

काठमाडौं । निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ। टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ।
सौगात र सृष्टिबीचको दृश्य पनि टिजरमा समेटिएको छ, जसमा उनीहरु एकअर्कासँग घनिष्ट देखिन्छन्। ब्रेकअपपछि उनीहरुले एकसाथ काम गरेको यो पहिलो फिल्म हो।
टिजरमा चर्चित पत्रकार ऋषि धमलालाई पनि देख्न सकिन्छ। उनी पत्रकारकै भूमिकामा छन्।
निर्देशक श्रेष्ठ स्वयंको लेखन रहेको फिल्ममा सौगात, सृष्टि र ऋषिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, विकास लामा, सपना चौधरी, ध्रुव थापा, सुनिल तामाङ लगायतको अभिनय छ।
टिजरको सुरुवातमा सौगातले ‘गोबिन्दे’ पात्रभन्दा बढी टिकटकमा भाइरल बन्ने इगो राखेको दृश्यबाट सुरु हुन्छ। तर, उनले भाइरल भन्न र ‘भाइरस’ भन्छन्।
उनले भन्छन्, ‘त्यो नाथे गोबिन्देभन्दा ठूलो भाइरस भएर देखाइदिन्छु म।’
टिजरको त्यसपछिका दृश्यमा गोपाल पाँडे अर्थात सौगातले टिकटकमा भाइरल हुन देखाइएको हर्कतहरु समावेश गरिएको छ। टिजरले फिल्मको कथा ग्रामिण परिवेशको रहेको बताउँछ।
जिएमआई फिल्मस् र निर्भाना फिल्म स्कुलको ब्यानरमा विशाल ताम्राकार, केवल जंग कुँवर र महेश लामिछानेले फिल्मको निर्माण गरेका हुन्।
फिल्मको सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल रहेका छन्। यसमा अमर महर्जनको डिओपी तथा सुरज महर्जनको सिनेमेटोग्राफी छ भने रवि चौधरी र भीम विश्वकर्माको संयुक्त सम्पादन तथा अमित श्रेष्ठको साउन्ड डिजाइन रहेको छ।
आगामी जेठ ३० गतेदेखि फिल्म प्रदर्शनमा आउन लागेको छ।