

काठमाडौं । नेपाली चलचित्र क्षेत्र व्यवसायीकरणतर्फ लम्किरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
‘विश्वभरका कथाहरूको उत्सव’ नारासहित काठमाडौंमा जारी ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा’ शुक्रवार ‘व्यावासायीकरणतर्फ नेपाली चलचित्र’ शीर्षकको छलफल भएको थियो। जसमा बोल्ने क्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
गोल्छा समूहका अधक्ष्य शेखर गोल्छाले आफू व्यवसाय गरेर नाफा कमाइरहेको व्यक्ति भएपनि पछिल्लो समय नेपाली फिल्म क्षेत्र व्यवसायिक बन्दै गइरहेको देखेपछि फिल्ममा लगानी गरेको बताए।
‘लगानीको मूल उदेश्य नाफा हुनुपर्छ, अनि मात्र यसलाई दीगो बनाउन सकिन्छ, अब नेपाली फिल्मलाई व्यावसायिकीकरण गर्ने समय आएको छ,’ उनले भने।
कर्पोरेट क्षेत्र फिल्ममा आउँदा लगानी बढ्ने, कलाकार तथा प्राविधिकको पारिश्रमिक बनाउन सकिन्छ, नयाँ प्रविधि भित्रिनेलगायतका कारणले आफूहरू फिल्म क्षेत्रमा आएको उनको भनाई छ।
त्यस्तै, क्युएफेक्स सिनेमाजका निर्देशक नकिम उद्दिन विगतलाई सम्झिदै राजधानीमा अंग्रेजी फिल्म हेर्न नपाएको कारण क्युएफेक्स सिनेमाजको अवधारणा अघि सारेको सम्झिए। त्यसरी आएको यस क्षेत्रलाई निरन्तर व्यावासायिकीकारण तर्फ लैजान थालेको उनले बताए।
‘कागबेनी’ फिल्मको विगत सम्झिदै उनले भने, ‘त्यो फिल्म बनाइसकेपछि हामीले १४ वटा मात्र हलहरू पायौं, जबकी त्यो नै नेपालको पहिलो डिजिटल फिल्म थियो। तर, त्यो कर्मसियल बन्न सकेन। त्यसपछि ‘सानो संसार’ भन्ने फिल्म बनायौं।’
‘कागबेनी’ ७५ लाख र ‘सानो संसार’ एक करोड २५ लाखको लगानीमा बनाएको भएपनि व्यवसायिक रूपमा सफल नभएको उनले सुनाए। तर, त्यसले गर्दा आफूहरूले नयाँ बाटो खोलिदिएको र डिजिटल बन्दै गएको उनले सम्झिए।
नविल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी निदेशक मनोज ज्ञवालीले सिंगो चलचित्र क्षेत्र उद्योगको रूपमा नभई, मनोरन्जनको रूपमा मात्र प्रयोग हुँदै आएकाले बैंकहरू लगानी गर्न हच्कीरहेको बताए। पर्यटनलाई प्रवर्द्वन गर्नको लागि पनि फिल्म क्षेत्रलाई अघि बढाउनुपर्ने उनको तर्क छ।
उक्त सेसनमा उपस्थित भएका एक व्यक्तिको प्रश्नको जवाफ दिंदै उनले भने, ‘बैंकले फिर्ता हुने ग्यारेन्टी भएपछी मात्र लगानी भएकाले फिल्म बनाउन भनेपछि सर्वसाधारणलालाई यसले लोन दिनसक्ने परिस्थिति छैन, किनभने अहिलेसम्म पनि फिल्म क्षेत्रलाई उद्योगको रूपमा मानिएको छैन।’
उनले थपे, ‘राज्यले होस् वा बैंकले होस्, फिल्म क्षेत्रलाई लगानी गर्न सकेको छैन, यो तीतो सत्य हो।’
कार्यक्रमलाई बाइस्कोप सिनेमाका प्रवन्ध निर्देशक रन्जीत आचार्यले सहजीकरण गरेका थिए।