

क्यालिफोर्निया । हालैका महिनाहरूमा, अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्ने नीतिमा धेरै कडाइ गर्दै आएको छ। यसले भारतीय तथा नेपाली नागरिकहरूलाई अझै प्रत्यक्ष असर पारेको छ। पछिल्ला घटनाक्रमहरूका अनुसार, धेरै अवैध आप्रवासीहरूलाई अमेरिकाले निष्कासन गरिरहेको अवस्था छ, भने केही आप्रवासीहरू अहिले अस्थायी रूपमा हिरासतमा रहेका छन्।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिइ) को तथ्यांकअनुसार, हाल निष्कासनको सूचीमा एक हजार तीन सय ६५ जना नेपालीहरू रहेका छन्। पछिल्लो ५६ दिनमा मात्र ४३ जना नेपालीहरूलाई अमेरिकाबाट फिर्ता पठाइएको छ।
गत साता थप तीन जना नेपाली नागरिकहरू निष्कासनमा परेका छन्। जसमा गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्री रहेका छन्। यसका अतिरिक्त अमेरिकाले अस्थायी संरक्षित स्थिति (टिपिएस्) अन्तर्गत रहेका नेपालीहरूको पुनः दर्ता अवधि २४ जुन २०२५ सम्म बढाएको छ। टिपिएस् अन्तर्गत रहेका नेपालीहरूले यो मितिभन्दा अघि पुनः दर्ता गर्नुपर्नेछ।
यसै गरी अमेरिकी सरकारले ४८७ अवैध भारतीय आप्रवासीहरूको पुनः पहिचान गरिसकेको छ, जसलाई फिर्ता पठाउने प्रक्रिया फेरि अघि बढाइएको छ। जनवरीदेखि हालसम्म तीन सय ८८ भारतीय नागरिकहरू अमेरिकाबाट भारत फिर्ता भइसकेका छन्, जसमा तीन सय ३३ जना अमृतसरमा विशेष उडानमार्फत पुगेका थिए।
फेब्रुअरी ५ मा अमेरिकी सेनाको सी-१७ विमानमार्फत १०४ भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको थियो। तर, उनीहरूको हात र खुट्टामा हतकडी लगाइएको थियो । जसले गर्दा मानवअधिकार बारे चिन्ता उत्पन्न गराएको छ। अमेरिकाले अवैध आप्रवासीहरूलाई तेस्रो देश विशेष गरी पानामा पठाउने नीति पनि लागू गरेको छ। हाल पानामाको एक होटेलमा करिब तीन सय आप्रवासीहरू हिरासतमा छन् । जसमा नेपाली र भारतीय नागरिकहरू पनि परेका छन्। यी आप्रवासीहरूको सुरक्षाका लागि स्थानीय सरकार र कूटनीतिक निकायहरूले पहल गरिरहेका छन्।
अमेरिकी सरकारले आप्रवासन नीतिलाई कडा बनाएसँगै अवैध रूपमा बस्ने नेपाली तथा भारतीय नागरिकहरू समस्यामा परेका छन्। अस्थायी संरक्षित स्थिति (टिपिएस्) भएका नेपालीहरूले पुनः दर्ता गर्नुपर्नेछ भने, गैर कानुनी रूपमा रहेका नेपालीहरूमाथि निष्कासनको खतरा बढ्दो छ।
हालै भुटानबाट आप्रवासनमा आएका ६ जना भुटानीहरूलाई पनि देश निकाला गर्ने तयारीमा छ। ग्रीनकार्ड लिएर अमेरिका बस्नु भनेको स्थायी आप्रवासनको अनुमति होइन रहेछ भन्ने कुरा अहिले अमेरिकाले दुनियाँलाई भन्दै छ। हेर्दा यस्तो लाग्छ कि ट्रम्पको कार्यकालमा अमेरिकाले अभुतपुर्वक प्रगति गर्दै छ । उ आफ्नो देशमा कानुन नमान्ने, अपराध कर्म गर्ने, ठगी धन्दा गर्ने, लुटपाट मच्चाउने र हिंसाजन्य काम गर्नेलाई बस्ने अनुमति खारेज गरेर देश निकाला गर्दै छ।
अबको ४ वर्षमा अमेरिका भन्ने देश खराब मान्छेबाट मुक्त हुनेवाला छ । शायद हाम्रो रामायणको मिथक जस्तै रामराज्यको परिकल्पना ट्रम्पले सोचिरहेका छन्। हाम्रो देश नेपाल कहिले होला अपराधी र भ्रष्टहरूको साम्राज्यबाट मुक्त ?