटरले रेड लेबल ह्विस्कीको बोतल र लोकल चिकेनको कबाफ लिएर ढोका खोल्यो। मैले नुवाइसकेको थिए। जता गए पनि प्रायः सबैले मलाई रेड लेबलले स्वागत गर्छन्।हुन त आजकल नपिउने पो को नै छ र ? पिएपछि अर्कै मजा हुन्छ भन्छन् । यहाँ पनि यस्तै त भयो। तर म एक्लै कसरी पिऊ ?।म्यामसँग उहाँको कुरा सुन्दै पिउँदाको मजा अर्कै हुन्थ्यो….. कल्पनामा हराए। खाना ल्याइसकेको थियो। दुई पेग हुस्किले रम रम लाग्यो।
मोबाइलमा मेसेज आयो-टुङ ……
” कृष्ण खाना खायौ?”
मैले पनि प्रतिउत्तर लेखे ” खाको छैन म्याम, मैले हजुरलाई कति मिस गरिराछु”
एक्छिनसम्म मेसेजको रिप्लाई आएन।
कुरिरहे। खाना चिसो भैसकेको थियो। रातिको ९ बजेसम्म त्यही रुममा बस्नु भन्नू भएको थियो। अब ९ बज्नलाई ५ मिनेट मात्रै बाकी थियो। आखिर म्यामको आफ्नै होटेल त थियो नि यो। उहाँले आफ्ना कर्मचारीको किन डर मान्नुपर्थ्यो र ? चिकेन लेग एक पिस खाए। मोबाइलमा म्यासेजको घण्टी बज्यो टुङ….
” ढोकामा साँचो लगाएर चुपचापले मेरो रुममा आऊ”
मेसेज देख्नासाथ मन फुरुङ्ग भो।
ह्विस्कीले छोड्यो एकाएक।बिस्तारै साँचो मारे। जुत्ता लगाउँदा आवाज आउँछ भनेर खाली खुट्टाले म्यामको रुमको ढोका धकेले। भित्रबाट चुकुल हालिएको थियो। बाहिर लबीमा कोही आउलान् कि भन्ने डर लाग्यो। ढोका ढक ढक गर्न पनि भएन। डर लाग्यो। मेरो लागि नभए पनि म्यामको इज्जतको लागि मैले होसियार हुनु जरुरी थियो। बाहिर लबी छेउमा उभिएर मेसेज लेखे
” म्याम म आए ढोका खोल्नु” भो। ढोका बिस्तारै उग्रीयो ।
म्याम नाइट गाउनमा हुनुहुदोरहेछ पारदर्शी पश्चिमी भेषमा । अब म म्यामको रुम भित्र भए । म्याम आफैले चुकुल हाल्नु भो र बिस्तारै सुस्त गतिले ओछ्यानमा बस्नु भो। ठुलो थियो पलङ। यो म्यामको आफ्नो प्राइभेट रुम थियो। म्याम नहुँदा यो रुम बन्द हुदोरहेछ । म्यामको आँखा पुरै लठ्ठिएका थिए। ब्लु लेबलको बोतल देखे टेबुलमा । फ्रिजबाट आइसका केही टुक्राहरू निकाल्नु भो र दुइटा ग्लासमा राख्दै भन्नू भो- “कृष्ण म हाम्रो लागि पेग तयार गर्छु है”?
म यतिकै उभिरहेको थिए। म्यामले समातेर बेडमा राख्नु भो। युरोपेली अत्तरको वासना र ब्लु लेबलको सुगन्धले कोठामा एक प्रकारको रौनकता थपिरहेको थियो।
होटेल चकमन्न भो। म्यामसँगको यो सन्निकटताले गाह्रो पारिरहेको थियो। मलाई शिक्षा दान दिने मेरी गुरुआमा यिनी । कतिपय सम्बन्धहरूको बाटो यति दुर्लङ्घ्य हुन्छ कि जस्लाइ नाघेर जान मन मस्तिष्क र शरीर आफैले पाप बोध गर्छ र असमर्थ हुन्छ मान्छे ।
म्यामले अघि नै दुई तीन प्याक पिइसक्नु भएको रहेछ । म्याम छुन खोज्नु हुन्छ म अलिक पर सर्छु। उहाँ माद र मदहोसका कुरा गर्नुहुन्छ । म उहाँको अतीतका अर्ति उपदेशका कुराहरू गर्छु। म्याम वैशाखको कुरा गर्नुहुन्छ, म शिशिरको कुरा गर्छु। म्याम वात्सायनका कुरा गर्नुहुन्छ म शिवपुरी बाबाको गर्छु। म छुन सक्तिन म्यामलाई। यो पाप हो। म कसरी छोऊ? एक तुलसी बोटलाई ?। म कसरी भोगूँ सम्मानको भगवतीलाई ? मनमा एक प्रकारको त्रास बढ्न थाल्यो।
मलाई आफ्नै मनले रोक्यो। मलाई मेरै आँखाले हुन्न भन्यो । मलाई मेरै मुटुले नाइँ भनिसक्यो। म्याम मात्तेको कुरा गर्नुहुन्छ । म्याम नसामा छाडा बोल्नुहुन्छ।म सम्हाल्न खोज्छु। म्यामले आँखा जुधाउनु भो। म्यामले हातले इशारा गर्नु भो। त्यस्ता नखरा, इशारा मैले धेरै भोगेको हो तर यिनी त मेरी म्याम हुन। आमा सरह। मनले मानिरहेको छैन।
” कृष्ण म चिसो छु ! मलाई न्यानो देऊ। म भित्र एउटा तृष्णाको नदी बगिरहेको छ। आय पिऊ मलाई जति पिउन सक्छौ मलाई पोखिन मन लागेको छ मेरो कृष्ण “!
म्यामका हातहरू मेरो शरीरमा बिजुली जस्तै दौडिन थाले।मलाई गाह्रो भो। मलाई असहज भो। मेरो अगाडि कुनै भगवती साक्ष्यत प्रकट भएर आफ्नै रक्तबीज हलाहल पिउन ललकारी गरिरहेछिन जस्तो लाग्न थाल्यो। म्याम मद होस छिन। उनी ममा पोखिन चाहिन्छिन्।
मेरो सामुन्ने आफैलाइ छताछुल्ल बनाएर समर्पण गरेकी मेरी आदरणीय गुरु आमाको लाज छोपिदिए। असरल्ल भैदिइन उनी। मलाई अप्ठ्यारो भो। लाज लाग्यो। म काँप्न थाले। म लुलो भए । म कमजोर नाजुक भए । म शिथिल सैलुङ भए । म पानी झैँ कोमल भए । आफैलाइ सम्हाल्न गाह्रो भो मलाई । अनि म्यामलाई पलङमा सुताएर बाथरुममा गएर भक्कानिएर रोए केही बेर।
आसुलाइ पानीमा पखाले। बाहिर निस्किए। रातको १२ बजिसकेको थियो। चिसोले शीत झार्न सुरु गरिसकेको थियो। अर्धनग्न अवस्थामा रहेकी म्यामको सिरकले लाज ढाकिदिएर म आफ्नै रुममा गएर सुते।
भुसुक्कै निदाएछु।
भोलिपल्ट बिहान ब्युँझिदा म वस्त्रहीन थिए। म्याम मेरो ओछ्यानमा मसँगै निदाइरहेकी थिइन। घामको नयाँ किरण खटप्वालबाट चियाइरहेको थियो। जिउ काम्यो।चिसो अनुभूति भो।
एक्छिन एकान्त भएर सोचे-
” आखिर पुरुष पनि त बलात्कृत हुदोरहेछ नि है” ?
कोठामा बस्न मन लागेन। चिच्याउँदै दौडँदै कतै भागूँ जस्तो लाग्यो। अपराधी जस्तो लाग्यो आफैलाइ। हीनताबोधको बोझले छातीमा थिचे जस्तो लाग्यो। बाहिर निस्किए।बिहानको वाकिङ गर्दै रारा किनारमा पुगेर रारासँग माफी मागे, रोए बेस्सरी रारासँग…
(कथामा उल्लेखित घटना र पात्र काल्पनिक हुन । कसैको जीवनसँग मेल खाएमा त्यो संयोग मात्रै हुनेछ )