आज विश्व पानी दिवस, संसारभर पिउनयोग्य पानी कति ?-Sutra News

आज विश्व पानी दिवस, संसारभर पिउनयोग्य पानी कति ?

शनिबार, ९ चैत्र २०८१

शनिबार, ९ चैत्र २०८१

काठमाडौं । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश, यहाँ प्रशस्त हिमशिखरहरू छन् । यहाँका अधिकांश नदिहरु हिमालबाट नै बग्ने गर्दछन् । जलस्रोतमा धनी मुलुक भए पनि नेपालमा उचित व्यवस्थापनको अभावका कारण नागरिकले उचित मात्रामा पानी पाउन भने सकिरहेका छैनन् ।



जनसमुदायमा पानीको समस्या निकै बढ्दो छ । अहिले पानीको समस्या बढ्दै जानुको कारण वनजङगल फडानी मात्र नभएर जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठुलो चुनौती थपिरहेको हामी महसुस गर्न सक्छौ । संसारभर १३ खर्ब ८६ अर्ब वर्ग किलोमिटर क्षेत्रमा पानी रहेको छ ।

पहिले भेटिने सिमसारहरू अब भेटिन छाडेसँगै आकाशबाट पर्ने पानी सञ्चय गर्ने खाली जमिनको पनि अभाव छ । समयमा नपरेका आकाशे पानी बायुसँगै फोहोर र दूषित भएर जमिनमा झर्छन् तर त्यही वर्षातको पानी पनि खेर गइरहेको छ । अहिले यस्ता पानीको समस्य हाम्रो नेपालमा मात्र नभई विश्व भरिनै देखिएको छ । कारण औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धि, परम्परागत मूल सुक्दै सुक्दै जानु र पहिले भेटिने कुवा, सिमसार भूमि मासिँदै जानु हुन् । पानीको मुख्य स्रोत मानिने हिमनदी पछिल्ला वर्षमा सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन् ।

पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घन मिटर पानीको आवश्यकता पर्छ । संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशत मात्र पिउनयोग्य पानी हुन्छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।

नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घन मिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घन मिटर छ । जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरित गृह ग्याँस उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन सकिएको छैन ।

राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ । यही सन्दर्भमा ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदै छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मनाइने गरिन्छ । हुन त यो सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

द्रुतगतिमा बढ्दो सहरी जनसङ्ख्या, कलकारखाना र जलवायु परिवर्तनको अनिश्चितता, सहरी जल प्रणालीमा द्वन्द्व र प्राकृतिक प्रकोपमा अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न पानी दिवस सफल भए पनि प्रभावकारी कार्यान्वयनका लागि भने उपलब्धि हासिल हुन नसकेको गुनासो व्याप्त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट