

काठमाडौं । फिल्म ‘लाज शरणम’ रिलिज भएपछि अभिनेता महेश त्रिपाठीको अभिनयको तारिफ भयो। महेशले फिल्ममा जति भूमिका पाए, त्यसमा गज्जबको काम गरेको भन्दै तारिफ पनि भयो।
हरेक भूमिकामा गहिरिएर अभिनय गर्न सक्ने अभिनेताको रुपमा उनले आफूलाई परिचित गराउन सके। ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’मा निर्वाह गरेका चरित्रबाट निकै प्रशंसा पाएका त्रिपाठीको लागि ‘११ः५५’ पनि विशेष हुने भनिएको थियो।
क्राइम थ्रीलरको कथावस्तुमा कमै फिल्म बन्ने भएकाले पनि आफू तयार रहेको उनले बताएका थिए।
‘यसमा मुख्य र सहायक भूमिका भन्ने नै छैन। सबै कलाकार मुख्य भूमिकामा भएकाले काम गर्न मजा आयो,’ महेश यो फिल्मलाई लिएर उत्साहित थिए।
तर, शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘११ः५५’मा भने महेशको अभिनय औषत छ। फिल्ममा उनको भूमिका छोटो छ। तर, उनले खुलेर काम गर्न सकेका छैनन्।
एउटै घरभित्र सीमित रहेको फिल्मको कथामा उनले आफ्नो अभिनयको छाप छाड्न सकेनन्। निर्देशकले उनलाई खुलाउन सकेनन् वा उनी आफैं खुल्न सकेनन्, त्यो भने उनी आफैं जानुन्।
क्राइम थ्रीलर यो फिल्ममा ७ जना मुख्य कलाकार छन्। जसमध्ये, श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज र विशाल पहारीको वरिपरी यो फिल्म घुमेको छ।